खोटाङ, २४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङको आठौँ जिल्ला अधिवेशन आगामी चैत अन्तिम साता दिक्तेलमा हुने भएको छ । एमाले खोटाङको ११ औँ पूर्ण बैठकले आठौँ जिल्ला अधिवेशन आगामी चैत–२८ र २९ गते दिक्तेलमा गर्ने निर्णय गरेको हो ।
एमालेले अधिवेशनका लागि जिल्ला अध्यक्ष रामप्रसाद दंगालको संयोजकत्वमा ३३३ सदस्यीय अधिवेशन मूल आयोजक समिति गठन गरेको छ । मूल आयोजक समितिमा प्रदेश पदाधिकारी तथा सदस्य, जिल्ला पदाधिकारी तथा सदस्य, पालिकास्तरीय समितिका पदाधिकारी, लेखा आयोगका सदस्यहरू, जनवर्गीय सङ्ठनका केन्द्रीय प्रतिनिधि तथा सदस्यहरु रहेका छन् ।
जिल्ला अधिवेशन सफल पार्न विभिन्न उप–समितिहरुसमेत गठन गरिएको एमाले खोटाङले जनाएको छ । जिल्ला पार्टी सचिव कुमार आचार्यको संयोजकत्वमा प्रचार–प्रसार उप–समिति गठन गरिएको जनाइएको छ ।
प्रचार–प्रसार उप–समितिमा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य, पदाधिकारी तथा पूर्व सदस्य जिल्लाका पदाधिकारी, जिल्ला प्रचार विभागका सदस्यहरूसमेत रहने गरी १०१ सदस्य रहेका छन् । प्रचार–प्रसार उप–समितिले आफूले पाएको जिम्मेवारीअनुसार कामसमेत शुरु गरेको एमालेले जनाएको छ ।
पार्टी उप–सचिव सुरेन्द्रकुमार राईको संयोजकत्वमा आर्थिक उप–समिति निर्माण गरिएको जनाइएको छ । आर्थिक उप–समितिमा निर्वाचित पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, नेपाल उद्योग तथा व्यावसायी महासङ्घको पदाधिकारी, केन्द्र, प्रदेश जिल्ला र नेपाल निजामति कर्मचारी सङ्गठन, राष्ट्रिय शिक्षक सङ्गठन, पेशागत महासङ्घ, राष्ट्रिय स्वास्थ्य कर्मी महासङ्घ लगायत सदस्य रहेका छन् ।
जिल्ला अधिवेशन सम्पन्न गर्न काठमाडौँमा समेत आर्थिक सहयोग सङ्कलन समिति निर्माण गरिएको बताइएको छ । प्रतिनिधि तथा पर्यवेक्षकगरी करिब ५०० को हाराहारीमा सहभागी हुने अधिवेशनका लागि चैत–१७ गते प्रतिनिधि छनोट गर्ने निर्णय गरिएको अध्यक्ष दंगालले जानकारी दिनुभएको छ ।
अधिवेशनमा पेश गरिने साङ्गठनिक, आर्थिक र राजनीतिक प्रतिवेदनको लागि छुट्टाछुट्टै उप–समिति गठन गरिएको एमालेले जनाएको छ । बैठकले अधिवेशनका लागि प्रतिनिधि छनोट गर्न नियमानुसार गर्ने निणर्य सर्वसहमतिमा पारित गरेको छ ।
दिक्तेलस्थित पुष्पलाल स्मृति भवनमा बसेको ११ औँ पूर्ण बैठकले केन्द्रीय समितिले गरेको ‘झुलाघाट–चिवाभञ्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’का क्रममा सुरक्षा र कार्यक्रम व्यवस्थापन सफल भएको निष्कर्ष निकालेको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) खोटाङको २४ औँ जिल्ला अधिवेशनबाट निर्वाचित, लोकतान्त्रिक आदिवासी जनजाति प्रदेश समितिमा निर्वाचित र खोटाङ–काठमान्डौँ सम्पर्क मञ्चको अधिवेशनबाट निर्वाचित समितिलाई बधाईसमेत ज्ञापन गरेको छ ।
एमाले खोटाङको जिल्ला अधिवशेन मिति तोकिएसँगै अध्यक्षका लागि दुई नेताले सक्रियता बढाएका छन् । वर्तमान अध्यक्ष दंगाल र उपाध्यक्ष देवबिक्रम राई आ–आफ्नो दाबीसहित समूह बनाएर चुनावी मैदानमा उत्रनुभएको हो ।
पार्टी उच्च स्रोतले भने, जिल्ला अधिवेशनले सहमतिबाटै नेतृत्व चयन गर्ने बताउँदै आएको छ । तर, दुई नेताको सक्रियता हेर्दा आठौँ अधिवेशनले सर्वसहमतिमा नेतृत्व चयन गर्ने सम्भावना देखिएको छैन ।
उपाध्यक्षमा वर्तमान सचिव कुमार आचार्य र सचिवमा वर्तमान उप–सचिव सुरेन्द्रकुमार राईको मात्र दाबी देखिएको छ । दुईवटा उप–सचिव पदमा भने, गीरेन्द्रबहादुर राई, दिलचक्र राई, राजन बञ्जरा, कमल ढकाल, कविता राई, गोमा मगर र गोपालचन्द्र आचार्यको दाबी रहेको समाचार स्रोतले जनाएको छ ।