खोटाङ, १० माघ । राष्ट्रिय वाणिज्य बैङ्कको ५९ औँ वार्षिकोत्सवको अवसरमा खोटाङका उत्कृष्ट बचतकर्ता तथा कर्जा ग्राहक सम्मानित भएका छन् । राष्ट्रिय वाणिज्य बैङ्क ५८ वर्ष पुरा गरी ५९ औँ वर्ष प्रवेश गरेको अवसरमा बुधबार वाणिज्य बैङ्कले उत्कृष्ट बचतकर्ता सनमान खड्का, पार्वतीमायाँ थापा, मेनुका राई र सङ्घ÷संस्थातर्फ सरस्वती मावि दिक्तेललाई सम्मान गरेको हो ।
यस्तै, कर्जा ग्राहकतर्फ रसिक एण्ड रोहन सप्लायर्सका प्रोपाइटर नवराज जोशी र उत्सव शैंजूलाई सम्मान गरिएको वाणिज्य बैङ्क शाखा कार्यालय दिक्तेलका प्रबन्धक रामकुमार आचार्यले जानकारी दिनुभयो । वाणिज्य बैङ्कको बैङ्किङ सेवा सुविधालाई विश्वास गरी निरन्तर कारोबार गरिरहेको भन्दै वार्षिकोत्सवको अवसरमा उत्कृष्ट बचतकर्ता तथा कर्जा ग्राहकलाई सम्मान गरेको हो ।
उत्कृष्ट बचतकर्ता तथा कर्जा ग्राहकलाई प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाह लगायतले खादा ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । वाणिज्य बैङ्कले दिक्तेलस्थित सल्लेरीटोलमा सञ्चालित कार्यालय भवनमा वार्षिकोत्सव मनाएको हो ।