भाडाको घरमा सञ्चालन हुँदै आएको स्वास्थ्यचौकी अब आफ्नै भवनमा

Halesi Khabar
189 Shares

खोटाङ, ६ माघ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित स्वास्थ्यचौकीको भवन ठेकेदारको लापरबाहीले दुई वर्ष ढिलागरी निर्माण सम्पन्न भएको छ । वि.सं. २०७८ फागुनमै बनिसक्नु पर्ने स्वास्थ्यचौकीको भवन निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी गौरी पार्वती न्यू टेक्निकल जेभी, ललितपुरको ढिलासुस्तीका कारण दुई वर्ष ढिलो गरी सम्पन्न भएको हो ।

गौरी पार्वती न्यू टेक्निकल जेभीले वि.सं. २०७८ फागुन–२७ गतेसम्ममा सम्पन्न गर्नेगरी वि.सं. २०७७ मङ्सिर–११ गते सम्झौता गरेको थियो । पटकपटक थप गरेको म्याद गुजारेका गौरी पार्वती न्यू टेक्निकल जेभीले यही माघ–४ गते स्वास्थ्यचौकी भवन निर्माणको काम सम्पन्न गरेको हो ।

दुई वर्ष ढिलागरी बनेको स्वास्थ्यचौकीको भवन शनिबार नगर प्रमुख विमला राईले औपचारिकरुपमा उद्घाटन गर्नुभएको छ । भवन निर्माणका क्रममा लगाइएको पर्खालको गुणस्तरमाथि स्थानीय बासिन्दाले प्रश्नसमेत उठाएका थिए ।

स्वास्थ्यचौकीको नयाँ भवन बनेसँगै आइतबारदेखि आफ्नै भवनबाट सेवा प्रवाहको तयारी गरिएको बाहुनीडाँडाका वडाध्यक्ष रुद्रकुमार राईले बताउनुभएको छ । “आफ्नै भवन अभावमा स्वास्थ्यचौकीलाई हाल स्थानीय झोक्रे राईको घरको दुई वटा कोठा भाडामा लिएर सञ्चालनको व्यवस्था मिलाइएको छ । स्वास्थ्यचौकीको भाडाको कोठा साँघुरो छ”, उहाँले भन्नुभयो, “कोठामा बल्लतल्ल दुईवटा मात्र कुर्सी अटाइएका छन् । एकैपटक धेरै बिरामी उपचारमा आए उभ्याएर राख्नुपर्ने बाध्यता छ । यी सम्पूर्ण समस्यालाई मध्यनजर गर्दै आइतबारदेखि आफ्नै भवनबाट सेवा प्रवाहको तयारी गरिएको हो ।”

भाडाको घरमा राख्नुअघि तत्कालीन गाविसको जीर्ण भवनको साँघुरो कोठाबाट स्वास्थ्यचौकीको सेवा प्रवाह हुँदै आएको थियो । गाविसको भवनलाई भत्काएर वडा कार्यालयको भवन निर्माणको काम शुरु गरिएपछि स्वास्थ्यचौकीलाई वि.सं. २०७९ माघदेखि मासिक रु पाँच हजार भाडा दिएर व्यक्तिको घरमा सारिएको थियो ।

बर्थिङ सेन्टर (प्रसुति गृह)लाई वि.सं. २०७५ सालदेखि मासिक रु चार हजारमा स्थानीय उषा राईको घरमा राखिएको छ । साउदी सरकारको फण्डमा राष्ट्रिय पुनः निर्माण प्राधिकरणमार्फत एउटै ठेक्कामा खोटाङको राखाबाङ्देल, बाहुनीडाँडा, दोर्पाचिउरीडाँडा, मङ्गलटार र बतासे स्वास्थ्यचौकीको भवन निर्माणको काम शुरु गरिएको थियो ।

गौरी पार्वती न्यू टेक्निकल जेभीले भ्याट बाहेक रु सात करोड ४० लाख ८४ हजार २९६ लगानीमा पाँच स्वास्थ्यचौकीको भवन निर्माणको ठेक्का लिएको थियो । हालसम्म पाँचवटै भवनको कामले पूर्णता पाउन नसकेको सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

निर्माणाधीन अवस्थाबाटै ठेकेदारले ढिलासुस्ती गरेका जिल्लाका अन्य चार स्वास्थ्यचौकीका भवनहरु कहिले सम्पन्न हुन्छ अहिलेसम्म टुङ्गो छैन । भाडाको घरबाट सेवा प्रवाह हुँदै आएको स्वास्थ्यचौकीहरुको निर्माणाधीन भवनहरुमा भइरहेको लापरबाहीको विषयमा सम्बन्धित निकायले खासै चासो दिएका छैनन् ।

ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलस्थित स्वास्थ्यचौकी भवन कारण निर्माणको काम ठेकेदारको लापरबाहीले अलपत्र परेको छ । दुई वर्षअघि नै बनिसक्नुपर्ने स्वास्थ्यचौकी भवन निर्माणको काम गौरी पार्वती न्यू टेक्निकल जेभी, ललितपुरको चरम ढिलासुस्ती तथा लापरबाहीका कारण अलपत्र परेको हो ।

राखाबाङ्देलमा गत मङ्सिर–२० गते आयोजित शहीद अनिता गुरुङको शालिक अनावरण कार्यक्रममा उपस्थित प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ समक्ष माओवादी केन्द्र वडा समितिले अलपत्र स्वास्थ्यचौकी भवनलाई चाँडो सम्पन्न गराउन पहलकदमी गर्न स्थानीय बासिन्दाले लिखितरुपमा हारगुहारसमेत गरेका थिए । स्थानीय बासिन्दाले बुझाएको लिखितपत्र बुझ्नुहुँदै कोशी प्रदेशका पूर्वमन्त्रीसमेत रहनुभएका प्रतिनिधिसभा सदस्य पासाङले ठेक्का ताडेर भए पनि स्वास्थ्य चौकी भवन निर्माणको कामलाई पूर्णता दिन सघन शहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय ओखलढुङ्गालाई टेलिफोनमार्फ निर्देशन दिनुभएको छ ।

सामान्यतः बालुवा, सिमेन्ट र इँटाले बनेको पर्खाल बलियो मानिन्छ । पक्की पर्खाल तोड्न ह्याम्मर प्रयोग गर्नुपर्ने हुन्छ तर, स्वास्थ्यचौकी राखाबाङ्देलको भवनको पक्की पर्खाल हातले ठेल्दा भत्किने गरेको र क्यूरिङ नगरेका कारण भवनको पर्खाल ठेल्दै भत्किने बनेको स्थानीय बासिन्दाले बताएका छन् ।

तपाईको प्रतिक्रिया