खोटाङ, ११ वैशाख । यही वैशाख–३१ गतेबाट दिक्तेलमा सञ्चालन हुने ‘बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव–२०८१’का लागि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको संयोजकत्वमा महोत्सव मुल आयोजक समारोह समिति गठन गरिएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङको आयोजनामा वैशाख–३१ गतेदेखि जेठ–१० गतेसम्म सञ्चालन हुने बृहत् महोत्सव सम्पन्न गर्नका लागि गठन गरिएको १५ सदस्यीय मुल आयोजक समारोह समितिको सदस्य सचिवमा प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राई रहनुभएको छ ।
एघार दिनसम्म सञ्चालन हुने महोत्सवका लागि नौँवटा उपसमिति गठन गरिएको छ । नेपाल पत्रकार महासङ्घको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको संयोजकत्वमा शान्ति सुरक्षा व्यवस्थापन, खोटाङ यातायात प्रा.लि.का महासचिव रामकुमार हिङमाङको संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
यस्तै, जिल्ला खेलकुद विकास समितिका प्रमुख लीलाभक्त केसी संयोजक, वरिष्ठ कराते प्रशिक्षक बिचारी तामाङ सहसंयोजक र फुटबल भलिबल प्रशिक्षक सागर राई सदस्य रहेको अतिथि स्वागत सत्कार उपसमिति गठन गरिएको छ । नेपाल आदिबासी जनजाति जिल्ला समन्वय परिषद्का अध्यक्ष फुर्वा शेर्पाको संयोजकत्वमा साँस्कृतिक झाँकी व्यवस्थापन उपसमिति, स्वास्थ्य कार्यालय खोटाङको संयोजकत्वमा स्वास्थ्य व्यवस्थापन उपसमिति, सोनामहाङ राईको संयोजकत्वमा ध्वनी व्यवस्थापन उपसमिति, तेक्वान्दो प्रशिक्षक मोहन राईको संयोजकत्वमा स्वयम्सेवक व्यवस्थापन उपसमिति तथा दिपक श्रेष्ठ र मिलन कसजु रहेको सचिवालय व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
अर्को बैठकबाट उपहार तथा मायाँको चिनो, सम्मानपत्र, ताम्रपत्र, कदरपत्र डिजाईन, ट्रफी, पदक र प्रमाणपत्र, ब्यानर तथा पम्प्लेट निर्माण, मिडिया पार्टनरसँग समन्वय र सहकार्य गर्नका लागि थप उपसमिति गठन गरिने जनाइएको छ । जिल्लामा ‘स्पोर्ट कल्चर’को विकास गर्दै विभिन्न विद्याका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पु¥याउने लक्ष्यका साथ प्रतिष्ठानले बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगितिक तथा पर्यटन महोत्सव–२०८१ सञ्चालन गर्न लागेको हो ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सञ्चालन हुने बृहत् महोत्सव अन्तरगत वैशाख–३१ गतेदेखि जेठ–१ गतेसम्म एथ्लेटिक्स, जेठ–३ गते राष्ट्रिय कविता लेखन प्रतियोगिता, जेठ–६ गते खुला गायन प्रतियोगिता र जेठ–८ गतेदेखि १० गतेसम्म खुला राष्ट्रिय कराँते प्रतियोगिता सञ्चालन गर्ने आयोजकले जनाएको छ ।
एथ्लेटिक्सतर्फ आठ इभेन्टस् (विद्या)मा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ । बाह्र वर्षमुनिका छात्रछात्रा र ६० वर्षमाथिका पुरुषका लागि एक÷एक माइल (१६०० मिटर) दौड, आमाहरुको लागि तीन किलोमिटर दौड, १५ वर्षमुनिका छात्रछाका लागि पाँच किलोमिटर दौड, ३५ वर्षमाथिका नेता, जनप्रतिनिधि, पत्रकार, कर्मचारी र शिक्षकका लागि पाँच किलोमिटर दौड, १५ वर्षमाथिका खुला महिला÷पुरुषका लागि दश किलोटिर दौड र खुला महिला÷पुरुषका लागि २१ दशमलव ०९७ किलोमिटर हाफ म्याराथन प्रतियोगिता आयोजना गरिएको जनाइएको छ ।
