आठ घर अग्निपीडितलाई ‘खोटाङ प्राकृतिक प्रकोप सहयोग कोष’को राहत

Halesi Khabar
21 Shares

खोटाङ, ९ चैत । खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले जिल्लाका आठ घर अग्निपीडित परिवारलाई राहत रकम प्रदान गरेको छ । जिल्लाका फरक–फरक ठाउँ तथा फरक–फरक समयमा भएको आगलागीमा घर जलेर पूर्णरुपमा विस्थापित भएका हरेक परिवारलाई कोषले प्रतिपरिवार रु दश हजारका दरले राहत रकम प्रदान गरेको हो ।

कोषले चैत–८ गते आगलागी हुँदा घर जलेर विस्थापित भएका जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयका धनबहादुर राई, चैत–७ गते विद्युत सर्ट हुँदा घर गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका भगतबहादुर राई र भीमबहादुर राईलाई राहत रक प्रदान गरेको छ ।

यस्तै, चैत–३ गते डढेलोले घर खरानी भएपछि विचल्लीमा परेका हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ज्ञानमायाँ राई र टेकबहादुर राई, चैत–३ गतेकै डढेलोमा घर गुमाएका ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका खुतप्रसाद फुयाँल र बुद्धिनाथ लम्साल तथा चैत–१ गतेको आगलागीबाट विस्थापित भएका जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङका ईन्द्रबहादुर राईलाई राहत प्रदान गरिएको कोषका कोषाध्यक्ष युगसन किरातले जानकारी दिनुभएको छ । कोषले आगलागीबाट विस्थापित भएका पीडित परिवारको सहज जीवनयापनका लागि घटना लगत्तै राहत प्रदान गरेको हो ।

कोषले जिल्लाका अन्य अग्निपीडित परिवारलाई पनि राहत प्रदान गरिरहेको छ । प्राकृतिक विपत्तीमा परेका जिल्लाबासीको सहयोगार्थ हङकङमा बसिरहेका खोटाङ्गेको अगुवाइमा वि.सं. २०७२ सालमा कोष स्थापना गरिएको हो ।

रु २० लाखबाट शुरु गरिएको कोषको मुल धन यस वर्ष रु ३० लाख पुगेको छ । कोषको वार्षिक रुपमा आउने ब्याजबाट जिल्लाका विपत्तीमा परेका नागरिकलाई राहत प्रदान गर्ने गरिएको कोषाध्यक्ष किरातले बतउनुभाएको छ ।

कोषले आंशिक क्षति भएका पीडित परिवारलाई प्रतिपरिवार रु पाँच हजार र पूर्ण क्षति भएकालाई रु दश हजारका दरले राहत उपलब्ध गराउँदै आएको छ । आगलागीबाट विस्थापित भएका परिवारलाई तत्कालका लागि थोरै भए पनि बन्दोबस्तीमा सहयोग पु¥याउने उद्देश्यले राहत रकम उपलब्ध गराउने गरिएको कोषले जनाएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा गत फागुन–११ गतेदेखि हालसम्म १६ वटा घर जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । विभिन्न ठाउँमा भएको रु एक करोड ६३ लाख ७७ हजार ५०० बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभएको छ ।

आगलागीमा १९ वटा गोठ तथा गोठमा राखिएका ७१ वटा खसी÷बाख्रा जलेर मरेको जनाइएको छ । यो अवधिमा जिल्लाका विभिन्न ३५ ठाउँमा आगलागी भएको प्रहरीले जनाएको छ ।

यसैबीच, जिल्लाका तीनवटै सुरक्षाकर्मीले आगलागी नियन्त्रण सम्बन्धी अभ्यास (डेमो) प्रस्तुत गरेर जनतामा सचेतना फैलाएको छ । गोरखनाथ गण मुडे ब्यारेकका नेपाली सेना, जिल्ला प्रहरी कार्यालय खोटाङका नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल ७ नं. गुल्म खोटाङका सशस्त्र प्रहरीले संयुक्तरुपमा आगलागी नियन्त्रण सम्बन्धी सचेतनामूलक डेमो प्रस्तुत गरेर सचेतना अभिवृद्धि गरेको हो ।

डिभिजन वन कार्यालय खोटाङको आयोजनामा उनीहरुले अग्नीरेखा निर्माण, आगलागी नियन्त्रण तथा आगलागीका घटनाबाट बच्ने उपायका बारेमा स्थानीय बासिन्दालाई सहभागी गराएर डेमो प्रस्तुत गरेका थिए । नेपाली सेना र नेपाल प्रहरीलाई वनमा लागेको डढेलो नियन्त्रणमा प्रयोग हुने फायर सटर र ¥याक–हो प्रदान गरिएको जनाइएको छ ।

 

 

तपाईको प्रतिक्रिया