खोटाङका कैदीबन्दीको बिलौना : हामीले बुनेका ढाकाटोपी बिक्री नहुँदा कारागारमै थन्कियो

Halesi Khabar
105 Shares

खोटाङ, १७ फागुन । जिल्ला कारागार खोटाङका अधिकांश कैदीबन्दी केही न केही व्यवसायिक काममा आवद्ध छन् । केहीले धागो प्रयोग गरेर ढाकाटोपी, रुमाल, सल र पर्स बुन्छन् भने, केहीले बाँसका चोया तथा भाटा प्रयोग गरेर घरायसी सामग्री निर्माण गर्छन् ।

विभिन्न मुद्दामा जेल भुक्तान गरिरहेका कैदीबन्दीहरुलाई सिर्जनशील तथा व्यवसायिक बनाउन विभिन्न दातृ निकायले निःशुल्क औजारसमेत उपलब्ध गराएका छन् । दातृ निकायले उपलब्ध गराएको घरेलु तथा आधुनिक औजार प्रयोग गरेर उनीहरुले धागोबाट निर्माण गरिने ढाकाटोपी, रुमाल, सल र पर्स, बाँसका चोयाबाट निर्माण गरिने नाङ्लो, डालो, फिपी तथा बाँसकै भाटाबाट निर्माण गरिने मुडा, कुर्सी, टेबल लगायतका घरायसी सामग्री उत्पादन गर्छन् ।

कैदीबन्दीले उत्पादन गरेका सामग्रीमध्ये बाँसका सामग्रीले राम्रो बजार मूल्य पाउने गरेपनि ढाकाटोपी तथा सल र पर्स भने बिक्री नभएको गुनासो आउने गरेको जेलर शोमप्रसाद आचार्यले बताउनुभएको छ । “जिल्ला कारागारमा १५६ जना कैदीबन्दी छन् । उनीहरु सबैजना केही न केही व्यवसायिक काममा आवद्ध छन् । धागोका काम गर्ने ४५ देखि ५० जना कैदीबन्दी रहेका छन् । उनीहरुले उत्पादन गरेका ढाकाटोपी बिक्री भएको छैन भन्ने छ”, उहाँले भन्नुभयो, “बजारमा सस्तो मूल्यको रेडिमेट (तयार गरिएको) ढाकाटोपी पाउँछ । कारागारका कैदीबन्दीले उत्पादन गरेजस्तो गुणस्तरीय पनि छैन । तर, मान्छेले सोही सस्तो मूल्यको ढाकाटोपी खरिद गर्दा कारागारका कैदीबन्दीले उत्पादन गरेका ढाकाटोपी बिक्री नभएको हो भन्ने हाम्रो ठम्याइ छ ।”

आफूहरुले उत्पादन गरेका ढाकाटोपी प्रतिगोटा फरक÷फरक गुणस्तरको फरक÷फरक मूल्य रु ३००, रु ६०० रु ८०० मा बिक्री गर्ने गरिएको कैदीबन्दीहरुले बताएका छन् । जब कि, गारागारका कैदीबन्दीले उत्पादन गरेका सोही ढाकाटोपी दिक्तेल बजारमा सञ्चालित टेलर्स सञ्चालकहरुले रु एक हजार ५०० सम्मा बिक्री गर्दै आएका छन् ।

कारागारमा रहेका कैदीबन्दीमध्ये ४३ जनाले ढाकाटोपी, सल र पर्स पाँच÷पाँच जना तथा रुमाल तीन जनाले बुन्ने गरेको जनाइएको छ । उनीहरुले उत्पादन गरेका ढाकाटोपी दिक्तेल बजारका विभिन्न पसल, त्रिधार्मिकस्थल हलेसी, ऐसेलुखर्क लगायतका हाटबजारमा व्यापारीहरुले बिक्रीका लागि लैजाने गरेका छन् । यद्यपि, त्योभन्दा सस्तो मूल्यमा बाहिरबाट आउने कम गुणस्तरको रेडिमेट टोपीका कारण कारागारका कैदीबन्दीले उत्पादन गरेका ढाकाटोपीले बजार नपाएको जनाइएको छ ।

