खोटाङ, १८ फागुन । नेकपा कम्युनिष्ट पार्टी (एमाले)को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) खोटाङले विद्यार्थीलाई सार्वजनिक यातायातको भाडामा छुट दिने व्यवस्था कार्यान्वयन गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी (सिडियो)लाई एसएमएस पठाएको छ । जिल्लामा सञ्चालित सार्वजनिक सवारी साधनमा यात्रा गर्नेक्रममा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिने व्यवस्था तत्काल लागू गर्न माग गर्दै अनेरास्ववियुको अगुवाइमा शुक्रबार प्रजिअलाई एसएमएस पठाएको हो ।
विद्यार्थीलाई गाडी भाडामा छुट दिने व्यवस्था कार्यान्वयन गराउनका लागि पटकपटक जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाइए पनि कार्यान्वयन नभएका कारण प्रजिअलाई ‘सिडियो सा’ब, मैले विद्यार्थी कार्ड देखाउँदा गाडी भाडा छुट पाइनँ !’ टाईप गरेर मोबाइलमा एसएमएस पठाइएको अनेरास्ववियुका केन्द्रीय सदस्य एवम् खोटाङ इन्चार्ज मोहन पोखरेल ‘सङ्ग्राम’ले जानकारी दिनुभएको छ । अनेरास्ववियुको अगुवाइमा जिल्लाका सयौं विद्यार्थीले शुक्रबार प्रजिअलाई एसएमएस पठाएका हुन् ।
सार्वजनिक सवारी साधनमा विद्यार्थीले ४५ प्रतिशत छुट पाउने व्यवस्था छ तर, हालसम्म जिल्लामा सो सहुलियत कार्यान्वयन नभएको अनेरास्ववियु खोटाङले जनाएको छ । गाडी भाडामा छुटको व्यवस्था कार्यान्वयनका लागि अनेरास्ववियुको टोली फागुन–१६ गते जिल्ला प्रशासन कार्यालय खोटाङ पुगेको थियो ।
तत्कालीन प्रजिअ शालिग्राम शर्मा पौडेल यता पटकपटक प्रशासनमा ध्यानाकर्षण गराउँदा पनि जिल्लामा विद्यार्थीले यातायातमा छुट पाउने व्यवस्था कार्यान्वयन नभएको जिल्ला अनेरास्ववियु खोटाङका अध्यक्ष विष्णु उपरकोटीले बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालय खोटाङका प्रजिअ पवित्रप्रकाश शाहलाई भेटेर विद्यार्थीलाई गाडी भाडामा छुट दिने व्यवस्था कार्यान्वयनका लागि पहल गर्न आग्रह गरेको अनेरास्ववियुले शुक्रबार एसएमएस पठाएर थप ध्यानाकर्षण गराएको हो ।
विद्यार्थी सङ्गठनको मागप्रति प्रशासन गम्भीर रहेको प्रजिअ शाहले बताउनुभएको छ । विद्यार्थी सङ्गठन, यातायात व्यवसायी र सरोकारवाला निकायबीच प्रशासनमा सर्वपक्षीय छलफलको आयोजना गरेर उक्त विषयलाई टुङ्गो लगाउने योजना बनाएको प्रजिअ शाहले जानकारी दिनुभएको छ ।