एमाले खोटाङको आठौँ जिल्ला अधिवेशन : अध्यक्षमा दंगाल र राईको उम्मेदवारी दर्ता

Halesi Khabar
0 Shares

खोटाङ, २९ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरु भएको छ । चैत–२८ गते बुधबार औपचारिक रुपमा उद्घाटन गरिएको एमाले खोटाङको आठौँ जिल्ला अधिवेशन अन्तरगत निर्वाचन समिति गठन गरेर नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरु गरिएको हो ।

प्रमुख निर्वाचन अधिकृत लालप्रसाद घिमिरे नेतृत्वमा गठित निर्वाचन समितिले निर्वाचन प्रक्रिया थालेसँगै जिल्ला अध्यक्षका लागि वर्तमान अध्यक्ष रामप्रसाद दंगाल र वर्तमान उपाध्यक्ष देवबिक्रम राईले उम्मेदवारी दर्ता गराउनुभएको छ । जिल्ला सचिवालय सदस्य एवम् दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख लोकेन्द्र राई प्रस्तावक र एमाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका कार्यसमिति अध्यक्ष गोपालचन्द्र आचार्यको समर्थनमा दंगालले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

अध्यक्षका अर्का उम्मेदवार राईको प्रस्तावकमा प्रकाश पौडेल र समर्थकमा अर्जुन रोका रहनुभएको छ । वर्ममान अध्यक्ष दंगाललाई केन्द्रीय सदस्य उषाकला राई, रमेश पौडेल, खगेन्द्र राई लगायतको साथ रहेको छ भने, वर्तमान उपाध्यक्ष राईलाई पोलिटब्यूरो सदस्य विशाल भट्टराई लगायतको साथ रहेको छ ।

उपाध्यक्षमा वर्तमान सचिव कुमार आचार्य र सचिवालय सदस्य उपिनकुमार राईको उम्मेदवारी परेको छ । सचिवमा भने, वर्तमान उपसचिव सुरेन्द्रकुमार राईको एकल उम्मेदवारी परेको समाचार स्रोतले जनाएको छ ।

खुला उपसचिवमा गीरेन्द्रबहादुर राई, कमल ढकाल, गोपालचन्द्र आचार्य, गोपीकृष्ण खड्का, दिलचक्र राई, दिनेश राई, युवराज रिजाल र राजन बञ्जराको उम्मेदवारी परेको छ । समावेशी उपसचिवमा कविता राई र भगवती प्रधानको उम्मेदवारी परेको समाचार स्रोतले जनाएको छ ।

उम्मेदवारी दर्ता गर्ने नेताहरुको अन्तिम नामावली निर्वाचन समितिले अझै प्रकाशन गरेको छैन । नेतृत्व चयनका लागि नेताहरुले सहमतिको प्रयास गरिरहेकाले उम्मेदवारको नामावली प्रकाशनमा ढिलाइ भएको एक नेताले बताउनुभएको छ ।

उम्मेदवारी दर्ता गराउने नेताहरुले तत्काल निर्वाचनको प्रक्रिया अगाडि बढाउन निर्वाचन समितिलाई दबाब दिइरहेका छन् । निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेपछि मात्र क–कसले कुन–कुन पदमा उम्मेदवारी दिएका छन् भन्ने टुङ्गो लाग्ने एमालेले जनाएको छ ।

एमालेका केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उद्घाटन गर्नुभएको आठौँ जिल्ला अधिवेशन दिक्तेलको माटिकोरेस्थित कभर्डहलमा जारी छ । अधिवेशनमा स्थायी समिति सदस्य एवम् कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राई, पोलिटब्यूरो सदस्य विशाल भट्टराई, खोटाङ इन्चार्ज एवम् खानेपानीमन्त्री राजेन्द्र राई लगायतको उपस्थिति रहेको छ ।

अधिवेशन उद्घाटन कार्यक्रमका वक्ताहरुले एमाले खोटाङ पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए । माथिल्लो निकायका नेताहरुको आग्रहलाई अस्वीकार गर्दै जिल्ला नेताहरु चुनावी प्रक्रियामा सभागी भएसँगै आफ्नो पक्षमा माहोल बनाउन दुवै समूहबीच प्रतिनिधि तानातानको कसरत शुरु भएको छ ।

हरेक तीन÷तीन वर्षमा जिल्ला अधिवेशन गर्ने पार्टीको विधान अनुसार आयोजना गरिएको आठौँ जिल्ला अधिवेशनमा ५७९ प्रतिनिधि सहभागी रहेको एमाले खोटाङले जनाएको छ । अधिवेशनले पाँचजना पदाधिकारीसहित ९० सदस्यीय जिल्ला कार्यसमिति चयन गर्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया