खोटाङ, २४ फागुन । अखिल नेपाल महिला सङ्घ (अनेम सङ्घ) जिल्ला कार्यसमिति खोटाङले नेपाल सरकारका गृहमन्त्री रवि लामीछानेलाई ज्ञापनपत्र बुझाएको छ । महिला हिङ्सा न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न माग गर्दै अनेम सङ्घले जिल्ला प्रशासन कार्यालय खोटाङका प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहमार्फत बिहीबार गृहमन्त्री लामीछानेलाई ज्ञापनपत्र बुझाएको हो ।
अपराधीलाई दण्ड, पीडितलाई न्याय र क्षतिपूर्तिको व्यवस्था गर्ने कामलाई प्रभावकारी बनाउन गृहमन्त्री लामीछानेको ध्यानकर्षण गराइएको अनेम सङ्घ खोटाङकी संयोजक धनकुमारी श्रेष्ठले जानकारी दिनुभएको छ । “जिल्लामा भएका महिला हिङ्साका घटना न्यूनीकरण गर्न प्रभावकारी कदम चालिएको छैन । घटना नै नहुने वातावरण सिर्जना गर्न र घटना भएको खण्डमा तत्काल प्रभावकारी न्यायका लागि आवश्यक कदम ध्यानाकार्षण गराइएको छ ”, उहाँले भन्नुभयो, “जिल्लामा महिला हिङ्सा लगायतका विभिन्न किसिमका हिङ्साहरु बढ्दै गएको छ । यस्ता घटनाहरुलाई अन्त्य गर्नका लागि बारम्बार सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आइएपनि दोषीमाथि अपेक्षाकृत कारबाही हुन नसकेकाले गृहमन्त्री लामीछानेको ध्यानाकर्षण गराइएको हो ।”
“समाजमा महिलालाई हेर्ने दृष्टिकोण फरक छ । महिलाहरु अझै पनि कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार, बेचबिखन, ओसारपसारका साथै संस्कृति र परम्पराका नाममा हुने हिङ्सा भोग्न बाध्य छन्”, गृहमन्त्रीलाई बुझाइएको ज्ञापनत्रमा भनिएको छ, “महिलाहरु आधुनिक प्रविधिको प्रयोगका माध्यमबाट हुने हिङ्सा आदिबाट अझै पनि पीडित भएका छन् । कतिपय सन्दर्भमा समाजका संवेदनहीन क्रियाकलापबाट पनि महिला तथा बालिकाहरुले बाँच्न पाउने अधिकारबाट वञ्चित भएको छ ।”
महिलामाथि हुने घरेलु हिङ्सा, जबरजस्ती करणी तथा करणी उद्योगका घटना, हत्या, बोक्सी आरोपका घटना, मानव बेचबिखनका घटना, बहुविवाह, बाल विवाहका, जातीय छुवाछुत र अवैध गर्भपतनका घटना समाजमा बढ्दै गएको गृहमन्त्री लामीछानेलाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ । पारिवारको इज्जत, असुरक्षा, उजुरी गर्दा व्यहोर्नु पर्ने सास्ती र सामाजिक दबाबका कारण सबै घटनाहरू प्रहरी समक्ष नपुगेको भन्दै अनेम सङ्घले ज्ञापनपत्रमार्फत आपत्ति जनाएको छ ।
महिलाबिरुद्ध हुने हिङ्सा नियन्त्रण र न्यूनीकरणका लागि संवैधानिक तथा कानूनी व्यवस्था भएपनि अनुसन्धान प्रक्रियामा ढिलासुस्ती र कानून कार्यान्वयनमा आएको उदासिनताले पीडितले न्याय पाउने अवस्था न्यून रहेको जनाइएको छ । समाजमा महिला तथा किशोरीहरुको बलत्कारपछि हत्याका प्रकरणहरु बढिरहेको छ ।
विद्यालय, घर, कार्यालय, सार्वजनिकस्थल कतै पनि महिला तथा किशोरीले सुरक्षाको अनुभूति गर्न नपाएको ज्ञापनपत्रमा उल्लेख छ । अनेम सङ्घ नेपाली महिलाका हक–अधिकार प्राप्ति, लोकतन्त्रको स्थापना र नागरिक अधिकार प्राप्तिको अगुवा सङ्गठन गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको जिल्ला संयोजक श्रेष्ठले बताउनुभयो ।
अनेम सङ्घले बुझाएको ज्ञापन सम्बन्धित निकायमा पु¥याएर सहयोग गर्ने प्रजिअ शाहले जानकारी दिनुभएको छ । जिल्लामा भएका महिला हिङ्साका घटनामा आफू पनि गम्भीर रहेको प्रजिअ शाहले बताउनुभएको छ ।
यसैबीच, जिल्लामा तीन महिलाको श्रृङ्खलावद्ध हत्या भएको लामो समय बितिसक्दा पनि दोषीको पहिचान नभएको भन्दै स्थानीय बासिन्दाले प्रहरी प्रशासनमाथि असन्तुष्टि व्यक्त गर्दै आएका छन् । जिल्लाका जनप्रतिनिधि र अधिकारकर्मीले वि.सं. २०७३ माघ–२६ गते बिभत्स अवस्थामा मृत फेला परेकी खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चेकी १७ वर्षीया रिता तामाङ, वि.सं. २०७४ जेठ–१६ गते हत्या गरिएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीया ज्ञानीमाया विश्वकर्मा र वि.सं. २०७४ साउन–४ गते हत्या गरिएकी जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीया देवी विश्वकर्माको हत्यामा संलग्न दोषी पहिचान नभएको प्रहरी प्रशासनको आलोचना भइरहेको हो ।