खोटाङ, २३ चैत । किराँत ऐतिहासिकस्थल खोटाङको मझुवागढी क्षेत्रमा पर्ने मझुवागढी भीरमा रक क्लाइम्बिङको परीक्षण सफल भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा पर्ने धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी भीरमा परीक्षण गरिएको रक क्लाइम्बिङ सफल भएको हो ।
खेलकुद तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रक क्लाइम्बिङ सञ्चालनको शुरुवात गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले बताउनुभएको छ । रक क्लाइम्बिङ सञ्चालनपछि देश–विदेशका रक क्लाइम्बिङका पारखीहरूको ध्यान केन्द्रित हुनुका साथै नगरको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
करिब ३२ मिटर अग्लो मझुवागढी भीरमा नेपाल नेसनल माउन्टेन गाइडले रक क्लाइम्बिङ निर्माण गरिदिएका छन् । रक क्लाइम्बिङ सञ्चालनका लागि पर्वतारोहण प्रशिक्षक सङ्घले छ दिनको तालिमसमेत दिएको छ ।
सातजना स्थानीय युवा र सशस्त्र प्रहरी बल नेपाल ७ नं. गुल्म खोटाङका पाँचजना गरी १२ जनाले तालिम लिएका छन् । कृत्रिम भीरमा भन्दा प्राकृतिक भीरमा रक क्लाइम्बिङ गर्न रुचाउने भएकाले यो उपयुक्त थलो भएको नेपाल नेसनल माउन्टेन गाइडका संस्थापक कोषाध्यक्ष तथा पर्वतारोहण प्रशिक्षक सङ्घका निवर्तमान अध्यक्ष लाक्पा शेर्पाले बताउनुभएको छ ।
पछिल्लो समय युवा पुस्ता यसप्रति आकर्षित हुँदै जानुका साथै पर्यटन विकासमा पनि सहयोग यसले सहयोग गर्ने भएकाले रक क्लाइम्बिङ लोकप्रिय बन्दै गएको छ । रक क्लाइम्बिङको भविष्य राम्रो र पछिल्लो समय युवापुस्ता यो खेलमा रमाउन थालेको शेर्पाले बताउनुभएको छ ।
किराँत ऐतिहासिकस्थल मझुवागढीलाई धार्मिक तथा पर्यटकीयस्थलको रुपमा विकास गर्न नगरपालिकाले ‘फूलैफूलको पहाड’ बनाउने योजना अन्तरगत वर्षेनी बजेटसमेत विनियोजन गर्दै आएको छ । मझुवागढी तथा कालिका भगवती मन्दिर सौन्दर्यकरणका लागि यस वर्ष कोशी प्रदेश सरकारबाट रु एक करोड ५३ लाख बजेटसमेत प्राप्त भएको छ ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हाटडाँडाबाट करिब ४५ मिनेट पैदल यात्रापछि पुगिने धार्मिक तथा ऐतिहासिकस्थल मझुवागढीमा वि.सं. १८०४ सालसम्म राजा रणवीर हाङले राज्य गरेको प्रमाण छ । चारैतिर हरियाली जङ्गलले घेरिएको मझुवागढीमा घुमफिर गर्ने, पिकनिक (वनभोज) खाने, अध्ययन भ्रमण गर्ने, साहित्यिक तथा साँगीतिक कार्यक्रम गर्ने लगायतका व्यक्ति तथा समूह पुग्ने गरेका छन् ।
किराँत ऐतिहासिकस्थल मझुवागढीको उत्तरी दिशामा बारुद ढुङ्गा र हतियार निमार्ण गर्ने भट्टी रहेको छ । गढीको पूर्वमा फूलपातिडाँडा, राँगा आहल र दमाहा ढुङ्गा रहेको छ । त्यस्तै, गढीको बीच भागमा मौली रहेको छ ।
उसबेला रणवीर राजाका रैतिहरुले दशै मान्नको लागी ल्याएका राँगा बोकाहरु राख्ने ठाँउलाई मौली भन्ने गरिन्थ्यो । मौलीभन्दा अलिक अगाडी पूजाआजा गर्ने ठाँउ छ । त्यसको केहीमाथी राजाको दरवार र कोट गार्ड (सुरक्षाकर्मी) बस्ने ठाँउ छ ।
गढीको दक्षिण दिशामा तारा खसेको ठाँउ रहेको छ भने, गढीवरीपरि बम्कर घेरासमेत रहेको छ । मझुवागढीको केही तल कालिका भगवती मन्दिर रहेको छ । भगवती मन्दिरमा अहिले पनि दैनिकजसो बाख्राको पाठी बली दिने गरिन्छ ।
मझुवागढीमा हरेक वर्षको उँभौली र उँधौली चाड अर्थात वैशाखे र मङ्सिरे पूर्णिमामा पूजा गर्दै साकेला नाच्ने गरिन्छ । धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा साकेला नाचका साथै रामनवमी, बालाचर्तुदशी, शिवरात्रि, हरितालिका तिज लगायतका चाडपर्वमा ठूलो मेलासमेत लाग्ने गर्दछ ।
धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ । मझुवागढी पर्यटकलाई लक्षित गरेर फलामे रेलिङसहितको पदमार्ग निर्माण, घाम तथा पानी परेको समयमा ओत लाग्ने स्टीलट्रस तथा आराम गर्ने स्टिलको फलैँचा र प्यास लागेको समयमा पिउनेपानीको व्यवस्था गरिएपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको हो ।
उच्च हिमश्रृङ्खला तथा तराईका समथर भूभागको राम्रोसँग दृष्यावलोकन गर्न सकिने मझुवागढीमा विशेषगरी शुक्रबार र शनिबार आन्तरिक पर्यटकको घुइचो लाग्ने गरेको छ । बाह्रै महिना आन्तरिक पर्यटकको उत्तिकै चहलपहल रहने मझुवागढीमा सरकारी कार्यालय तथा शैक्षिक संस्था छुट्टी भएको समयमा अझ बढी पर्यटकको आवतजावत रहने स्थानीयवासीले बताएका छन् ।
मझुवाको अर्थ माझ अर्थात बीच भन्ने बुझिन्छ । मझुवागढीको पश्चिम दिशामा महुरेगढी, हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा पर्छ । त्यस्तै, पूर्वमा चुइचुम्मागढी दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खामा पर्छ भने, दक्षिणमा खाम्तेल गढी हाल हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा पर्दछ ।
चारैतिर गढी नै गढीले घेरिएको मझुवागढी बीचमा पर्ने भएकाले उक्त ठाँउको नाम मझुवागढी भनिएको जानाकारहरु बताउँछन् । समुन्द्री सतहदेखि करीब दुई हजार मिटर अग्लो डाँडामा रहेको मझुवागढीबाट चारैतिरका गढीहरु प्रस्ट देखिन्छ ।
माझकिराँत भनेर चिनिने पर्यटकीयस्थल मझुवागढी आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेपछि उनीहरुको आवतजावतमा सहज पार्नका लागि फलामे रेलिङसहितको पदमार्ग निर्माण गरिएको छ । तत्कालीन जिल्ला विकास समितिमार्फत सञ्चालित एसबिएलएल परियोजनाको रु ४० लाख ५० हजार र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको रु २० लाखको लागतमा फलामे रेलिङसहितको पदमार्ग निर्माण गरिएको हो ।