खोटाङ, ८ माघ । ऐसेलुखर्क गाउँपालिकाले आयोजना गरेको कृषि मेला प्रदर्शनीमा ८७ जना कृषक सम्मानित भएका छन् । जि–फाउन्डेशनको आर्थिक सहयोग तथा प्रयास नेपालको समन्वयमा गाउँपालिकाले आयोजना गरेको दुई दिने कृषि मेला प्रदर्शनी कार्यक्रम समापनको अवसरमा सोमबार विभिन्न २७ विद्यामा उत्कृष्ट भएका ८७ जना कृषकलाई सम्मान गरिएको हो ।
सम्मानित हुने कृषकलाई गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राई, उपप्रमुख राजेशकुमार राजभण्डारी, प्रमुख प्रशासकीय अधिकृत रेखबहादुर थापा र प्रयास नेपालका अध्यक्ष गुप्तीलक्ष्मी राईले संयुक्तरुपमा प्रमाणपत्रसहित कृषि औजार तथा कृषि सामग्रीहरु प्रदान गर्नुभएको छ । कृषि मेला प्रदर्शनी कार्यक्रममा विभिन्न चार विद्यामा प्रथम स्थान हासिल गर्नुहुने वडा नं. ७ माक्पाकी सर्वोत्कृष्ट महिला कृषक डिल्लीमायाँ राईलाई नगद रु तीन हजारसहित पुरस्कार प्रदान गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख प्रमोद राजभण्डारीले जानकारी दिनुभएको छ ।
कृषि मेला प्रदर्शनी कार्यक्रममा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुने कृषकलाई क्रमशः रु तीन हजार, रु दुई हजार ५००, रु दुई हजार र रु ८०० मूल्य बराबरको कृषि सामग्री प्रदान गरिएको जनाइएको छ । उत्कृष्ट कृषकलाई कोदालो, झम्पल, ड्रम, पाइप, सिकेचर, स्प्रिङकल, क्यारेट लगायतका कृषि सामग्री प्रदान गरिएको हो ।
‘ऐसेलुखर्कको समृद्धिको आधार, दिगो प्राङ्गारिक खेती हाम्रो पूर्वाधार’ भन्ने मूल नाराका साथ आयोजित कृषि मेला प्रदर्शनी कार्यक्रममा १४१ जना कृषकले विभिन्न विद्याका स्टल राखेका थिए । ऐसेलुखर्क बजारमा आयोजित मेलामा नगदेबाली, फलफूल तथा तरकारीबाली प्रदर्शनीमा राखिएको थियो ।
कृषि क्षेत्रको विकास तथा प्रवद्र्धनलाई पहिलो प्राथमिकतामा राखेको उक्त गाउँपालिकाले हरेक वर्ष कृषि मेला प्रदर्शनी कार्यक्रम गर्दै आएको छ । हरेक वर्ष आयोजना गरिने कृषि मेला प्रदर्शनी कार्यक्रमले कृषकलाई हौसला प्रदान गरेको गाउँपालिका प्रमुख राईले जानकारी दिनुभएको छ ।