राष्ट्रिय वाणिज्य बैङ्क शाखा दिक्तेलका सहायक प्रबन्धक सैँजू बने उत्कृष्ट कर्मचारी

Halesi Khabar
693 Shares

खोटाङ, १० माघ । राष्ट्रिय वाणिज्य बैङ्क शाखा कार्यालय दिक्तेलका सहायक प्रबन्धक अमृतकुमार सैँजू उत्कृष्ट कर्मचारी घोषित हुनुभएको छ । बाणिज्य बैङ्कको शाखा कार्यालयमा सहायक प्रबन्धक सैँजूलाई राष्ट्रिय वाणिज्य बैङ्कको ५९ औँ वार्षिकोत्सवको अवसरमा उत्कृष्ट बैङ्क सेवा पुरस्कार प्रदान गर्ने घोषणा गरिएको हो ।

कोशी प्रदेशभित्रका ५९ शाखामा कार्यरत पाँच उत्कृष्ट कर्मचारीमध्येमा खोटाङबाट सहायक प्रबन्धक सैँजू पनि पर्न सफल हुनुभएको शाखा प्रबन्धक रामकुमार आचार्यले जानकारी दिनुभयो । उत्कृष्ट बैङ्क सेवा पुरस्कारबापत सैँजूले नगद रु २० हजारका साथमा प्रमाणपत्र पाउने राष्ट्रिय वाणिज्य बैङ्क शाखा कार्यालय खोटाङले जनाएको छ ।

कर्मचारी नम्बर १०७४५ भएका सहायक प्रबन्धक सैँजू वि.सं. २०४७ सालमा  वाणिज्य बैङ्कको सेवामा प्रवेश गर्नुभएको थियो । उत्कृष्ट कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैङ्कले केही समयपछि औपचारिक कार्यक्रम गरेर पुरस्कार प्रदान गर्ने जनाइएको छ ।

राष्ट्रिय वाणिज्य बैङ्कले बुधबार मूलुकभर विभिन्न कार्यक्रम गर्दै ५९ औँ वार्षिकोत्सव मनाएको छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा वि.सं २०२२ माघ–१० गते स्थापना भएको बैङ्कले व्यावसायिक कुसलतासहित निजी क्षेत्रका बैङ्कसँग प्रतिस्पर्धा गरिरहेको छ ।

गत असार मसान्तसम्ममा बैङ्कको अधिकृत शेयर पुँजी रु ३० अर्ब, जारी र चुक्ता शेयर पुँजी रु १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार ५५ रहेको जनाइएको छ । बैङ्कको विद्यमान पुँजी संरचनाअनुसार सरकारको ९९ दशमलव ९७ प्रतिशत र सर्वसाधारणको शून्य दशमलव ०३ प्रतिशत शेयर रहेको छ ।

यसैबीच, अर्थमन्त्री डा.प्रकाशशरण महतले अब राष्ट्रिय वाणिज्य बैङ्कले धितोबेस कर्जाभन्दा योजनामा आधारित कर्जालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ । बुधबार काठमाडौँमा आयोजित राष्ट्रिय वाणिज्य बैङ्कको ५९ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

तपाईको प्रतिक्रिया