फागुन–२९ गतेदेखि चैत–३ गतेसम्म खोटाङमा दादुरा–रुबेला खोप अभियान

Halesi Khabar
259 Shares

खोटाङ, १९ फागुन । दश स्थानीय तह रहेको खोटाङमा यही फागुन–२९ गतेदेखि चैत–३ गतेसम्म दादुरा–रुबेला खोप अभियान सञ्चालन गरिने भएको छ । नेपाल सरकारले निर्धारण गरेको ‘पूर्ण खोप सुरक्षित भविष्य’ भन्ने नारासहित सञ्चालन गर्न लागिएको खोप अभियानका क्रममा जिल्लाका १४ हजार ८२ जना बालबालिकालाई दादुरा–रुबेलाबिरुद्धको खोप लगाउने लक्ष्य राखिएको छ ।

खोप अभियान सफल बनाउन जिल्लामा ३९२ वटा खोप केन्द्र निर्धारण गरिएको र त्यसका लागि ३९२ जना स्वास्थ्यकर्मी परिचालन गरिने जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनकुमार चौलागाईँले जानकारी दिनुभएको छ । “सन् २०२६ सम्ममा दादुरा–रुबेला रोग निवारण गर्ने नेपाल सरकारको प्रतिबद्धता छ । दादुरा–रुबेला खोपको कभरेज ९५ प्रतिशतभन्दा कम भएको कारण खोप अभियान चलाउन लागिएको हो”, उहाँले भन्नुभयो, “अभियानका क्रममा नौँ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई छुट भएको नियमित खोप पनि लगाइन्छ । त्यसका लागि सम्पूर्ण तयारी पूरा गरेका छौँ ।”

खोप अभियानका लागि आवश्यक खोप कोशी प्रदेश स्वास्थ्य मन्त्रालयबाट ल्याइसकिएको र सबै पालिका तथा वडा खोप केन्द्रमा पठाउने काम धमाधम भइरहेको स्वास्थ्य कार्यालय प्रमुख चौलागाईँले जानकारी दिनुभएको छ । अभियान सफल बनाउन जिल्लाका सबै खोप केन्द्रमा दुई÷दुई जनाका दरले ७८४ स्वयम्सेवक परिचालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

खोप अभियानका क्रममा केपिलासगढी गाउँपालिकाका एक हजार ८८, ऐसेलुखर्क गाउँपालिकाका एक हजार ४४, रावाबेँसी गाउँपालिकाका ९१२, हलेसी तुवाचुङ नगरपालिकाका दुई हजार २९२, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका तीन हजार २५९, साकेला गाउँपालिकाका ७१२, दिप्रुङ चुइचुम्मा गाउँपालिकाका एक हजार ३७४, खोटेहाङ गाउँपालिकाका एक हजार ३५४, जन्तेढुङ्गा गाउँपालिकाका एक हजार ३७ र बाराहापोखरी गाउँपालिकाका एक हजाजर ११ जना बालबच्चालाई खोप दिने तयारी गरिएको छ । खोप अभियान हरेक दिन बिहान दश बजेदेखि अपरान्ह चार बजेसम्म सञ्चालन गरिने जनाइएको छ ।

जिल्लामा खोप अभियान सफल बनाउन शनिबार जिल्ला खोप समन्वय समितिको बैठक तथा जिल्लास्तरीय खोप समन्वय समिति तथा सञ्चारकर्मीहरुको अभिमुखीकरण र बहस पैरवी गोष्ठीसमेत आयोजना गरिएको थियो । बैठकमा सहभागी सबैले खोप अभियान सफल पार्न आ–आफ्नो ठाउँबाट सहयोग गर्ने र पालिका तथा वडा खोप समन्वयलाई अनुरोध गर्ने निर्णय गरिएको जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले जानकारी दिनुभएको छ ।

जिल्लामा सञ्चालन गर्न लागिएको खोप अभियानको औपचारिक उद्घाटन फागुन–२९ गते बिहान दश बजे वडा, पालिका र जिल्लामा एकैसाथ गरिने स्वास्थ्य कार्यालय प्रमुख चौलागाईँले जानकारी दिनुभएको छ । जिल्लामा जिल्ला समन्वय समिति प्रमुख, पालिकामा पालिका प्रमुख र वडामा वडाध्यक्षहरुले खोप अभियानको औपचारिक उद्घाटन गर्ने निर्णय गरिएको जनाइएको छ ।

दादुरा–रुबेलाबाट सङ्क्रमित भएका एक जनाबाट १८ जनासम्मलाई सङ्क्रमण सर्ने भएकाले यसलाई कोभिडभन्दा खतरनाक सङ्क्रामक रोग मानिन्छ । दादुरा–रुबेलाको सङ्क्रमण भएको अवस्थामा बालबालिकालाई ज्वरो आउने, शरीरमा रातो बिमिरा देखा पर्ने, नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा राता हुने, आँखा पाक्ने, रुघाखोकी लगायतका लक्षण देखा पर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया