खोटाङ, ३ चैत । जिल्लास्थित तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीहरुले शनिबार आगलागी नियन्त्रण सम्बन्धी सचेतनामूलक डेमो (अभ्यास) प्रस्तुत गरेका छन् । डिभिजन वन कार्यालय खोटाङले शुरु गरेको अग्नी नियन्त्रण सम्बन्धी सप्ताह कार्यक्रम अन्तरगत सुरक्षाकर्मीहरुले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित चन्द्रमान सामुदायिक वनमा संयुक्त डेमो प्रस्तुत गरेको हो ।
गोरखनाथ गण मुडे ब्यारेकका नेपाली सेना, जिल्ला प्रहरी कार्यालय खोटाङका नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल ७ नं. गुल्म खोटाङका सशस्त्र प्रहरीले संयुक्तरुपमा आगलागी नियन्त्रण सम्बन्धी सचेतनामूलक डेमो प्रस्तुत गरेका थिए । उनीहरुले अग्नीरेखा निर्माण, आगलागी नियन्त्रण तथा आगलागीका घटनाबाट बच्ने उपायका बारेमा स्थानीय बासिन्दालाई सहभागी गराएर डेमो प्रस्तुत गरेका थिए ।
आगलागीका घटना नियन्त्रण गर्न सबैको सहयोग तथा सहकार्य आवश्यक हुने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताउनुभएको छ । “आगलागी फायर, फ्युल र अक्सिजन एकैसाथ मिलेपछि हुन्छ । आगलागी नियन्त्रण गर्न हामीले फ्युल हटाउन सक्छौँ । जङ्गलमा पाइने पत्कर, सुकेका झाडी लगायत ज्वलनशील वस्तुहरु फ्युल हुन् । त्यसलाई हटाएर अग्नीरेखा निर्माण गरेमा आगलागी नियन्त्रण गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “जिल्लाका अधिकांश सामुदायिक वनमा जानाजान आगो लगाउने गरेको भन्ने सुन्नमा आएको छ । आगलागी गराउने व्यक्तिलाई कानूनले १२ वर्षसम्म कैदको सजाय तोकेको छ । यदि त्यस्तो घटना भएको पाइएमा प्रहरीले कानून बमोजिम कारबाही गर्छ ।”
हिउँदको समयमा हुन सक्ने वन डढेलो तथा आगलागीका घटनालाई नियन्त्रण गर्न सप्ताहव्यापी अग्नी नियन्त्रण अभियान शुरु गरिएको डिभिजन प्रमुख पशुपति दाहालले जानकारी दिनुभयो । “खोटाङ आगलागीका घटना हुने उच्च जोखिममा रहेको जिल्लामा पर्दछ । वन डढेलोका कारण हरेक वर्ष ठूलो क्षति हुने गरेको छ । यसलाई नियन्त्रण गर्न सप्ताहव्यापी कार्यक्रम शुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “आगलागीका घटना नियन्त्रण गर्न सबै नागरिक सचेत हुन जरुरी छ । अभियानका क्रममा विशेषगरी स्थानीय बासिन्दालाई लक्षित गरेर सचेनामूलक कार्यक्रमहरु सञ्चालन गर्छौँ ।”
डेमो प्रस्तुत कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घ, स्थानीय वन उपभोक्ता समिति, स्थानीय बासिन्दा लगायतको उपस्थिति रहेको थियो । डेमो प्रस्तुत कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले आगलागी नियन्त्रणमा सबै एकतावद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
सप्ताहव्यापी अभियान अन्तरगत शुक्रबार नेपाली सेना र नेपाल प्रहरीलाई अग्नी नियन्त्रण सम्बन्धी सामग्री प्रदान डिभिजन वन कार्यालयले जनाएको छ । नेपाली सेना र नेपाल प्रहरीलाई वनमा लागेको डढेलो नियन्त्रणमा प्रयोग हुने फायर सटर र ¥याक–हो प्रदान गरिएको जनाइएको छ ।
यसैबीच, दश स्थानीय तह रहेको जिल्लाका विभिन्न सामुदायिक वनहरुमा अहिले भीषण डढेलो गइरहेको पाइएको छ । सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा स्थानीय बासिन्दाको घर, गोठ तथा पशुचौपाया जलेर नष्ट हुँदा करोडौँको क्षति भइरहेको जानकारीहरु दैनिकजसो प्राप्त हुने गरेको छ ।
हलेसी तुवाचुङ नगरपालिका–९ धितुङमा शनिबार दिउँसो लागेको डढेलोले दुई घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । चौतारा सामुदायिक वनमा लागेको डढेलोले स्थानीय गजेन्द्र राई र ज्ञानीमायाँ राईको घर जलेर पूर्णरुपमा क्षति भएको जनाइएको छ ।
उता, ऐसेलुखर्क गाउँपालिका–६ ज्यामीरेमा पनि सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा ठूलो क्षति भएको छ । सतिदेवी सामुदायिक वनमा लागेको डढेलोले खुतप्रसाद फुयाल, युवराज राई र वुद्धिनाथ लम्सालको घर जलेको प्रहरीले जनाएको छ ।
डढेलोले वुद्धिनाथको ६० वटा बाख्रासमेत मरेको प्रहरीले जनाएको छ । जिल्लामा भएका आगलागीका घटनामा अहिलेसम्म मानवीय क्षति भने नभएको जिप्रका खोटाङका प्रनाउ खड्काले जानकारी दिनुभएको छ ।