खोटाङ, २३ चैत । खोटाङ सेवा समाज बेलायत (युके)ले आयोजना गरेको बृहत् स्वास्थ्य शिविर शुक्रबार (आज) साँझ सम्पन्न भएको छ । ‘जन्मभूमिको सम्मान, स्वास्थ्य श्रमदान अभियान’ भन्ने नाराका साथ समाजले जिल्लाका विभिन्न ११ ठाउँमा आयोजना गरेको बृहत् स्वास्थ्य शिविरमा छ हजार ६३८ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन् ।
खोटाङ घर भइ बेलायतमा बसोबास गर्दै आएका खोटाङ्गेहरुको संस्था ‘खोटाङ सेवा समाज बेलायत’ले यही चैत–१६ गतेदेखि २३ गतेसम्म जिल्लाका विभिन्न ठाउँमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो । विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्यकर्मीको टोलीले हरेक ठाउँमा दुई÷दुई दिन निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएका थिए ।
समाजले आयोजना गरेको पहिलो चरणको शिविर जिल्लाका पाँच स्थानमा एकैसाथ सञ्चालन भएको थियो । साकेला गाउँपालिकाको साकेला आधारभूत अस्पतालमा आयोजित शिविरमा ५११ जना, खोटेहाङ गाउँपालिकाको खोटाङबजार स्वास्थ्य चौकीमा आयोजित शिविरमा ७०३ जना, जन्तेढुङ्गा गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा आयोजित शिविरमा ४८३ जना, रावाबेँसी गाउँपालिकाको हरमटारमा आयोजित शिविरमा ५६० जना र ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्क बजारमा आयोजित शिविरमा ६५८ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएको आयोजक खोटाङ सेवा समाज बेलायतका महासचिव राजेन रामजङ राईले जानकारी दिनुभएको छ ।
चैत–२० र २१ गते हलेसी तुवाचुङ नगरपालिकाको दुर्छिममा आयोजना गरिएको शिविरमा ५३१ जना, बराहपोखरी गाउँपालिकाको धर्तुङमा आयोजना गरिएको शिविरमा ३७४ जना, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको ओख्रेडाँडागाउँमा आयोजित शिविरमा ७९१ जना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडामा आयोजित शिविरमा ५०१ जनाले सेवा लिएका छन् । यस्तै, चैत–२२ र २३ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकै वडा नं. १४ बुइपामा आयोजित शिविरमा ८४० जना र केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारमा आयोजित शिविरमा ६८६ जनाले सेवा लिएका छन् ।
शिविरमा गाइनोक्लोजिस्ट, पेडियाट्रिक, जनरल फिजिसियन, दन्त रोग, हाडजोर्नी, ग्यास्ट्रोलोजी लगायत रोगको निःशुल्क उपचार र औषधि वितरण गरिएको आयोजक खोटाङ सेवा समाज बेलायतका अध्यक्ष डा. प्रमोद कोयी राईले जानकारी दिनुभएको छ । “शिविरमा सहभागी भएका बिरामीलाई निःशुल्क उपचारका साथै औषधिसमेत निःशुल्क वितरण गरिएको छ । शिविरमा ४५ जना विशेषज्ञ चिकित्सकसहित १३० जना स्वास्थ्यकर्मी परिचालन गरिएको थियो”, उहाँले भन्नुभयो, “जिल्लाका ११ ठाउँमा आयोजना गरिएको शिविरमा करिब रु तीन करोड दश लाख बराबरको रकम खर्च भएको छ । जिल्लामा आयोजना गरिएको बृहत् स्वास्थ्य शिविर सफल पार्न सहयोग गर्नुहुने सबैलाई आयोजकको तर्फबाट धन्यवाद ज्ञापन गर्दछौँ ।”
जिल्लाका दशवटै स्थानीय तहमा सञ्चालन गरिएको बृहत स्वास्थ्य शिविर नेपाल सरकारका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले चैत–१४ गते काठमाडौँमा उद्घाटन गर्नुभएको थियो । जिल्लामा सञ्चालित बृहत् स्वास्थ्य शिविरको औपचारिक समापन चैत–२४ गते दिक्तेलस्थित शुभम् फाउण्डेशनमा गरिने आयोजकले जनाएको छ ।
प्रतिनिधिसभा सदस्य एवम् कोशी प्रदेश सरकारका पूर्वमन्त्री रामकुमार राई ‘पासाङ’ले औपचारिक रुपमा समापन गर्नुहुने कार्यक्रममा आयोजकले ‘खोटाङ नागरिक सम्मान र खोटाङ प्रतिभा पुरस्कार–२०८०’समेत वितरण गर्ने जनाएको छ । समाजले यस वर्ष शिक्षाविद एवम् समाजसेवी चतुरभक्त राईलाई खोटाङ नागरिक सम्मान र कवि चन्द्र रानोहँछालाई खोटाङ प्रतिभा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।
नगद रु एक लाख राशी र ताम्रपत्रसहितको नागरिक सम्मान तथा रु ५० हजार राशी र ताम्रपत्रसहितको प्रतिभा पुरस्कार आगामी चैतमा दिक्तेलमा कार्यक्रम गरेर हस्तान्तरण गर्ने निर्णय गरिएको खोटाङ नागरिक सम्मान तथा प्रतिभा पुरस्कार कोष विभागका संयोजक डिल्लीराम राईले जानकारी दिनुभएको छ । शिक्षा, समाजसेवा र साहित्यका माध्यमबाट आफ्नो माटो, समाज र राष्ट्रलाई पु¥याएको योगदानको कदरस्वरुप समाजसेवी चतुरभक्त र साहित्यका क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरुप कवि रानोहँछालाई सम्मान एवम् पुरस्कृत गर्ने तयारी गरिएको आयोजकले जनाएको छ ।
रोजगारीको सिलसिलामा बेलायतमा बसोबास गरेपनि आफूहरु खोटाङ्गे भएकाले खोटाङ्गेको समस्यालाई समाधान गर्न आफूहरुको पनि उत्तिकै जिम्मेवारी हुने उनीहरुले बताउँदै आएका छन् । जिल्लाका विभिन्न ठाउँमा स्थायी घर भइ बेलायतमा बसोबास गर्दै आएका खोटाङ्गेहरुले चन्दा सङ्कलन गरेर वि.सं. २०७३ चैत्र–२६ गते खोटाङलाई सातवटा एम्बुलेन्स निःशुल्क उपलब्ध गराएको थियो ।