चतुरभक्तलाई ‘खोटाङ नागरिक सम्मान’ र रानोहँछालाई ‘खोटाङ प्रतिभा पुरस्कार’

Halesi Khabar
147 Shares

खोटाङ, १९ फागुन । खोटाङ सेवा समाज युके (बेलायत)ले ‘खोटाङ नागरिक सम्मान र खोटाङ प्रतिभा पुरस्कार–२०८०’ घोषणा गरेको छ । खोटाङमा जन्मिएर हाल बेलायतमा बसोबास गरिरहेका खोटाङ्गेहरुले सन् २००७ मा स्थापना गरेको संस्थाले शिक्षाविद एवम् समाजसेवी चतुरभक्त राईलाई खोटाङ नागरिक सम्मान र कवि चन्द्र रानोहँछालाई खोटाङ प्रतिभा पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।

नगद रु एक लाख राशी र ताम्रपत्रसहितको नागरिक सम्मान तथा रु ५० हजार राशी र ताम्रपत्रसहितको प्रतिभा पुरस्कार आगामी चैतमा दिक्तेलमा कार्यक्रम गरेर हस्तान्तरण गर्ने निर्णय गरिएको खोटाङ नागरिक सम्मान तथा प्रतिभा पुरस्कार कोष विभागका संयोजक डिल्लीराम राईले जानकारी दिनुभएको छ । शिक्षा, समाजसेवा र साहित्यका माध्यमबाट आफ्नो माटो, ठाउँ, समाज र राष्ट्रलाई पु¥याएको योगदानको कदर गर्दै समाजसेवी चतुरभक्त र साहित्यका क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै कवि रानोहँछालाई सम्मान एवम् पुरस्कृत गर्ने तयारी गरिएको हो ।

समाजले साहित्य, कला, सँगीत, शिक्षा, खेलकुद, समाजसेवा लगायतका माध्यमबाट आफ्नो गाउँ, समाज र राष्ट्रलाई सेवा पु¥याउँदै आएका ६० वर्षमाथिका व्यक्तित्वलाई नागरिक सम्मान तथा २० वर्ष माथिका प्रतिभालाई खोटाङ प्रतिभा पुरस्कार प्रदान गर्दै आएको छ । समाजले पहिलो चरणमा कृषिविज्ञ मदन राई र गायक रुपकुमार राई, दोश्रो चरणमा साहित्यकार जसराज किराँती र सँगीतकार शान्तिराम राई, तेश्रो चरणमा शिक्षासेवी एवम् समाजसेवी ईमानसिं राई र गीतकार टीका चाम्लिङ, चौथो चरणमा स्वास्थ्यकर्मी ध्रुबलक्ष्मी राई र सञ्चार अभियान्ता टंकबहादुर थापा तथा पाँचौँ चरणमा शिक्षाविद जयकुमार राई र साहित्यकार एवम् प्राध्यापक डा. धनप्रसाद सुवेदीलाई नागरिक सम्मान तथा खोटाङ प्रतिभा पुरस्कार प्रदान गरिसकिएको छ ।

खोटाङ सेवा समाज युकेले यस वर्ष पनि खोटाङको सबै स्थानीय तहमा ‘खोटाङ–युके निःशुल्क स्वास्थ्य शिविर–२०८०’ सञ्चालन गर्ने तयारी गरेको छ । सोही स्वास्थ्य शिविर समापनको अवसर पारेर सम्मान तथा पुरस्कार प्रदान गर्ने तयारी गरिएको खोटाङ सेवा समाज युकेका अध्यक्ष डा. प्रमोद कोयी राईले जानकारी दिनुभएको छ ।

अस्पताल जानका लागि हेलिकोप्टर चार्टर गर्नुपर्ने र अस्पतालसम्म पुग्ने साधनको अभावमा अकालमै ज्यान गुमाउनुपर्ने समस्या अन्त्यको प्रयास स्वरुप खोटाङ सेवा समाज युकेले वि.सं. २०७३ चैत्र–२६ गते खोटाङलाई सातवटा एम्बुलेन्स निःशुल्क उपलब्ध गराएको थियो । बेलायत, अमेरिका, ब्रुनाई, जर्मनी, मलेसिया, सिङ्गापुर, नेपाल लगायतका ठाउँमा बसोबास गर्ने ४४५ खोटाङ्गेबाट प्राप्त स्वेच्छिक सहयोग रकमले खरिद गरेर एम्बुलेन्स तथा अस्पतालका लागि उपकरण प्रदान गरिएको समाजले जनाएको छ ।

जिल्लाको समग्र विकास निर्माणमा समेत सहयोग गर्दै आएको समाजले जिल्ला अस्पताललाई एक वटा अल्ट्रासाउण्ड मेसिन प्रदान गरेको थियो । यद्यपि, समाजले उपलब्ध गराएको अधिकांश एम्बुलेन्स उपयोगविहीन भएको समाचार स्रोतले जनाएको छ ।

रोजगारीको सिलसिलामा युकेमा बसेपनि आफूहरु खोटाङ्गे भएकाले खोटाङ्गेको समस्यालाई समाधान गर्न आफूहरुको पनि उत्तिकै जिम्मेवारी हुने उनीहरुले बताउँदै आएका छन् । कोभिड–१९ को महामारीका बेला पनि अक्सिजन लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।

तपाईको प्रतिक्रिया