खोटाङ, १३ वैशाख । सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा बाराहापोखरी गाउँपालिका–१ बाराहापोखरीमा १३ वटा घर जलेर नष्ट भएको छ । विभिन्न सामुदायिक वनमा लागेको डढेलो बुधबार दिउँसो गाउँमा पस्दा मानिसको बसोबास नभएको तीनवटासहित १३ वटा घर, सातवटा मतान, दुईवटा गोठ, एउटा बाख्राखोर र एउटा भान्छाघर जलेर खरानी भएको हो ।
सामुदायिक वनमा लागेको डढेलो हावाहुरीका कारण गाउँ पस्दा भिरगाउँका मोहनलाल थापामगरको दुईवटा घर र मतान, पूर्णबहादुर मगरको एउटा घर र तीन मतान, भद्रसिं मगरको घर र दुईवटा गोठ, सुवास थापामगरको घर र मतान तथा मदन थापामगरको घर जलेको छ । यस्तै, डढेलोले डान्सिङटारका गंगामायाँ मगरको दुईवटा घर र दुईवटा मतान, ४० वटा बाख्रा, आधा तोला सुन, नगद रु ५० हजार लगायत जलेको वडाध्यक्ष ढकबहादुर कार्कीले जानकारी दिनुभएको छ ।
खोर्सानेका सुमन मगर र गहतेका लेखराज खतिवडाको घर नष्ट भएको छ । डढेलोले डाँडाखर्कका होमबहादुर कटवाल र पदमबहादुर कटवालको बसोबास नभएको घर जलेको छ । यस्तै, खोर्सानेका छकुमार राईको पनि बसोबास नभएको घर जलेको छ ।
रक्तमाला सामुदायिक वनमा लागेको डढेलेले भञ्ज्याङका बमबहादुर मगरको भान्छा घर र बाख्रा खोर खरानी भएको जनाइएको छ । डढेलो अझै पनि नियन्त्रण बाहिर रहेको वडाध्यक्ष कार्कीले जानकारी दिनुभएको छ ।
डढेलो डाँडाखर्क र खाल्लेबीच, पोखरी–राँकुली क्षेत्र तथा चुइयाँटार र रानाछापमा फैलिरहेको स्थानीय बासिन्दाले बताएका छन् । सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले डढेलो नियन्त्रणको प्रयास गरिरहेको स्थानीय भुवन श्रेष्ठले जानकारी दिनुभएको छ ।
बराहपोखरीमा भएको आगलागीमा क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभएको छ । “सामुदायिक वनमा लागेको डढेलो गाउँमा पसेपछि थप क्षति हुन नदिन रातभर प्रहरीलाई ड्युटीमा खटाइएको छ । बाँकी घरहरु सुरक्षित छन्”, उहाँले भन्नुभयो, “घटनास्थलमा खटिएका प्रहरीहरु आगलागी पीडितलाई सुरक्षित स्थानमा सार्नका साथै थप क्षति हुन नदिन रातभर जाग्राम बसेर लागीपरेका छन् । सामुदायिक वनमा लागेको डढेलो अझै नियन्त्रण बाहिर रहेकाले उद्धारमा समस्या भएको छ ।”
गत साउनदेखि हालसम्म जिल्लामा १०९ वटा आगलागीका घटना हुँदा रु चार करोड नौँ लाख २२ हजार ६०० क्षति भएको प्रहरीको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । जिल्लामा दैनिकजसो आगलागीका घटना भइरहेकाले उद्धार तथा स्थानीय बासिन्दालाई सचेत गराउन मातहतका सबै प्रहरी परिचालन गरिएको प्रनाउ खड्काले जानकारी दिनुभएको छ ।
दश स्थानीय तह रहेको खोटाङ जिल्लामा अधिकांश आगलागीका घटना सामुदायिक वनमा लागेको डढेलोबाट हुने गरेको पाइएको छ । स्थानीय बासिन्दा आफैले जानाजान सामुदायिक वनमा डढेलो लगाउँदा आगलागीका घटना हुने गरेको समाचार स्रोतको दाबी छ ।
हिउँदमा बोटबिरुवाबाट झरेका पापतिङ्गरले वर्षामा घाँस पलाउन नदिने भएपछि डढाउन स्थानीय बासिन्दा आफैले सामुदायिक वन क्षेत्रमा आगो लगाउने गरेको पाइएको छ । जङ्गलमा लगाइने आगो गाउँ पस्दा ठूलोमात्रामा जनधनको क्षति हुनुका साथै अरबौँको वनस्पति जलेर नष्ट हुने गरेको छ ।
सामुदायिक वनमा आगजनी गर्ने व्यक्तिलाई अहिलेसम्म सम्बन्धित निकायले कारबाहीको दायरामा ल्याउन सकेका छैनन् । सामुदायिक वन क्षेत्रमा जानाजान आगजनी गर्ने व्यक्तिलाई दुईदेखि पाँच वर्षसम्म कैद सजाय तथा रु २० देखि ५० हजारसम्म जरिवाना हुने मुलुकी अपराध संहिता २०७४ मा उल्लेख छ ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा यस वर्षमात्रै दर्जनौँ सामुदायिक वनमा डढेलो लागेको डिभिजन वन कार्यालय खोटाङले जनाएको छ । सामुदायिक वनमा लागेको डढेलोले पशुपन्छी, वनस्पती लगायत जलेर नष्ट हुँदा अरबौँको क्षति भइकेको डिभिजन प्रमुख पशुपति दाहालले जानकारी दिनुभएको छ ।