खोटाङ, १४ वैशाख । राष्ट्रिय महिला आयोगले खोटाङका स्थानीय तहमा गठित न्यायिक समितिका पदाधिकारी र सरोकारवालाबीच लैङ्गिक हिङ्सा निवारणसम्बन्धी अन्तरक्रिया गरेको छ । आयोगले जिल्लास्थित दशवटै स्थानीय तहमा गठित न्यायिक समितिका पदाधिकारी तथा सरोकारवाला निकायका प्रमुख एवम् प्रतिनिधिलाई सहभागी गराएर शुक्रबार दिक्तेलमा एक दिने अन्तरक्रिया कार्यक्रम गरेको हो ।
अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले न्यायका पहुँचभन्दा बाहिर रहेका नागरिकलाई न्याय दिलाउनेगरी प्रभावकारी रुपमा क्रियाकलाप गर्न स्थानीय तहमा गठित न्यायिक समितिका पदाधिकारीलाई अनुरोध गर्नुभएको छ । “सङ्घीयता कार्यान्वयन गर्नेक्रममा हरेक स्थानीय तहमा न्यायिक समिति गठन भएको छ । यो जनताका लागि खुसीको कुरा हो”, उहाँले भन्नुभयो, “स्थानीय तहमा गठित न्यायिक समिति स्वयत्त छ । जघन्य अपराध बाहेक गाउँठाउँमा हुने अधिकांश मुद्दा न्यायिक समितिले समाधान गर्न पाउँछ । यसलाई भरपूर उपयोग गर्न न्यायिक समितिका पदाधिकारीले गम्भीर भएर भूमिका निर्वाह गर्नुर्छ ।”
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले राष्ट्रिय महिला आयोगको क्रियाकलापले नागरिकमा चेतना अभिवृद्धि भएको बताउनुभएको छ । “दूरदराजका गाउँ तथा बस्तीहरुमा सबैभन्दा बढी महिला हिङ्साका घटनाहरु हुने गरेका छन् । महिला अधिकारसम्बन्धी संवैधानिक अधिकार प्राप्त राष्ट्रिय महिला आयोगको कार्यक्रम जनस्तरसम्म पु¥याउन आवश्यक छ”, उहाँले भन्नुभयो, “राजधानी केन्द्रित अन्तरक्रिया तथा सचेतना गोष्ठीहरु गाउँ तथा बस्तीहरुमा सञ्चालन गर्न सकेमात्रै सभ्य समाज निर्माण गर्न सक्छौँ । आगामी दिनमा यस्ता कार्यक्रमहरु बनाउनेतर्फ आयोगको ध्यान केन्द्रित हुनुपर्छ ।”
अन्तरक्रिया कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख एवम् न्यायिक समितिका संयोजक विशन राई, केपिलासगढी गाउँपालिकाका उपप्रमुख एवम् न्यायिक समितिका संयोजक गुरुराज राई, दिप्रुङ चुइचुम्मा गाउँपालिकाका उपप्रमुख अरुणा थापामगर, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, कानून व्यवसायी, सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी अधिकांश वक्ताहरुले राष्ट्रिय महिला आयोगको कार्यक्रम कम्तिमा पनि हरेक स्थानीय तहसम्म पुग्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा जिल्ला न्यायाधिवक्ता टीकाभूषण घिमिरे र आयोगका उपसचिव लक्ष्मी शर्मा पौडेलले लैङ्गिक हिङ्सा निवारणसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । न्यायिक समितिको क्षेत्राधिकार तथा कार्यसम्पादन प्रक्रिया, महिलाको न्यायमा पहुँच, महिला अधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी अभ्यास लगायतका बारेमा तयार पारिएको कार्यपत्र प्रस्तुत गर्नुभएको हो ।
अन्तरक्रिया कार्यक्रममा उठेका गम्भीर प्रकृतिका सवालहरुलाई राष्ट्रिय महिला आयोगका पदाधिकारी तथा प्रतिनिधिले टिपोट गरेर लगेका छन् । टिपोट गरिएका सवालहरुलाई उच्चस्तरीय छलफलको आयोजना गरेर समाधान गरिने राष्ट्रिय महिला आयोगका सदस्य कृष्णकुमारी पौडेल (खतिवडा)ले बताउनुभएको छ ।
राष्ट्रिय महिला आयोगको निर्धारित कार्यक्रमअनुसार दिक्तेलमा लैङ्गिक हिङ्सा निवारणसम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको जनाइएको छ । सदस्य पौडेल नेतृत्वको टोलीले दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।