प्रहरी चौकी खार्पाको कार्यालय भवन निर्माणको काम अन्तिम चरणमा

Halesi Khabar
133 Shares

खोटाङ, २७ चैत । प्रहरी चौकी पार्खाको कार्यालय भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । रावाबेँसी गाउँपालिका–२ खार्पामा निर्माणाधीन प्रहरी चौकीको सुविधा सम्पन्न तीनतले कार्यालय भवन निर्माणको काम ८० प्रतिशत पूरा भएको ठेकेदार कम्पनी कालिका निर्माण सेवा काठमाडौँले जनाएको छ ।

निर्माणाधीन प्रहरी चौकी भवनको तीनवटै तला ढलान तथा पर्खालको काम सम्पन्न गरेर प्लास्टर गर्ने काम भइरहेको पाइएको छ । प्रहरी प्रधान कार्यालयमार्फत नेपाल सरकार, अर्थमन्त्रालयबाट प्राप्त भ्याटसहित रु दुई करोड ९५ लाख ३२ हजार ४१८ मा प्रहरी चौकी खार्पाको भवन निर्माणको काम थालिएको हो ।

निर्माणाधीन प्रहरी चौकीको भुइँतलामा महिला÷पुरुष हिरासत, कार्यालय प्रमुखको कार्यकक्ष र सुरक्षा गार्ड (सुरक्षामा खटिने प्रहरी), दोस्रो तलामा महिला÷पुरुष ब्यारेक र तेस्रोमा कार्यालय प्रमुखको आवास र सञ्चार कक्ष रहने प्राविधिक स्टीमेटमा उल्लेख छ । बाहिरी भागमा एउटा भान्छाघर (मेस), एउटा हावाघर (प्रतिक्षालय), दुई ट्वाइलेट (सौचालय), एउटा पानी ट्याङ्की र प्रवेशद्धार निर्माण हुने जनाइएको छ ।

निर्माणाधीन अवस्थामा रहेको प्रहरी चौकी खार्पाको भवन तोकिएकै मितिमा सम्पन्न गर्न ठेकेदार कम्पनीलाई ताकेता गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभएको छ । यद्यपि, उक्त निर्माणाधीन प्रहरी चौकीको भवन निर्माणमा कामको गति हेर्दा तोकिएकै मितिमा सम्पन्न हुने सम्भावना नरहेको स्थानीय बासिन्दाले बताएका छन् ।

घेराबारसहितको निर्माणाधीन प्रहरी चौकी भवन वर्ष दिनमा सम्पन्न गर्नेगरी वि.सं. २०७९ मङ्सिर–२० गते ठेकेदार कम्पनीले सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले तोकिएको समयमा निर्माणाधीन प्रहरी चौकी भवन निर्माणको काम सम्पन्न नगरेपछि वि.सं. २०८० मङ्सिर–१९ गते छ महिनाको म्याद थप गरिएको जनाइएको छ ।

पहिलो पटक थप गरिएको म्याद वि.सं. २०८१ जेठ मसान्तमा सम्पन्न हुन्छ । तर, निर्माणाधीन भवनको प्रगति हेर्दा थप गरिएको मितिमा सम्पन्न हुने सम्भावना छैन ।

 

निर्माणाधीन प्रहरी चौकी भवन थप गरिएको मितिभित्रै सम्पन्न गर्नेगरी निर्माणको कामलाई तीव्रता दिइएको ठेकेदार कम्पनीका प्रोप्राइटर गजेन्द्रप्रसाद काफ्लेले जानकारी दिनुभएको छ । “भौतिक संरचना निर्माणको काम सम्पन्न भइसकेको छ । प्लास्टर, रङरोगन लगायतका काम पनि तीव्रगतिमा भइरहेको छ”, उहाँले भन्नुभयो, “सम्पन्न गरेको कामको भुक्तानी कार्यालयले दिन सकेको छैन । बजेटको कारणले निर्माणको काममा केही ढिला भएको छ । यद्यपि, तोकिएकै मितिमा सम्पन्न गर्ने तयारीमा छौँ ।”

खार्पामा सञ्चालित प्रहरी चौकी भवन निर्माणका लागि स्थानीय बासिन्दाले पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको छन् । स्थानीय बासिन्दाबाट चन्दा सङ्कलन गरेर रु तीन लाखमा खरिद गरिएको जग्गा भवन निर्माणका लागि प्रहरी चौकीलाई निःशुल्क उपलब्ध गराइएको वडाध्यक्ष डोलराज बस्नेतले जानकारी दिनुभएको छ ।

वि.सं. वि.सं. २०७६ सालमा स्थापना भएको प्रहरी चौकी खार्पाको कार्यालय अहिले तत्कालीन गाउँ विकास समिति (गाविस)को भवनमा सञ्चालन भइरहेको छ । वि.सं. २०५४ सालमा ढुङ्गा माटोले बनेको दुईतले गाविस भवनमा सञ्चालित प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकसहित १५ जनाको दरबन्दी छ ।

 

 

 

तपाईको प्रतिक्रिया