हाफ म्याराथनमा प्रथम, द्धितीय, तृतीय, चौथो, पाँचौँ, छैटौँ र सातौँ स्थानसम्म ओगट्न सफल महिला÷पुरुष धावकलाई समानरुपले क्रमशः रु ७५ हजार, रु ५० हजार, रु २५ हजार, रु १५ हजार, रु दश हजार, रु सात हजार र रु पाँच हजार नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । बाह्र वर्षमुनिका छात्रछात्रा र ६० वर्षमाथिका पुरुष, आमाहरु, १५ वर्षमुनिका छात्रछात्रा, ३५ वर्षमाथिका नेता, जनप्रतिनिधि, पत्रकार, कर्मचारी र शिक्षक तथा १५ वर्षमाथिका खुला महिला÷पुरुष दौड प्रतियोगिताका विजयीलाई समेत नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने महोत्सवको व्यवस्थापकीय भूमिकामा रहेको नेपाल सितोरियो कराँते सङ्घ खोटाङका अध्यक्ष मिलन कसजूले जानकारी दिनुभएको छ ।
हाफ म्याराथन र दौड प्रतियोगिताका लागि रु दश लाख २० हजार ५०० बराबरको नगद पुरस्कार व्यवस्था गरिएको आयोजकले जनाएको छ । एथ्लेटिक्सतर्फको प्रतियोगिता एथ्लेटिक्स परिवार नेपाल र नेपाल एथ्लेटिक्स सङ्घसँगको समन्वय तथा सहकार्यमा सञ्चालन गरिने जनाइएको छ ।
राष्ट्रिय कविता लेखन तथा गायन प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय, चौथो र पाँचौँ स्थान हाँसिल गर्ने प्रतियोगीलाई क्रमशः रु ४० हजार, रु २५ हजार, रु १७ हजार, रु ११ हजार र रु सात हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । यी दुई विद्याका प्रतियोगिता खोटाङ कलाकार समाज काठमाडौँ, रावा–सावा प्राज्ञिक समाज नेपाल र ट्याम्के–तुवाचुङ प्रतिष्ठान खोटाङको सहकार्यमा सञ्चालन गरिने आयोजकले जनाएको छ ।
जेठ–६ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने राष्ट्रिय कराँते प्रतियोगितामा सातवटै प्रदेश, सोतोकान कराँते, गोजोरियो कराँते, वादोरिया कराँते र आयोजकसहित ११ टोली सहभागी हुने प्रष्ठिानका अध्यक्ष राईले जानकारी दिनुभएको छ । दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा आयोजना गरिने प्रतियोगितामा महिला÷पुरुष टोली प्रथम, द्धितीय, तृतीय र चौथोले क्रमशः रु एक लाख ११ हजार १११, रु ५५ हजार ५५५, रु ३३ हजार ३३३ र २२ हजार २२२ नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।
प्रतियोगिताका उत्कष्ट महिला÷पुरुष खेलाडीलाई समान रु २२ हजार २२२ तथा उत्कृष्ट व्यवस्थापकलाई रु ११ हजार १११ को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । कराँते विद्याका लागि रु दुई लाख ७७ हजार ७७६ नगद पुरस्कार व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आयोजना गरिएको बृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सव–२०८१’लाई निक्कै महत्वका साथ हेरिएको छ । दिक्तेल बजारमा आयोजना गरिएको बृहत् महोत्सव अवधिभरमा करोडौँको आर्थिक कारोबार हुने अपेक्षा गरिएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताउनुभएको छ ।
चन्दा सङ्कलन तथा दाताको भरमा आयोजना गरिएको महोत्सव सम्पन्न गर्न करिब रु ५२ लाख खर्च हुने आयोजकले जनाएको छ । खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रुपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन, सन् २०५० भित्र ओलम्पिक पदक जित्ने खेलाडी जिल्लामै उत्पादन गर्ने लगायतका उद्धेश्यसहित खेलकुद, साहित्यिक, साँगीतिक तथा पर्यटन महोत्सवको तयारी गरिएको हो ।