खोटाङ, १५ चैत । मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने तीनवटा खोलामा निर्माणाधीन मोटरेबल पक्की पुलको काम अन्तिम चरणमा पुगेको छ । ठेकेदार कम्पनीले पुल तथा अन्यो भौतिक संरचना निर्माणका काम जिम्मा लिएर अलपत्र पारिरहँदा यस सडकखण्डको सोल्मा र नेर्पामा निर्माणाधीन तीनवटा मोटरेबल पक्की पुल सम्झौता मितिभन्दा अगाडि नै सम्पन्न हुने देखिएको छ ।
सोल्मास्थित भालुखोला र नेर्पास्थित मेवाखोलामा निर्माणाधीन २०–२० मिटर लम्बाईको मोटरेबल पुलको भौतिक र आर्थिक प्रगति ८०–८० प्रतिशत सकिएको मध्यपहाडी राजमार्ग योजना कार्यालय धुलिखेलका सूचना अधिकारी हर्क प्रधानले बताउनुभयो । प्रधानका अनुसार अब यी दुवै पुलको सडक संरचना (एप्रोच रोड)को काम मात्रै बाँकी छ ।
निर्माणाधीन अवस्थाका दुवै पुलको एप्रोच रोड र रङरोगन वैशाखसम्म सकेर पुल जिम्मा लगाइने केएम इन्जिनियर्स विल्डर्स प्रा.लि.का प्रबन्ध निर्देशक मोहन कार्कीले बताउनुभएको छ । यी दुवै पुल केएम इन्जिनियर्स विल्डर्स प्रा.लि. काठमाडौँले जिम्मा लिएको हो ।
वि.सं. २०८१ असार–२२ गते दुई पुलको काम सक्नेगरी वि.सं. २०७९ असार–२२ गते केएम इन्जिनियर्स विल्डर्स प्रा.लि.ले सडक विभागसँग सम्झौता गरेको थियो । भ्याट बाहेक रु सात करोड ७४ लाख २५ हजारमा सम्झौता गरेको थियो ।
यस्तै, सोही सडकखण्डको नेर्पा र सोल्माको सिमानामा पर्ने छेपेखोलामा २० मिटर लम्बाईको मोटरेबल पुल पनि सम्झौता मितिभन्दा अघि नै निर्माण सम्पन्न भएको छ । अहिले सञ्चालनमा रहेको छेपेखोलाको मोटरेबल पक्की पुल निर्माणको जिम्मा सगरमाथा सजिव जेभी खोटाङले लिएको हो ।
वि.सं. २०८० कातिक–११ गते पुल बनाइसक्नेगरी वि.सं. २०७८ मङ्सिर–१४ गते भ्याट बाहेक रु तीन करोड पाँच लाख ८० हजार १३७ मा ठेकेदार कम्पनीले सडक विभागसँग सम्झौता गरेको थियो । यो पुलको पनि आर्थिक र भौतिक प्रगति मेवाखोला र भालुखोलाजस्तै ८० प्रतिशत सकिएको जनाइएको छ ।
भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न भएको पुलमा रङरोगन गर्न र ३३० मिटर एप्रोच रोड कालोपत्र गर्न बाँकी रहेको ठेकेदार कम्पनीका प्रतिनिधि कृष्ण घिमिरेले बताउनुभएको छ । “छेपेखोलामा निर्माण गरिएको पुल गत असारमै बनाइसकेर गाडीसमेत गुडाइसकेका छौ । एप्रोच रोडको काम भने मेवाखोला र भालुखोलासँगै गर्नेगरी समन्वय भएको छ । त्यसो हुँदा दुवैलाई कच्चा पदार्थ जुटाउन र मेसिन चलाउन सहज हुन्छ”, घिमिरेले भन्नुभयो, “वैशाखभरीमा सडक संरचनाको काम सक्छौ । त्यही अनुसार आवश्यक निर्माण सामग्रही सङ्कलन गरिरहेका छौँ ।”
यद्यपि, यो छेपेखोला पुलको सम्झौता म्याद सकेर ठेकेदार कम्पनीले अर्को म्याद थपको प्रक्रियामा रहेको पाइएको छ । मोटरेबल पक्की पुल निर्माणाधीन अवस्थामा रहेको भालुखोला र मेवाखोलामा डाइभर्सन गरेर सवारी साधन वारपार गर्ने गरिएको छ ।
निर्माणाधीन तीनवटै पुल छिटो सक्न ठेकेदार कम्पनीलाई पटक–पटक निर्देशन गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले जानकारी दिनुभएको छ । “निर्माणाधीन तीनवटै पुलको प्रगति हेर्दा तोकिएको मितिभन्दा अगाडि नै सम्पन्न हुने देखिन्छ । वर्षा शुरु हुनासाथ निर्माणको काम रोकिन्छ”, उहाँले भन्नुभयो, “तोकिएको मिति अगावै सम्पन्न गर्न हौसला समेत प्रदान गरिरहेका छौँ । तोकिएको समयभन्दा अगाडि पुल बनाउनेलाई पुरस्कृत गर्ने योजना छ ।”
दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको बुवालुङस्थित बुवासुङ–लामीडाँडा जोड्ने पङ्खुखोलाको १५ मिटर मोटरेबल पुलको काम सिरुवा कन्ट्रक्सन काठमाडौँले नगरेपछि गत जेठ–१२ गते ठेक्का तोडिएको छ । ठेक्का सम्झौता तोडिएको पङ्खुखोला पुलको लागि अर्को ठेक्का लगाउन हालसम्म सम्बन्धित निकायले चासो नदिएको भन्दै जिल्लावासीले असन्तुष्टी पोख्न थालेका छन् ।
पाँच खण्डमा विभाजन गरेर कालोपत्र गरिएको दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको निर्मलीडाँडाभन्दा यता (दिक्तेलतर्फ)का सडकखण्डमा पर्ने भुल्केखोला, लप्सेखोला, दाम्देखोला, साप्सुखोला लगायत विभिन्न पाँचवटा खोलामा भने यसअघि नै पक्की पुल तयार सञ्चालनमा आइसकेको छ । तीनवटा निर्माणाधीन तथा एउटा ठेक्का सम्झौता तोडिएको ४८ किलोमिटर लामो दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने नौँवटा खोलाहरुमा मोटरेबल पक्की पुल निर्माण हुनेछ ।
वि.सं. २०७२ चैतबाट कालोपत्र थालिएको दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको सेखुवा–चखेवाभञ्ज्याङ (दश किलोमिटर) सडक कालोपत्र भएको छैन । भारत कन्स्ट्रक्सन÷मैनाचुली÷सिद्धिसाई जेभीले जिम्मा लिएको थियो ।
छिमेकी जिल्ला भोजपुरसँग जोडिने दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको सेखुवा–चखेवाभञ्ज्याङ (दश किलोमिटर) सडक ठेकेदार कम्पनीले कालोपत्र नगरेपछि ठेक्का तोडिएको थियो । तर, ठेकेदार कम्पनीले उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुङ्गाबाट स्टे अर्डर ल्याएपनि निर्माणको काम अगाडि बढेको छैन ।