हलेसी तुवाचुङमा ३७.९२ टन बदाम उत्पादन, ब्रान्डिङ गर्ने नगरपालिकाको तयारी

Halesi Khabar
91 Shares

खोटाङ, ११ माघ । हलेसी तुवाचुङ नगरपालिकामा यस आर्थिक वर्ष २०८०÷०८१ मा ३७.९२ टन बदाम उत्पादन भएको पाइएको छ । नगरपालिकाका कृषि शाखा संयोजक राजु साहका अनुसार एक टनमा अन्दाजी ३३ मुरी हुन्छ । एक मुरीमा २० पाथी हुन्छ । ३३ मुरीलाई २० ले गुणा गर्दा एक टनमा ६६० पाथी हुन्छ । ३७.९२ टनलाई पाथीमा रुपान्तरण गरेर हिसाब २५ हजार २७ पाथी दुई माना हुन्छ ।

एघार वडा रहेको हलेसी तुवाचुङ नगरपालिकाको ४८.८५ हेक्टर खेतीयोग्य जमिनमा कृषकले बदाम खेती गर्ने गरेको कृषि शाखाले जनाएको छ । हलेसी क्षेत्रमा उत्पादित अधिकांश बदाम पाथीमा बिक्री प्रचलन रहेको र एक पाथीको रु ३०० देखि रु ३५० सम्ममा बिक्री हुने गरेको कृषि शाखा संयोजक साहले जानकारी दिनुभएको छ ।

“हाम्रो नगरपालिकामा यो आर्थिक वर्ष ३७.९२ टन बदाम उत्पादन भएको छ । उत्पादित बदाममध्ये २३.०७ टन बिक्री भइसकेको छ । बाँकी १४.८५ टन बदाम किसानले बीउका लागि, अफ सिजनमा बिक्रीका लागि र आफ्नै घरायसी प्रयोजनका लागि राखेका छन्”, शाखा प्रमुख साहले भन्नुभयो, “पाथीको रु ३०० हिसाब राख्दा पनि रु ७५ लाख आठ हजार १६० आम्दानी भएको प्रारम्भिक अनुमान गरिएको छ । यो प्रारम्भिक नतिजा हो । विस्तृत विवरण आउन बाँकी छ । प्रारम्भिक नतिजालाई हेर्दा पनि हलेसी क्षेत्रका कृषकले बदाम खेतीबाट राम्रो आम्दानी गरेको देखिएको छ ।”

गत वर्षको तुलनामा यस वर्ष बदाम उत्पादनमा गिरावट आएको वडा नं. ५ दुर्छिमका स्थानीय बासिन्दा एवम् नेकपा (माओवादी केन्द्र)का युवा नेता तामन राईले बताउनुभयो । “हामीले तीन रोपनी जग्गामा यस वर्ष बदाम खेती गरेका थियौँ । हावापानी नमिलेकाकारण पाँच मुरीमात्रै उत्पादन भयो । बिक्रीका लागि भण्डारण गरेर राखेका छौँ”, हलेसी विकास समितिका पूर्वकार्यकारी निर्देशकसमेत रहनुभएका उहाँले भन्नुभयो, “वर्षेणी फरक–फरक ठाउँमा रोपियो भने राम्रो उत्पादन दिन्छ । हलेसी क्षेत्रमा उत्पादित बदाम धेरैको रोजाइमा पर्छ । ठेकेदारहरु घरैमा आएर खरिद गरेर लैजान्छन् ।”

हलेसी क्षेत्रका कृषकले उत्पादन गरेका अधिकांश बदाम स्थानीय तथा बाहिरबाट आएका ठेकेदारले खरिद गरेर जिल्लाकै हलेसी बजार, दिक्तेल, रभुँवामा लाग्ने माघे सङ्क्रान्ति मेला, बराहपोखरी मेला, ओखलढुङ्गा लगायतका बजारमा बिक्री गर्न लैजाने गरेका छन् । विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसी आसपासका क्षेत्रमा उत्पादित बदाम कोसेलीका रुपमा पनि प्रयोग हुने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

जिल्लाका दश स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिकामा मात्र लामो समयअघिदेखि बदाम खेती हुँदै आएको छ । हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसी आउने भक्तजन तथा दर्शनार्थीले सबैभन्दा बढी कोसेलीको रुपमा बदाम खरिद लैजाने गरेको स्थानीय बासिन्दाहरुले बताएका छन् ।

