हलेसी महादेव मन्दिर गुठी व्यवस्थापन समितिको अध्यक्षमा पुनः गजुरमान राई

Halesi Khabar
294 Shares

खोटाङ, १६ फागुन । त्रिधार्मिकस्थल खोटाङको हलेसी महादेव मन्दिर गुठी व्यवस्थापन समितिको अध्यक्षमा पुनः गजुरमान राई चयन हुनुभएको छ । मालपोत कार्यालय खोटाङको सिफारिसमा गुठी संस्थान कार्यालय त्रिपुरेश्वर काठमाडौँले गजुरमानलाई छैटौँ कार्यकालका लागि गुठी व्यवस्थापन समितिको अध्यक्षमा पुनः चयन गरेको हो ।

समितिको उपाध्यक्षमा दिलीपराज गिरी, सचिवमा अग्निराज राई र कोषाध्यक्षमा पवन परियार चयन हुनुभएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवम् वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभएको छ । पन्ध्र सदस्य समितिको सदस्यमा हर्कराज राई, रमिला बस्नेत, तीर्था राई, महन कार्की, विमल बस्नेत र प्रकाशचन्द्र गिरी रहनुभएको छ ।

दुई वर्षे कार्यकालका लागि चयन गरिएको समितिमा मालपोत कार्यालय, वडा कार्यालय, मारतिका गुम्बा र किराँत राई यायोख्खाका प्रतिनिधिसमेत सदस्य रहने व्यवस्था छ । डिल्ली चाम्लिङ, हरि गिरी, ज्ञानबहादुर भुजेल, यज्ञराज राई र चमार राई गुठी व्यवस्थापन समितिको सल्लाहकार रहनुभएको छ ।

गुठी संस्थानबाट यही फागुन–९ गते आधिकारिकताको पत्र पाएको समितिले बुधबार औपचारिकरुपमा पद बहाली गरेका छन् । पद बहाली गरेलगत्तै नव गठित समितिलाई हलेसी तुवाचुङ नगरपालिकाले औपचारिक कार्यक्रम गरेर बधाई ज्ञापन गर्दै कार्यकालको शुभकामना दिएको छ ।

नव गठित समितिले मेला, भक्तजना तथा भेटी व्यवस्थापन, अतिथिलाई स्वागत÷सत्कार एवम् मन्दिर सरसफाइ लगायतको काम गर्ने गर्दछ । राजनीतिक किचलोका कारण पाँच वर्षदेखि गठन हुन नसकेको व्यवस्थापन समिति नगरपालिका, प्रशासन र मालपोतको सहजीकरणमा पुनः गठन गरिएको हो ।

राजनीतिक किचलोका कारण विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसी मन्दिर व्यवस्थापन समितिको कार्यालयमा तालासमेत लगाइएको थियो । हलेसी तुवाचुङ नगरपालिकाले बनाएको एउटा र गुठी संस्थानले बनाएको अर्को मन्दिर व्यवस्थापन समिति दुवै अस्तित्वमा आएपछि बिबाद चर्किदा वि.सं. २०७५ भदौ–२६ गते लागेको ताला चार वर्षपछि खोलिएको प्रवक्त गिरीले जानकारी दिनुभएको छ ।

तीन धर्मावलम्बीको आस्थाको केन्द्र हलेसीमा ताला लागेको विषयले नकरात्मक सन्देश गएकाले ताला खोल्न ‘कन्भिन्स’ गरिएको नगर प्रमुख विमला राईले बताउनुभएको थियो । “हलेसी प्राकृतिक श्रोत हो । तर, पोलिटीकल इस्यु बनाइयो । यसले राम्रो मेसेज जाँदैन भनेर सबैलाई कन्भिन्स गरियो । ताला खोल्नका लागि प्रस्ताव राखेँ । सबै कन्भिन्स हुनुभयो”, उहाँले भन्नुभयो, “बिबादका कारण चार वर्षदेखि लागेको ताला सबैको सहमतिमा खोलियो । अहिले व्यवस्थापन समिति पनि पुनः गठन भएको छ । बिबादका कारण काम गर्न सकिएको थिएन । अब चौतर्फी विकास गर्न सहज भएछ ।”

हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीको व्यवस्थापनका लागि वि.सं. २०६२ कातिकमा पहिलो पटक समिति गठन गरिएको थियो । वि.सं. २०६२ कातिकमा हलेसी गुफा समिति भनेर गठन गरिएको समिति अहिले आएर गुठी व्यवस्थापन समितिमा परिनत भएको जनाइएको छ ।

वि.सं. २०६४ भदौमा हलेसी प्राकृतिक मन्दिर व्यवस्थापन समितिको नाममा दर्ता गरिएको उक्त समिति वि.सं. २०६७ भदौमा हलेसी महादेव मन्दिर व्यवस्थापन समिति बनाइएको थियो । सोही समितिलाई अहिले हलेसी महादेव मन्दिर गुठी व्यवस्थापन समिति बनाइएको जनाइएको छ ।

त्रिधार्मिकस्थल हलेसीमा व्यवस्थापन समिति नहुँदा महन्तहरुले दर्शनार्थीहरुले चढाउने भेटी आफूखुसी खर्च गर्दै आएका थिए । मन्दिर व्यवस्थापन समिति गठन गरिएपछि दर्शनार्थी तथा भक्तजनले चढाएको भेटी सङ्कलन गरेर सोही मन्दिरको स्तरोन्नतिमा खर्च गर्ने गरिएको नव गठित समितिका अध्यक्ष गजुरमानले बताउनुभएको छ ।

प्राकृतिक रुपमा समेत विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा भाकल तथा दर्शन गर्न आउने भक्तजन तथा दर्शनार्थीले भेटी स्वरुप दान गर्दै आएका छन् । मध्यपहाडी लोकमार्गमा पर्ने त्रिधार्मिकस्थल हलेसीमा नेपालसँगै भारत, चीन, भुटान, जापान, श्रीलङ्का, अमेरिका, दक्षिण कोरिया लगायत विभिन्न मुलुकबाट दर्शनार्थी तथा अवलोकर्ता आउने गरेका छन् ।

 

 

 

 

 

तपाईको प्रतिक्रिया