विराटनगर, ९ वैशाख । नेपाल स्रष्टा समाजले विराटनगर महानगरपालिका–३ निवासी ८६ वर्षीया स्रष्टा लता गिरीलाई नगदसहित सम्मान गरेको छ । सानै उमेरदेखि शिक्षा तथा साहित्यिक क्षेत्रमा रुचि राखेर काम गर्दै आउनुभएकी गिरीलाई नगद रु १५ हजारसहित सम्मान गरिएको हो ।
विराटनगरमा आयोजित कार्यक्रममा गिरीलाई संस्थाका अध्यक्ष ओम श्रेष्ठ ‘रोदन’, संस्थाका कोशी अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’, साहित्यकर्मी बलराम पोखरेल, विवश पोखरेल, सरला चापागाईंलगायतले माला तथा दोसल्ला ओढाएर सम्मान गरेका थिए । कार्यक्रममा साहित्यकार विवश पोखरेलले गिरीका सामाजिक तथा साहित्यिक जीवनका बारेमा प्रकाश पार्नुभएको थियो ।
गिरीका तीन भजन सङ्ग्रह प्रकाशित छन् भने, गीत तथा कविताहरु पनि रचना गर्नुभएको छ । कार्यक्रममा नेपाल स्रष्टा समाजका केन्द्रीय अध्यक्ष श्रेष्ठले संस्थाले गरिरहेको गतिविधिको बारेमा प्रकाश पार्नुभएको थियो ।
संस्थाले कृतिहरु प्रकाशन गर्दै साहित्यकर्मीलाई सम्मान गर्ने कार्यक्रमहरु गर्दै आएको छ । सम्मान कार्यक्रममा अगुवा बुद्धिजिवी दिनेश श्रेष्ठ, दिनेश सुवेदी, साहित्यकार सिमाआवाष, सुभलक्ष्मी लम्साललगायतको उपस्थिति रहेको थियो ।