खोटाङ, १ फागुन । ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलमा सञ्चालित लघुजलविद्युत आयोजनाको महसुल नतिर्ने ग्राहकको लाइन काट्न गएका कर्मचारीलाई गालीगलौज गर्दै ज्यानधम्की दिएको आरोपमा पूर्ववडाध्यक्षसहित तीनजनाबिरुद्ध प्रहरीमा उजुरी परेको छ । बाकाचोल बहुउद्देश्यीय सहकारी संस्थाको पहलमा लिदिङ खोलाबाट निकालिएको विद्युतको महसुल नतिर्ने ग्राहकको लाइन काट्न गएका सहकारीका कर्मचारीलाई गालीगलौज गर्नुका साथै ज्यानधम्की दिएको भन्दै पूर्ववडाध्यक्ष सन्तवीर तामाङसहित तीनजनाबिरुद्ध ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कमा उजुरी परेको हो ।
लघुजलविद्युतको लाइन काट्न गएका एकजना लेखापाल र दुईजना लाइन्समेनमाथि गालीगलौज र ज्यानधम्की दिएको भन्दै सहकारीका अध्यक्ष हेमकाजी पुरीले आवश्यक कानूनी कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिनुभएको ईलाका प्रहरी प्रमुख प्रहरी निरीक्षक हरि बरालले जानकारी दिनुभयो । “पीडित भनिएका व्यक्तिहरुको तर्फबाट माघ–२८ गते प्रहरीमा उजुरी परेको छ । घटना के भएको हो भन्नेबारे अहिले अनुसन्धान भइरहेको छ”, उहाँले भन्नुभयो, “दुवै पक्षलाई छलफलका लागि शुक्रबार बोलाएको छु । दुई पक्षीय छलफलपछि घटनाको विषयमा जानकारी हुन्छ । त्यसपछि आवश्यक परेको खण्डमा कानूनी कारबाहीको प्रक्रिया अगाढि बढाउछु ।”
तीन महिनासम्म विद्युतको महसुल नबुझाउने ग्राहकको लाइन काट्ने निर्णयअनुसार सहकारीका कर्मचारी प्रहरीसहित यही माघ–२४ गते सन्तवीरका बुबा डम्बरबहादुर तामाङ र भिनाजु लाक्पा तामाङको घरमा लाइन काट्न पुगेका थिए । ईलाका प्रहरी कार्यालय र बाकचोलका वडा सदस्य खगेन्द्र गिरीको रोहवरमा विद्युत लाईन काट्नेक्रममा सन्तवीरले सहकारीका कर्मचारीलाई गालीगलौज गर्दै ज्यानधम्की दिएको सहकारीका सचिव तुलसीराम पुरीले बताउनुभएको छ ।
डम्बरबहादुर र लाक्पाको घरमा लाईन काटेपछि त्यही टोलका अन्य ग्राहकको लाईन काटिरहेकाबेला आइपुगेका सन्तवीरले सहकारीका कर्मचारीमाथि गालीगलौज र ज्यानधम्की दिएको उनीहरुले बताएका छन् । गालीगलौज र ज्यानधम्की दिएपछि सन्तवीरले फर्किएर डम्बरबहादुर र लाक्पाको घरमा पुनः आफै विद्युतको लाईन जोडेको जनाइएको छ ।
यही विषयलाई लिएर एकजना लाइन्समेनले माघ–२९ गते राजीनामा दिएको बताइएको छ । सहकारीले डम्बरबहादुर र लाक्पालाई पनि कारबाही गर्नुपर्ने माग गरेका छन् । सहकारीले प्रहरीमा दिएको उजुरीको बोधार्थ ऐसेलुखर्क गाउँपालिका र वडा कार्यालय बाकाचोललाई समेत दिएको छ ।
उता, आरोपित सन्तवीरले भने, प्रहरीमा उजुरी दिएजस्तो आफूबाट कुनै धाकधम्की नभएको दाबी गर्नुभएको छ । “लघुजलविद्युत आयोजनामा बाकाचोलका हरेक घरको कम्तिमा पनि रु १५ हजारका दरले शेयर लगानी छ । मेरो रु एक लाखको शेयर छ । अहिलेसम्म नाफा÷घाटा केही थाहा छैन”, उहाँले भन्नुभयो, “मेरो घरमा पनि लाइन काट्न आउनुभएको थियो । घाटामा भएको छ भने, शेयरबाट कटाएर खर्च गर्नुस् भनेको थिएँ । ईलाका प्रहरी कार्यालयका प्रहरीसहित उहाँहरु आउनुभएको थियो । मैले के बोलेको छु भन्ने कुरा प्रहरी साँक्षी छन् ।”
आरोपित सन्तवीर यसअघि बौद्ध आधारभूत विद्यालय बाकाचोलका प्रधानाध्यापक बलबहादुर दाहाललाई गत असार–१२ गते अभद्र व्यवहार गरेको आरोपमा सात दिन प्रहरी हिरासतमा बस्नुभएको थियो । नेपाली काँग्रेस पार्टीबाटसमेत कारबाहीमा पर्नुभएका आरोपित सन्तवीर ठेक्कापट्टाको काम गर्दै आउनुभएको जनाइएको छ ।
आरोपित सन्तवीर काँग्रेसका ऐसेलुखर्क गाउँपालिका सभापति हुनुहुन्थ्यो । वि.सं. २०७९ को स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवारबिरुद्ध बागी उम्मेदवारी दिएपछि पाँच वर्षसम्म साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको हो ।
वि.सं. २०६९ सालमा उत्पादन शुरु गरिएको ७० किलोवाट क्षमताको लघुजलविद्युत आयोजनाले प्रतिग्राहक मासिक रु ३०० महसुल उठाउने गरेका छन् । शुरुमा लघुजलविद्युत आयोजनाको ६०१ ग्राहक भए पनि बसाइँसराइँका कारण हाल ४५५ को हाराहारीमा मात्र ग्राहक रहेका छन् ।