खोटाङ, २० फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको वर्तमान सत्रु गरिबी, बेरोजगार, अशिक्षा र रोग भएको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल खोटाङले आइतबार दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै मन्त्री किरातीले नेपालमा देखिएका यी सबै समस्या समाधानका लागि वर्तमान सरकार प्रयत्नरत रहेको बताउनुभयो ।
मन्त्री किरातीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै भ्रष्टाचार अन्त्य गर्नमा सरकार लागिपरेको जानकारी दिनुभएको छ । “देशमा सुशासन कायम नभएसम्म सत्रुको रुपमा देखा परेको गरिबी, बेरोजगार, अशिक्षा र रोग अन्त्य गर्न सकिँदैन । यसका लागि राष्ट्रिय सरकार गठन गरेर जानुपर्छ । निरङ्कुस राजतन्त्र सबै मिलेर ढालेका हौँ”, उहाँले भन्नुभयो, “देशमा अहिले साझा समस्याका रुपमा देखिएका गरिबी, बेरोजगार, अशिक्षा र रोग अन्त्य गर्न राष्ट्रिय सरकार आवश्यक छ । वर्तमान गठबन्धनलाई अझ बलियो बनाउँदै राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छ । अनिमात्र समृद्ध नेपाल निर्माण गर्न सक्छौँ ।”
मन्त्री किरातीले वर्तमान सत्ता साझेदार गठबन्धन दलभित्र देखिएका केही समस्याका विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बताउनुभएको छ । गठबन्धन निर्माण गर्दा जनतालाई देखाइएको सपना पूरा गर्नका लागि पनि वर्तमान गठबन्धन सरकारलाई कायम राख्नुपर्ने उहाँले बताउनुभयो ।
देशमा सुशासन कायम गर्न र आर्थिक समृद्धि निर्माणको बाटो प्रारम्भ गर्नका लागि स्थायी सरकार आवश्यक रहेको मन्त्री किरातीले दाबी गर्नुभयो । नेपालको संविधानले अङ्गिकार गरेअनुसार सबै राजनीतिक दल मिलेर वर्तमान सरकारलाई स्थायित्व दिनुपर्ने मन्त्री किरातीले बताउनुभएको छ ।
मन्त्री किरातीले नेपालका हरेक घुम्ती तथा डाँडापाखा पर्यटनको सम्भावना बोकेको ठाउँ रहेको बताउनुभएको छ । “नेपालका हरेक जातजातिको छुट्टाछुट्टै विशेषता, छुट्टाछुट्टै भेषभुषा तथा संस्कार, संस्कृति रहेका छन् । यसलाई प्रवद्र्धन गर्न वर्तमान सरकार लागि परेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको १६ औँ पञ्चवर्षीय योजनामा रैथाने शब्द समाबेस गरिएको छ”, उहाँले भन्नुभयो, “पर्यटन प्रवद्र्धनका लागि हामीले अन्य देशको सिको गर्न आवश्यक छैन । रैथाने रहनसहनलाई प्रवद्र्धन गर्न सके यसैमा हाम्रो भविष्य छ । यसप्रति वर्तमान सरकारले गम्भीर भएर मिहिनरुपमा अध्ययन÷अनुसन्धानसहित नीति निर्माण गरिरहेको छ ।”
मन्त्री किरातीले खोटाङको त्रिधार्मिकस्थल हलेसी, किराँत समुदायको उद्गमस्थल तुवाचुङ–जयाजुम, बराहपोखरी, जन्तेढुङ्गा, मझुवागढी लगायतका धार्मिक तथा ऐतिहासिकस्थलहरुको पर्यटन प्रवद्र्धनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बजेट विनियोजन गरिएको जानकारी दिनुभएको छ । मन्त्री किरातीले जिल्लाको पर्यटन प्रवद्र्धनका लागि मन्त्रालयबाट विनियोजित बजेटलाई सही तरिकाले कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिनुभएको छ ।
प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनपछि मन्त्री किरातीले दिक्तेलस्थित दिलकाजी–ठूलकुमार स्मृति भवनमा पार्टी कार्यकर्ताहरुसँग भेटघाटसमेत गर्नुभएको छ । कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री किरातीसँगै नेकपा (माओवादी केन्द्र)का केन्द्रीय अनुशासन आयोग अध्यक्ष एवम् पूर्वसांसद टंक राईसमेत सहभागी हुनुभएको थियो ।
मन्त्री किराती दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा ‘सोल्मा स्पोर्टस् क्लब सोल्मा’ले आयोजना गरेको ‘अण्डर–२३ पुरुष फुटबल प्रतियोगिता’ समापन कार्यक्रमलाई सम्बोधन गर्न खोटाङ आउनुभएको जनाइएको छ । फुटबल प्रतियोगिता समापन कार्यक्रममा मन्ती किरातीसँगै चर्चित गायिका अस्मिता अधिकारीसमेत आउनुभएको आयोजकले जनाएको छ ।