कैदीबन्दीले उत्पादन गरेका ढाकाटोपी बिक्रीका लागि आफूहरुले समेत बजार तथा ग्राह खोजि गरिदिने गरेको जेलर आचार्यले बताउनुभएको छ । कारागार अनुगमन तथा भेटघाटका लागि आउनेलाई चिनोको रुपमा कैदीबन्दीले नै उत्पादन गरेका ढाकाटोपी खरिद गरेर दिने गरिएको जेलर आचार्यको भनाइ छ ।

आफूहरुले उत्पादन गरेका ढाकाटोपी बिक्री नभएपछि करिब तीन हजार थान गोदाममा थन्काएर राखिएको चौकीदार कर्णबहादुर बस्नेतले बताउनुभएको छ । “अधिकांश कैदीबन्दीहरु सिर्जनशील तथा व्यवसायिक काममा आवद्ध छौँ । तर, हामीले उत्पादन गरेका सामग्रीले बजार नपाउँदा समस्या भएको छ । परिबन्दले हामी जेल जीवन बिताउन बाध्य छौँ । हाम्रा पनि घर परिवार छन् । उनीहरुको गर्जो टार्नकै लागि भए पनि व्यवसायिक काम गर्छौँ । तर, बिक्री नहुँदा समस्या भएको छ”, उहाँले भन्नुभयो, “हामीले उत्पादन गरेका सामग्रीलाई बजारीकरण गर्न सबैको सहयोग आवश्यक छ । यसमा स्थानीय तथा सङ्घीय सरकारले समेत ध्यान दिन जरुरी छ ।”

कारागारमा रहेका कैदीबन्दीमध्ये बाँसका सामग्री निर्माण गर्ने कैदीबन्दीले भने राम्रो आम्दानी गर्ने गरेको जेलर आचार्यले बताउनुभएको छ । “कैदीबन्दीले उत्पादन गरेका बाँसका सामग्री जिल्लाभित्र तथा बाहिरसमेत नि¥यात हुने गरेको छ । उनीहरुले उत्पादन गरेका बाँसका सामग्रीमध्ये पनि सबैभन्दा बढी मुडा बिक्री हुने गरेको पाइएको छ”, उहाँले भन्नुभयो, “मुडा उत्पादन गर्ने कैदीबन्दीलाई भ्यानभ्याइ भएको देखिन्छ । उनीहरुले पकेट खर्च गरेर पनि मासिक रु सात÷आठ हजार बचत गर्ने गरेको पाइएको छ ।”

बाँसको सिन्का (भाटा खिपेर निर्माण गरिने सानो आकारको डण्डी) बाट निर्माण गरिने १७ इन्चको मुडा रु ६००, १८ इन्चको रु ७०० र २४ इन्चको रु एक हजार २०० मा बिक्री गर्दै आएका छन् । कारागारमा बाँसका चोया तथा भाटा प्रयोग गरेर घरायसी सामग्री बनाउने कैदीबन्दी ३५ जना रहेका छन् ।

कैदैबन्दीमध्ये कतिपयले काठका फर्निचरसमेत निर्माण गर्ने गरेका छन् । उनीहरुले बाहिरबाट खरिद गरेर ल्याइएका काठबाट टेबल, कुर्सी, दराज लगायतका सामग्री निर्माण गरेर बिक्री गर्ने गरेको कारागारले जनाएको छ ।

महिला ३३ र पुरुष ६६ जनागरी ९९ जना कैदीबन्दीका लागि निर्माण गरिएको कारागारमा अहिले महिला छ जना तथा पुरुष १५० जना रहेका छन् । दिक्तेलस्थित थामखोरेमा रहेको जिल्ला कारागारको भवन तथा पर्खाल जीर्ण छ ।

तपाईको प्रतिक्रिया