धरान, १७ फागुन । बुधबार साँझ काठमाडौँको सुन्धारामा स्वरोजगार मजदुरमाथि आक्रमणको नेतृत्व गर्ने काठमाडौँ महानगरपालिकाका महानगर प्रहरीका एसपी मनोज लामिछानेलाई तत्काल कारबाही गर्न नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले माग गरेको छ । सङ्गठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बिहीबार विज्ञप्ति जारी गर्दै एसपी लामिछानेलाई कारबाही गर्दै सम्पूर्ण मजदुरहरुसँग काठमाडौँ महानगरपालिकाले माफि माग्नु पर्ने माग गर्नुभएको छ ।
“मजदुरमाथि आक्रमणको नेतृत्व गर्ने एसपी मनोज लामिछानेलाई तत्काल कारबाही गर्नुपर्दछ । र, काठमाडौँ महानगरपालिकाले मजदुरहरुसँग माफि माग्नु पर्दछ । त्यस्तै घाइते सम्पूर्ण श्रमिक तथा सञ्चारकर्मीको उपचारको व्यवस्था गरिनुपर्दछ, महानगर प्रहरीहरुद्धारा जफत् गरिएका सामानहरु सम्बन्धीत श्रमिकहरुलाई तत्काल फिर्ता गरिनुपर्दछ”, विज्ञप्तिमा भनिएकोछ, “सस्तो नागरिक बजारको व्यवस्था, सन्ध्याकालीन व्यवसाय गर्ने वातावरण, महानगरभित्र ‘श्रम डेस्क’ स्थापना गरी सम्पूर्ण श्रमिकहरुको सूचिकरण गर्दै सामाजिक सुरक्षा कोषमा समावेश गर्नुपर्छ ।”
महानगरपालिका प्रमुख बालेन्द्र साह भएदेखिनै काठमाडौँमा गरिखाने वर्गमाथि आक्रमण हुन थालेको उल्लेख गर्दै बुधबार साँझको घटना अमानवीय र क्रुर भएको जनाइएको छ । महानगर प्रहरीका एसपी लामिछाने नेतृत्वको प्रहरीले बुधबार साँझ पौने ८ बजे सुन्धारामा स्वरोजगार मजदुरहरुलाई अन्धाधुन्ध आक्रमण गरि छजनालाई गम्भिर घाइते बनाएको छ ।
मजदुरहरुका सामानहरु लुटपाट गरिको र मजदुरलाई प्रहरी नियन्त्रणमा लिएर आतंकित बनाइएको अध्यक्ष राईले जनाउनुभएको छ । आक्रमणमा मजदुरहरु नानीमैया बस्नेत, राधिका मैनाली, बद्री देवकोटा र सञ्चारकर्मी पदम पोख्रेल लगायतमाथि निर्घात कुटपिट गरिएको थियो ।
कसैलाई असर नपर्नेगरी व्यवसाय गरिरहेकालाई कुटपिट, लछारपछार, गालीगलौज र सामान जफत् गरेर महानगरले गुण्डागर्दी गरेको राईले बताउनुभएको छ । महानगर प्रहरीको यो बलजफ्ती र बलमिच्याइ गैरकानूनी रहेको बताउनुहुँदै श्रमिकमाथिको आक्रमण मानवअधिकार विरुद्ध रहेको उहाँले बताउनुभएको छ ।
सानो पूँजी लगानी गरेर जीवन चलाउनेहरुलाई संरक्षण गर्नुपर्नेमा सत्ता र शक्तिको आडमा आक्रमण गर्नु खेदजनक रहेको विज्ञप्तिमा उल्लेख छ । समस्याको समाधान तत्काल नगरिए यातायात श्रमिकहरु महानगरपालिकाविरुद्ध चरणवद्धरुपमा आन्दोलनमा उत्रने राईले विज्ञप्तिमार्फत चेतावनी दिनुभएको छ ।