खोटाङ, २१ फागुन । हलेसी तुवाचुङ नगरपालिकाले वडा नं. ७ महादेवस्थानस्थित त्रिधार्मिकस्थल हलेसी बजारमा कृषि मार्ट (बजार) सञ्चालनमा ल्याएको छ । कृषकहरुले उत्पादन गरेका कृषि उपज बजारीकरणको लागि नगरपालिकाले आइतबारबाट औपचारिकरुपमा चिस्यान केन्द्रसहितको कृषि मार्ट सञ्चालनमा ल्याएको हो ।
हलेसी बजारस्थित ट्राफिक चोकमा चिस्यान केन्द्रसँगै कृषि मार्टको भवन निर्माण गरिको छ । सहज नेपाल संस्थाको प्राविधिक सहयोगमा निर्माण गरिएको भवन निजी संस्थालाई भाडामा दिएर कृषि मार्ट सञ्चालन गरिएको हो ।
गत आर्थिक वर्षमा विनियोजित रु १८ लाख ४४ हजार र चालु आर्थिक वर्ष २०८०÷०८१ मा विनियोजन गरिएको रु १९ लाख ९४ हजार ८३१ लगानीमा कृषि मार्ट र चिस्यान केन्द्र निर्माण गरिएको नगर प्रवक्ता एवम् वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो । नगरपालिकाभित्रका कृषकले उत्पादन गरेका कृषि उपज कृषि मार्टमा लगेर कृषि उपज बिक्री गर्ने छन् ।
केही दिनअघि नगरपालिकाले नगरपालिकाभित्रका कृषक र होटल व्यावसायीहरुसँग छलफल गरेर तरकारीको मूल्यसमेत निर्धारण गरेको थियो । सोही मूल्यअनुसार कृषकले उत्पादन गरेको कृषि उपज कृषि मार्टमा बिक्री हुने जनाइएको छ ।
स्थानीय राजनीतिक दल, सरोकारवाला निकालय लगायतको उपस्थितिमा नगर प्रमुख विमला राई र उपप्रमुख रमेशकुमार राउतले औपचारिक उद्घाटन गर्नुभएको ‘हलेसी कृषि मार्ट’मा कृषकहरुले उत्पादन गरेर ल्याएका कृषि उपज सङ्कलन गरेर बिक्री गर्नसमेत शुरु गरिएको छ । उद्घाटन गर्नुअघि कृषकहरु आलु, साग, धनिया, कोभी, मुला लगायतका तरकारीहरु बिक्री गर्न कृषि मार्टमा आएका थिए ।
आफूले उत्पादन गरेर ल्याएको कृषि उपज एकैठाउँमा बिक्री गर्न पाउँदा खुशी लाग्नुका साथै सहज भएको अगुवा कृषक अनिता राईले बताउनुभएको छ । “अरु बेला आफूले उत्पादन गरेका कृषि उपज बोकेर सबै घरहरु, होटलहरुमा डुलेर कराउदै बेच्नु पथ्र्यो । आज सहजै यहाँ एकैठाउँमा बिक्री हुँदा धेरै खुशी लागेको छ”, उहाँले भन्नुभयो, “कृषि उपजको बजारीकरणका लागि सञ्चालन गरिएको कृषि मार्टले निरन्तरता पाउन आवश्यक छ । यसप्रति सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।”
नगरपालिकाले निर्धारण गरेको मूल्य आवश्यकता र समयको आधारमा परिवर्तन गर्दै जानेगरी हलेसी बजारमा कृषि मार्ट सञ्चालन गरिएको नगर प्रमुख राईले बताउनुभएको छ । “त्रिधार्मिकस्थल हलेसी सबैको आस्थाको धरोहर हो । यहाँ हजारौँ मानिसको आवतजावत हुन्छ । यहाँ आउने पर्यटकलाई अर्गानिक खानेकुरा पु¥याउन सकिएको छैन । नगरपालिकाले यसतर्फ मध्यनजर गर्दै कृषि मार्ट सञ्चालनमा ल्याइएको छ”, उहाँले भन्नुभयो, “मार्ट सञ्चालकले नगरपालिकाले तोकेको मूल्यमा कृषकबाट कृषि उपज खरिद गर्नुपर्छ । कृषकबाट खरिद गरिएको कृषि उपज मार्ट सञ्चालकले २० प्रतिशतसम्म मात्र नाफा लिएर बिक्री गर्छन् । बिगतमा कृषि उपजहरु बिक्री नहुने, उचित मूल्य नपाउने, बिक्री गर्न घरहरुमा बोकेर डुलाउदै जानु पर्ने कृषकहरुको बाध्यता थियो । कृषि मार्ट र चिस्यान केन्द्र सञ्चालनमा आएसँगै कृषकहरुको उक्त समस्या समाधान भएको छ ।”
मध्यपहाडी लोकमार्गमा पर्ने त्रिधार्मिकस्थल हलेसीमा आगामी दिनमा दूध डेरीसमेत सञ्चालनको लागि तयारी गरिएको नगरपालिकाले जनाएको छ । दूध उत्पादनको लागि नगरपालिकाले भैँसी प्रवद्र्धन कार्यक्रम पनि सञ्चालन गरिरहेको छ ।
हरेक दिन सयौँको सङ्ख्यामा त्रिधार्मिकस्थल हलेसीमा पर्यटकहरु आउने गरेका छन् । जसकारण हलेसी क्षेत्रका होटलहरु प्राय सधै चलायमान हुन्छन् । तर, व्यवस्थापन हुन नसक्दा स्थानीयस्तरमा उत्पादन भएका कृषि उपज कुहिएर जाने र बाहिरबाट तरकारीहरु भित्रिने गरेको थियो ।
नगरपालिकाले कृषि मार्ट सञ्चालनमा ल्याएसँगै कृषकहरुले उत्पादन गरेको सबै कृषि उपज बिक्री हुने विश्वास लिइएको छ । हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा दैनिक सयौँको सङ्ख्यामा पर्यटक तथा भक्तजनहरु आउने भएकाले पनि उक्त कृषि मार्ट निरन्तर सञ्चालन हुनेमा कृषकहरु ढुक्क छन् ।