राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महेन्द्रोद्धय मावि ओख्रे प्रथम

Halesi Khabar
735 Shares

खोटाङ, १५ माघ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आयोजना गरेको अन्तरमाध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महेन्द्रोद्धय मावि ओख्रे प्रथम भएको छ । गाउँपालिकाभित्र सञ्चालित १४ वटा माविबीच गराइएको प्रतियोगितामा छ स्वर्ण, छ रजत र दुई कास्य पदकसहित वडा नं. २ ओख्रेडाँडागाउँमा सञ्चालित महेन्द्रोद्धय मावि प्रथम भएको हो ।

प्रतियोगितामा चार स्वर्ण, चार रजत र दुई कास्य पदकसहित शान्ति मावि छोरम्बू दोस्रो भएको छ भने, तीन स्वर्ण, चार रजत र तीन कास्य पदकसहित सरस्वती मावि डाँडाखर्क तेस्रो भएको छ । माघ–१२ गतेबाट शुरु भएको प्रतियोगितामा तीन स्वर्ण, दुई रजत र तीन कास्य पदकसहित शान्ति निकेतन मिनाकर्ण मावि चौथो तथा तीन स्वर्ण, एक रजत र चार कास्य पदकसहित याङसोलमा मावि सापातेल पाँचौँ भएको जनाइएको छ ।

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने विद्यालयले क्रमश ः नगद रु १५, १२ र नौँ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको विद्यालय निरीक्षक रणशेर तामाङले जानकारी दिनुभएको छ । विजयी विद्यालय तथा विद्यार्थीलाई सोमबार साँझ छोरम्बुमा आयोजना गरिएको समापन कार्यक्रममा गाउँपालिका प्रमुख लोकेन्द्र राईले नगदसहित पुरस्कार प्रदान गर्नुभएको छ ।

प्रतियोगिता समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका प्रमुख राईले खेल क्षेत्रको विकासका लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धतासमेत जनाउनुभएको छ । “‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने सरकारको नारा नै छ । खेल क्षेत्रको विकासमा गाउँपालिकाले के गर्नुपर्छ त्यो गर्छौँ”, उहाँले भन्नुभयो, “हामीले हारलाई अवसरको रुपमा लिनुपर्छ । निरन्तर अभ्यास ग¥र्यौँ भने सफल भइन्छ । विद्यार्थी भाइबहिनीहरुले प्रतियोगितामा हार भयो भनेर निरुत्साहित हुने होइन । आगामी दिनमा अझ राम्रो गर्ने प्रयासरत रहनुपर्छ ।”

अन्तरमाविस्तरीय प्रतियोगितामा प्रथम भएका तथा छनोट परेका विद्यार्थीले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने पाउने जनाइएको छ । प्रतियोगितामा जनसेवा मावि दिहुँ र पञ्चकौशिका मावि भण्डारेघाटले कुनै पनि पदक हात नपारेको आयोजकले जनाएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा जिल्लास्तरीय प्रतियोगिता यही माघ–२७, २८ र २९ गते दिक्तेलमा हुने जिल्ला खेलकुद विकास समिति खोटाङका प्रमुख लीलाभक्त केसीले जानकारी दिनुभएको छ । १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत जिल्लास्तरीय छनोट प्रतियोगिताको उपाधि केपिलासगढी गाउँपालिकाले उचालेकोको थियो ।

तपाईको प्रतिक्रिया