साल्पा–सिलिचुङमा ‘सुम्निमा–पारुहाङ र नछुङ’को प्रतिमा स्थापना

Halesi Khabar
462 Shares

खोटाङ, ९ वैशाख । धार्मिक तथा पर्यटकीयस्थल साल्पा–सिलिचुङमा किराती पुर्खा ‘सुम्निमा–पारुहाङ र नछुङ (धामी)’को प्रतिमा स्थापना गरिएको छ । खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बूको सङ्गमस्थलमा अवस्थित पर्यटकीयस्थल सिचिलुङमा सुम्निमा र पारुहाङ तथा साल्पापोखरीमा नछुङको प्रतिमा स्थापना गरिएको हो ।

किरात समुदायको धार्मिक तथा सांस्कृतिकस्थल मानिने साल्पा–सिलिचुङमा स्थापना गरिएको सुम्निमा–पारुहाङ र नछुङको प्रतिमा देश÷विदेशमा रहेका किराती तथा गैरकिरातीबाट सङ्कलन गरिएको रकमबाट निर्माण गरिएको आयोजक साल्पा–सिलिचुङ सरोकार संरक्षण तथा प्रवद्र्धन केन्द्र अन्तर्राष्ट्रिय समितिले जनाएको छ । औपचारिक कार्यक्रमसहित स्थापना गरिएको सुम्निमा–पारुहाङ र नछुङको प्रतिमा नेपाल सरकारका निवर्तमान पर्यटनमन्त्री सुदन किरातीले अनावरण गर्नुभएको हो ।

साल्पा–सिलिचुङ किरातीहरुको मुन्दुमीस्थल एवम् किरात धार्मिक तथा सांस्कृतिकस्थल भएकाले संरक्षण र प्रवद्र्धन गर्न सुम्निमा–पारुहाङ तथा नछुङको प्रतिमा स्थापना गरिएको समितिका अध्यक्ष राजेन खिम्बुले राई ‘मूलघरे कान्छा’ले बताउनुभएको छ । “साल्पा–सिलिचुङ विश्वभर छरिएर रहेका किरातीहरुको मुन्दुम तथा रिसियामा आउँछ । यसलाई संरक्षण र प्रवद्र्धन गर्दै विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने उद्देश्य राखिएको छ”, उहाँले भन्नुभयो, “किराती मुन्दुम अनुसार साल्पा–सिलिचुङ नै किरातीहरुको सृष्टि र मुन्दुमको उत्पत्ति केन्द्र भएको जनविश्वास छ । यसले किरातीहरुलाई सांस्कृतिकरुपले एकतामा जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।”

प्रतिमा स्थापना कार्यक्रमका लागि विश्वभर छरिएर रहेका अभियान्ताहरु यही वैशाख–५ गते बेलुका साल्पा–सिलिचुङ पुगेका थिए । मुन्दुमीविद् तथा धामी÷झाँक्रीसहित त्यहाँ (साल्पा–सिलिचुङ) पुगेका अभियान्ताहरुको टोलीले वैशाख–६ र ७ गते बृहत मुन्दुमी कार्यक्रम गरेर किराती पुर्खा तथा मुन्दुमविद्को प्रतिमा स्थापना गरेका हुन् ।

साल्पा–सिलिचुङको चौतर्फी विकासका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरेर स्तरोन्नतिको काम शुरु गरिएको समितिले जनाएको छ । समितिले तयार पारेको डिपिआर अनुसार साल्पा–सिलिचुङ परिसरमा सुम्निमा–पारुहाङका साथै मुन्दुमी पात्रहरुको मुर्ति तथा प्रतिमा, वाबु (चिण्डो) आकारको मुन्दुमी गेट (प्रवेशद्धार), माङखिम तथा मुन्दुम सङ्ग्राहलय लगायतका भौतिक संरचनाहरु निर्माण गरिनेछ ।

‘सृष्टिको उत्पत्ति केन्द्र मुन्दुमको प्राण, साल्पा–सिलिचुङ संरक्षण हाम्रो अभियान’ भन्ने नाराका साथ शुरु गरिएको अभियानमा नेपालसहित बेलायत, हङकङ, कोरिया, अमेरिका, अस्ट्रेलिया, जापान, इजरायल लगायत विश्वभर छरिरहेका नेपालीहरु जोडिएका छन् । बृहत् योनासहित शुरु गरिएको अभियानका लागि साउदी अबरमा रहनुभएका भोगिन्द्र चाम्लिङ राईको संयोजकत्वमा आर्थिक सङ्कलन समिति गठन गरिएको छ ।

