खोटाङ, ३ वैशाख । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित निभारेका ३१ वर्षीय धनजित राईलाई छुरा प्रहार गरी हत्या गर्ने तीन युवा पक्राउ परेका छन् । यही वैशाख–१ गते राति करिब ८ः०० बजेको समयमा स्थानीय भीमबहादुर बस्नेतको मकैबारीमा छुरा प्रहारगरी धनजितको हत्या गरेर फरार भएका सोही ठाउँका २२ वर्षीय विकास राई, १८ वर्षीय आशन राई र २८ वर्षीय गणेश राईलाई प्रहरीले तीन दिनपछि सोमबार पाथेकाबाट पक्राउ गरेको हो ।
धनजितलाई छुरा प्रहारगरी घटनास्थलमै हत्या गरेर फरार भएका तीन युवालाई सोही नगरपालिकाको वडा नं. १० पाथेकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभएको छ । “धनजितको हत्यापति फरार भएका उनीहरु तीनैजनालाई पाथेकास्थित भुसुन्दाका धनपति राईको घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको छ । लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएका उनीहरु तीनैजनालाई कर्तव्य ज्यानसम्बन्धी मुद्धा दर्ता गरेर कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ”, उहाँले भन्नुभयो, “उनीहरुले धनजितको हत्या के कारणले गरेका हुन् भन्ने अनुसन्धान भइरहेको छ । तर, उनीहरु तीनैजनाले धनजितको हत्या आफूहरुले नै गरेको स्वीकार गरिसकेका छन् ।”
धनजितको हत्यापछि भागेर भुसुन्दा पुगेका उनीहरु मावली घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रनाउ खड्काले जानकारी दिनुभएको छ । घटना भएको तीन दिनपछि पक्राउ परेका तीनैजना युवालाई थप अनुसन्धनाका लागि जिल्ला अदालत खोटाङमा हाजिर गराएर म्याद थप गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ ।
साँझको समयमा भएको घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरीक्षक तथा प्रहरीचौकी जालपा र प्रहरीचौकी तालखर्कबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा प्रहरीको टोली घटनास्थलमा खटिएका थिए । धनजितको हत्यापछि राति नै भागेका उनीहरु तीनैजनालाई एउटै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मादक पदार्थ सेवन गरेका तीन युवाले भीमबहादुरलाई घरैमा गएर कुटपिट गर्न थालेपछि गुहार दिन जाँदा धनजितमाथि आक्रमण भएको स्थानीय बासिन्दाले बताएका छन् । छुरा प्रहारबाट घाइते बनेका धनजितले आफू घाइते भएपछि घटनास्थलबाट साहिला भाइलाई ७ः३० बजेको समयमा फोन सम्पर्क गरेको बताइएको छ ।
भाइसँगको फोन सम्र्कपछि खोज्दै जाँदा धनजितलाई मकैबारीमा मृत फेला पारिएको स्थानीय उमेश राईले जानकारी दिनुभएको छ । मृतक धनजितको शव सोही राति जिल्ला अस्पताल खोटाङमा ल्याएर आइतबार परीक्षण गरपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
मृतक धनजित र भीमबहादुर गाउँमा सँगै मिलेर मिस्तिरी (घर बनाउने काम) गर्दै आएको बुझिएको छ । तीन युवाको आक्रमणमा परेका भीमबहादुर र उहाँकी श्रीमती अप्सर भनिने प्रेमकुमारी पौडेल (बस्नेत)समेत सामान्य घाइते भएका छन् ।
धनजितको हत्यामा संलग्न तीन युवा गाउँमा मादक पदार्थ सेवन गरेर झैझगडा गर्ने, अर्काको खोरमा राखिएको कुखुरा चोरेर खाने लगायतका क्रियाकलापमा सक्रिय रहेको छिमेकीहरुले बताएका छन् । उनीहरु तीनैजना पटक–पटक जिल्ला प्रहरी कार्यालय खोटाङको प्रहरी हिरासतमा बसेर छुटेको बुझिएको छ ।
विकास र आशन वर्षदिनअघि वि.सं. २०८० वैशाख–३ गते अभद्र व्यवहार मुद्दामा पक्राउ परेर तारिख छुटेका थिए । अर्का आरोपित गणेश चोरी मुद्धामा कारागार बसेर छुटेको स्थानीय बासिन्दाले बताएका छन् ।