आफैले बालेको आगो अनियन्त्रित हुँदा ८५ वर्षीय वृद्धको जलेर मृत्यु

Halesi Khabar
245 Shares

खोटाङ, १२ वैशाख । सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा रावाबेँसी गाउँपालिका–१ कुभिन्डेस्थित हरम्टारका ८५ वर्षीय सिद्धिबहादुर श्रेष्ठको मृत्यु भएको छ । खेतमा जम्मा भएको झिक्रा तथा पत्कर डढाउन आफैले बालेको आगो अनियन्त्रित भएर स्थानीय हरमटार मैनाचउर सामुदायिक वनमा पसेपछि नियन्त्रण गर्न खोज्दा श्रेष्ठको बुधबार दिउँसो जलेर मृत्यु भएको हो ।

खेतबाट अनियन्त्रित भएर सामुदायिक वनमा फैलिएको आगोलाई गाउँले सबै मिलेर नियन्त्रण गरेपनि पुनः वनमा आगो बलेको देखेपछि नियन्त्रणमा गर्न जाँदा श्रेष्ठको जलेर मृत्यु भएको कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईले बताउनुभएको छ । “बिहान ११ बजेदेखि मृतक श्रेष्ठ घरबाट हराएका रहेछन् । घरैबाट हराएका श्रेष्ठलाई खोजी गर्नेक्रममा डढेलोले जलेर मृत्यु भएको अवस्थामा परिवारका भेटेका रहेछन्”, उहाँले भन्नुभयो, “मृतक श्रेष्ठको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ पठाइएको छ । अनियन्त्रित भएर सामुदायिक वनमा पुगेको डढेलो नियन्त्रण गर्न सकिएको छैन ।”

खेतमा बालेको आगो अनियन्त्रित भएर डढेलोको रुपमा फैलिएपछि नियन्त्रण गर्न स्थानीय बासिन्दासँगै प्रहरीसमेत परिचालन गरिएको जनाइएको छ । सामुदायिक वनमा लागेको डढेलो रावाबेँसी गाउँपालिकाको कार्यालय हरमटारभन्दा मुनिसम्म आइपुगेको स्थानीय बासिन्दाले बताएका छन् ।

गत साउनदेखि हालसम्म जिल्लामा ६४ वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभएको छ । “जिल्लामा दैनिकजसो आगलागीका घटना भइरहेका छन् । हालसम्म एकजनाको मृत्यु भएको छ भने, पाँचजना घाइते घएका छन्”, उहाँले भन्नुभयो, “जिल्लामा भएका १०८ वटा आगलागीका घटनामा हालसम्म रु चार करोड नौँ लाख २२ हजार ६०० क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । दैनिकजसो आगलागी भइरहेकाले उद्धार तथा स्थानीय बासिन्दालाई सचेत गराउन मातहतका प्रहरी परिचालन गरिएको छ ।”

दश स्थानीय तह रहेको खोटाङ जिल्लामा अधिकांश आगलागीका घटना सामुदायिक वनमा लागेको डढेलोबाट हुने गरेको पाइएको छ । स्थानीय बासिन्दा आफैले जानाजान सामुदायिक वनमा डढेलो लगाउँदा आगलागीका घटना हुने गरेको समाचार स्रोतको दाबी छ ।

हिउँदमा बोटबिरुवाबाट झरेका पापतिङ्गरले वर्षामा घाँस पलाउन नदिने भएपछि डढाउन स्थानीय बासिन्दा आफैले सामुदायिक वन क्षेत्रमा आगो लगाउने गरेको पाइएको छ । जङ्गलमा लगाइने आगो गाउँ पस्दा ठूलोमात्रामा जनधनको क्षति हुनुका साथै अरबौँको वनस्पति जलेर नष्ट हुने गरेको छ ।

सामुदायिक वनमा आगजनी गर्ने व्यक्तिलाई अहिलेसम्म सम्बन्धित निकायले कारबाहीको दायरामा ल्याउन सकेका छैनन् । सामुदायिक वन क्षेत्रमा जानाजान आगजनी गर्ने व्यक्तिलाई दुईदेखि पाँच वर्षसम्म कैद सजाय तथा रु २० देखि ५० हजारसम्म जरिवाना हुने मुलुकी अपराध संहिता २०७४ मा उल्लेख छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा यस वर्षमात्रै दर्जनौँ सामुदायिक वनमा डढेलो लागेको डिभिजन वन कार्यालय खोटाङले जनाएको छ । सामुदायिक वनमा लागेको डढेलोले पशुपन्छी, वनस्पती लगायत जलेर नष्ट हुँदा अरबौँको क्षति भइकेको डिभिजन प्रमुख पशुपति दाहालले जानकारी दिनुभएको छ ।

 

 

 

तपाईको प्रतिक्रिया