साल्पा–सिलिचुङको चौतर्फी विकास गर्ने उद्देश्यसहित शुरु गरिएको अभियानको अध्ययन तथा अनुसन्धानका लागि यसअघि अध्ययन तथा अनुसन्धान समितिसमेत निर्माण गरिएको थियो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्ताम्छाली, मुन्दुम अध्येताहरु कमलजङ्ग राई, चन्द्र हतुवाली, भोगिराज चाम्लिङ र प्रविण पुमा राई, किरात अध्येता शालिक शतासक राई तथा सांस्कृति अभियान्ता भद्रगोल किराती उक्त अध्ययन तथा अनुसन्धान समितिमा रहनुभएको छ ।

धार्मिक तथा पर्यटकीयस्थल सिचिलुङबाट सर्वोच्च शिखर सगरमाथा, मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण, मेरापिक हिमाल लगायत हिमशृङ्खला, तराईका फाँट तथा विभिन्न नदी, वनजङ्गल र किराती बस्तीहरु प्रष्ट देख्न सकिन्छ । साल्पापोखरीबाट उत्तरपूर्वी भेगमा पर्ने सिलिचुङको उचाइ समुन्द्री सतहदेखि चार हजार १५५ मिटर अग्लो रहेको छ ।

सिलिचुङ आसपासमा रहेका टेम्के, मैयुङ, लौरे, चिलिमढुङ्गा लगायतका डाँडामध्ये सबैभन्दा अग्लो डाँडाका रुपमा स्थापित छ । टेम्के समुन्द्री सतहबाट तीन हजार १६५ मिटर उचाइमा छ भने, मैयुङको उचाइ तीन हजार ३३३ मिटर अग्लो छ ।

किरात समुदायको आस्थाको केन्द्र मानिने सिलिचुङको फेदमा अवस्थित साल्पापोखरीमा आन्तरिक तथा बाह्य पर्यटकहरु आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वासका साथ पूजाआजा गर्दै आएका छन् । साल्पापोखरीमा हरेक वर्ष चार पटक (वैैशाख, भदौ, कातिक र फागुन महिनाको पूर्णिमामा) मेलासमेत लाग्ने गरेको छ ।

बिना मुहान तथा बिना निकासको पानी जमेर बनेको साल्पापोखरीमा लाग्ने मेलामा खोटाङ, भोजपुर, सङ्खुवासभा, धनकुटा, सोलुखुम्बूलगायत विभिन्न जिल्लाबाट भक्तजनहरु पुग्ने गरेका छन् । साल्पापोखरीमा पूजाआजा गर्दा बोली नफुट्नेहरु बोल्न सक्ने, सन्तान नहुनेलाई सन्तान प्राप्ति हुने, धामी तथा झाँक्रीहरुले मुन्दुमी शक्ति प्राप्त गर्ने लगायतका धार्मिक जनविश्वास रहिआएको छ ।

कचौरा आकारमा फैलिएको साल्पापोखरी समुद्री सतहदेखि तीन हजार ६७२ मिटर उचाइमा अवस्थित छ । पहिलोपटक सगरमाथा चढ्ने एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले साल्पापोखरी कै मार्ग प्रयोग गरेको बताइएको छ ।

नेपाल सरकारले निर्धारण गरेको घुम्नै पर्ने १०० पर्यटकीय गन्तव्यभित्र पर्ने मुन्दुम पदमार्ग यो क्षेत्र (साल्पा–सिलिचुङ)सम्म विस्तार गरिएको छ । मुन्दुम पदमार्गले छोएको स्थानलाई जोड्दै चारवटै जिल्ला (खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्ब)का स्थानीय तहहरुले आ–आफ्नो क्षेत्रमा पदमार्गसमेत निर्माण गरिहेका छन् ।

प्रचारप्रसारको अभावमा ओझेलमा रहेको धार्मिक एवम् पर्यटकीयस्थल साल्पा–सिलिचुङ आसपास निर्माण गरिएका पदमार्गमा पछिल्लो समय होटल तथा होमस्टे (घरबास)हरुसमेत विस्तार हुन थालेका छन् । होटल तथा होमस्टे विस्तार हुन थालेपछि मुन्दुम पदमार्ग हुँदै साल्पा–सिलिचुङ जाने आन्तरिक तथा बाह्य पर्यटकसमेत वृद्धि हुँदै गएको स्थानीय बासिन्दाहरुले बताएका छन् ।

होटल तथा होमस्टे स्थापना हुनुअघि साल्पा–सिलिचुङ जाने आन्तरिक तथा बाह्य पर्यटकहरु चौरीगोठ तथा भेँडीचोकहरुमा बास बस्दै आएका थिए । धार्मिक आस्थाको रुपमा मात्र नभइ प्राकृतिकरुपमा समेत पर्यटकीय गन्तव्यमा पर्ने साल्पा–सिलिचुङ जाने मुन्दुम पदमार्ग आसपास ठूल्ठूला घाँसेमैदान, चौरीखर्क, भेँडीचोक, घोडचढी लगायतका दृष्य प्रत्यक्ष अवलोकन गर्न पाइन्छ ।

तपाईको प्रतिक्रिया