अग्नीपीडित बस्नेतलाई प्रदेश विपद् व्यवस्थापन कोष र नगरपालिकाको रु चार लाख

Halesi Khabar
154 Shares

खोटाङ, ५ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा पेलुङका अग्नी पीडित गणेश बस्नेतलाई राहत जुट्न थालेको छ । घरमा कोही नभएको समयमा बुधबार अपरान्ह ४ बजे एक्कासी लागेको आगोले पूर्णरुपमा घर जलेर विस्थापित हुनुभएका बस्नेतलाई कोशी प्रदेश विपद् व्यवस्थापन कोष र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले संयुक्त रुपमा रु चार लाख दिने निर्णय गरेको छ ।

नगर प्रमुख तीर्थराज भट्टराईले घटनास्थलमै पुगेर उक्त राहत रकम पीडित बस्नेत परिवारलाई चाँडै उपलब्ध गराउने बताउनुभएको छ । अग्नी पीडित बस्नेतलाई वडा कार्यालय निर्मलीडाँडाले रु पाँच हजार, खोटाङ दैविक प्रकोप कोषले रु दश हजार, निर्मलीडाँडा घर भइ जापानमा बसोबास गर्दै आउनुभएका धिरेन्द्र बस्नेतले रु पाँच हजार र सामाजसेवी ध्रुबकला राईले रु पाँच हजार राहत प्रदान गर्नुभएको निर्मलीडाँडाका वडाध्यक्ष दिनेश कठेतले जानकारी दिनुभयो ।

अग्नी पीडित बस्नेत परिवारलाई नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङले पनि बन्दोबस्तीका सामानहरु उपलब्ध गराएका छन् । बन्दोबस्तीका सामानहरु लिएर रेडक्रस सभापति ज्ञानेन्द्र जोशी घटनास्थल पुग्नुभएको थियो ।

आगाले पूर्णरुपमा घर जलेपछि अग्नी पीडित पाँचजनाको बस्नेत परिवार कटेरामा बसिरहेका छन् । आगलागीमा बस्नेतको घरभित्र रहेको अन्नपात, भाडावर्तन, लत्ताकपडा जलि नष्ट हुँदा अन्दाजी रु नौँ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

दिउँसोको समयमा आगलागी भएकाले मानवीय र चौपायामा भने क्षति नभएको स्थानीय बासिन्दाले बताएका छन् । आगोलाई प्रहरी र स्थानीयले साँझ साँढे ५ बजेमात्र पूर्णरुपमा नियन्त्रणमा लिएको थियो ।

आगलागीको उच्च जोखिममा रहेको खोटाङमा आगलागीबाट बच्न तथा आगलागीका घटना न्यूनीकरण गर्न प्रहरीले सचेतना अभियान सञ्चालन गरिरहेको छ । पछिल्लो समय जिल्लामा दैनिकजसो आगलागीका घटना हुन थालेपछि जिल्ला प्रहरी कार्यालय खोटाङले जिल्लाका दशवटै स्थानीय तहमा सचेतना अभियान शुरु गरेको हो ।

तपाईको प्रतिक्रिया