दिक्तेल बजारका महत्वपूर्ण आठ स्थानमा निःशुल्क वाईफाई सेवा

Halesi Khabar
910 Shares

खोटाङ, ८ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको वडा कार्यालयले दिक्तेल बजारका विभिन्न आठ स्थामा निःशुल्क वाईफाई सेवा सञ्चालनमा ल्याएको छ । रत्नपार्कको सपिङ कम्प्लेक्स, साप्ताहिक हाटबजार लाग्ने हाँटडाँडा, जिल्ला प्रशासन कार्यालयको नागरिकता फाँटको बाहिर, जिल्ला अस्पतालको टिकट काउण्टरमा, सरस्वती मावि, पञ्च मावि, सरस्वती आधारभूत विद्यालय पोखरी र युवावर्षा प्राविमा निःशुल्क वाईफाई सेवा सञ्चालनमा ल्याएको हो ।

धेरै मानिसहरु जम्मा भएर सेवा लिने स्थानहरुमा कहिलेकाँही आकस्मिक रुपमा नपुगेका तथा छुटेका कागजातहरु आदानप्रदान गर्न र इन्टरनेटको सहायताबाट गर्नुपर्ने सम्पूर्ण काममा सहज होस भनेर निःशुल्क वाईफाई सेवा सञ्चालनमा ल्याइएको भईरहेको दिक्तेलका वडाध्यक्ष नवराज राईले बताउनुभयो । “विद्यालयमा जडान गरिएको सीसी क्यामेरालाई मोबाइल फोनमा कनेक्ट गर्न विद्यालयमा पनि वाईफाई जडान गरिएको छ । यी सबै स्थानका वाईफाई नेपाल टेलिकमको ५० एमबीपीएसको क्षमताको छ”, उहाँले भन्नुभयो, “वडाको रु दुई लाख बजेटमा आवश्यक सामग्री खरिद गरेर जडान खर्च र एक वर्ष रिचार्जसहित निःशुल्क वाईफाई सेवा सञ्चालन गरिएको छ । यसले सेवाग्राहीलाई थोरै भएपनि सहज हुने अपेक्षा गरेका छौँ ।”

जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेल बजारमा अहिलेसम्म कुनै पनि सङ्घ÷संस्थाले निःशुल्क वाईफाई सेवा उपलब्ध गराएका छैनन् । सरकारी कामकाजका लागि आवश्यक कागजात पाउन तथा पठाउन जिल्लामा सञ्चालित साईबरमा शुल्क तिर्नुपर्ने अवस्था रहेको छ ।

मोबाइल फोनको डाटाले समेत प्रभावकारीरुपमा काम नगर्ने दिक्तेल बजारमा वडा कार्यालयको लगानीमा निःशुल्क वाईफाई सेवा उपलब्ध भएपछि सेवाग्राही हर्षित भएका छन् । दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय अधिकांश सरकारी तथा गैरसकारी कार्यालयको काम इन्टरनेटमार्फत हुने गरेको छ ।

 

 

तपाईको प्रतिक्रिया