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने यो नगरपालिकाको वडा नं.–८ धितुङ, वडा नं. ५ दुर्छिम वडा नं. २ डिकुवामा बढी बदाम खेती लगाउने गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान, वडा नं. ११ राजापानी, वडा नं. १ बाहुनीडाँडा, वडा नं. ३ च्यास्मिटार लगायतका ठाउँमा पनि आंशिक मात्रामा बदाम खेती लगाउने गरिएको छ ।

मध्यपहाडी लोकमार्गमा पर्ने यो नगरपालिकाको धितुङमा सबैभन्दा बढी बदाम खेती लगाउने गरिएको छ । धितुङका धेरैजसो घरमा वार्षिक २०÷२२ मुरी बदाम भित्रिने गरेको वडाध्यक्ष टेकराज राईले बताउनुभएको छ । “धितुङको आधा भू–भागमा बदाम खेती हुन्छ । तल्लो क्षेत्रमा पर्ने सबैजसो भू–भागमा बदाम लगाइन्छ । एक घर बराबर २०÷२२ मुरी बदाम उत्पादन हुन्छ”, उहाँले भन्नुभयो, “हाम्रो क्षेत्रमा बाजेकै पालादेखि स्वतः स्फुर्तरुपमा बदाम खेती गरिँदै आइएको छ । घरैबाट ठेकेदारले बदाम ठेगेर लैजान्छ । दाना लाउनेबेला पानी नपर्दा यसपल्ट अलि कम उत्पादन भयो ।”

नगरपालिकाको अधिकांश भू–भागमा उत्पादन हुने बदामलाई आगामी वर्षदेखि ब्रान्डिङ गरेर बिक्री गर्ने योजना बनाइएको नगर प्रमुख विमला राईले बताउनुभएको छ । “बदाम बिक्रीबाट नगरपालिकाका कृषकले अहिले पनि राम्रो आम्दानी गरिरहेका छन् । कृषकले उत्पादन गरेका बदामलाई आगामी दिनमा ब्रान्डिङ गर्ने योजना छ । अहिले व्यवसायीले ठेगेर ट्रकमार्फत अन्यत्र लैजाने गरेका छन्”, उहाँले भन्नुभयो, “हाम्रो नगरपालिकामा बदाम र गहत उत्पादनको प्रचुर सम्भावना छ । हामीले आर्थिक वर्ष २०८०÷८१ मा गहत र बदाम खेती प्रवद्र्धन गर्ने नीति तथा कार्यक्रम ल्याएका थियौँ । यो कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने योजना छ । यसका लागि त्रिधार्मिकस्थल हलेसी बजारमा बिक्री केन्द्र निर्माण गरिरहेका छौँ । बदाम र गहतलाई हाम्रो नगरपालिकाको विशेष उत्पादन बनाएर बाहिरी बजारमा निर्यात गर्ने योजना छ ।”

नगरपालिकाभित्र उत्पादित कृषि उपजलाई प्रवद्र्धन तथा बजारीकरण गर्न हलेसीस्थित ट्राफिकचोकमा चिस्यान केन्द्रसहितको कृषि सङ्कलन केन्द्र निर्माणाधीन अवस्थामा छ । नगरपालिकाको रु ३८ लाख लगानीमा निर्माणाधीन अवस्थामा रहेको कृषि सङ्कलन केन्द्र सञ्चालनमा आएपछि आयातित कृषि उपजलाई नगरपालिकामा निषेध गर्ने तयारी गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रवक्ता एवम् वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो ।

जापानी नागरिक कोतोबुकीनाकाले वि.सं. २०७४ सालमा वडा नं. ५ दुर्छिममा स्थापना गरेको बिपना इनकर्पोरेसन नामको पिनट्स बटर उत्पादक उद्योगमा पनि बदाम खपत हुने गरेको छ । तर, सो पिनट्स बटर उत्पादक उद्योगले लोकल (स्थानीय जात)को बदाम मात्रै खपत गर्ने गरेको स्थानीय कृषकले बताएका छन् ।

सुख्खाग्रस्त क्षेत्रमा पर्ने यो नगरपालिकामात्रै उत्पादन हुने बदाम र गहत खेतीको प्रवद्र्धनमा नगरपालिकाले कार्यक्रम ल्याएपछि त्यहाँका कृषकसमेत उत्साहित भएका छन् । खाद्यान्न तथा अन्य बाली कम उत्पादन हुने यस हलेसी तुवाचुङ नगरपालिकाका कृषकले बदाम र गहतलाई नगदेबालीको रुपमा लिने गरेका छन् ।

तपाईको प्रतिक्रिया