खोटाङ, १९ वैशाख । तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक घर खर्च तथा छोराछोरीको पढाइ खर्च धान्ने एउटै माध्यम थियो सालको पात ! दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित डाँडाखर्ककी ४२ वर्षीया नरकुमारीले सालको पात बेचेरै पाँच वर्षदेखि दैनिक घर खर्च तथा छोराछोरीको पठनपाठनमा लाग्ने सम्पूर्ण खर्च धान्दै आउनुभएको थियो ।
घरखेतीले छ महिना पनि खान नपुग्ने सहाराविहीन घर परिवार धान्दै आउनुभएकी नरकुमारी अहिले चिन्तित बन्नुभएको छ । केही दिनअघि नरकुमारीले सालको पात टिपेर गुजारा गर्दै आएको देउले, भालासिरुवानी, दियाले चउर तथा चन्द्रमान राई सामुदायिक वनमा डढेलो लागेपछि चिन्तित बन्नुभएको हो ।
नरकुमारीको ११ वर्षीया छोरी भावना कक्षा–७, आठ वर्षका छोरा सोनाम कक्षा– ५ र पाँच वर्षीया छोरा विवेक कक्षा–२ मा अध्ययनरत छन् । भावना र सोनाम सोही नगरपालिकाको वडा नं. ५ लफ्याङस्थित श्री माध्यमिक विद्यालय बाँसबोटे तथा विवेक खाल्लेकै डाँडाखर्कस्थित राष्ट्रिय प्रजातन्त्र आधारभूत विद्यालयमा अध्ययनरत छन् ।
पाँच वर्षदेखि सालको पात टिप्दै आएको जङ्गलमा डढेलो लागेपछि आफ्नो दैनिक गुजारा गर्ने माध्यम नै आगोले सखाप पारेको नरकुमारीले बताउनुभएको छ । “एक दिनमा २० मुठासम्म सालको पात टिपिन्थ्यो । सालको पात दिक्तेल बजारमा प्रतिमुठा रु ५० मा बिक्री हुन्छ । अहिले डढेलोले जङ्गल नै सखाप पा¥यो”, नाबालक छोरासँगै डोकोमा बोकेर सालको पात बेच्न बुधबार दिक्तेल आउनुभएकी उहाँले भन्नुभयो, “दैनिक घर खर्च तथा छोराछोरीको पढाइ खर्च धान्ने एउटै माध्यम सालको पात थियो । डढेलोले जङ्गल नै सखाप भएपछि कसरी घर खर्च धान्ने भन्नेमा चिन्ता बढेको छ । गरिबलाई प्रकृतिले पनि ठग्दो रहेछ ! यस्तो समस्या कसैको परिवारमा आइनलागोस् ।”
रावाबेँसी गाउँपालिका–३ लामीडाँडास्थित तिर्पाबाट १३ वर्षअघि विवाह गरेर खाल्ले आउनुभएकी नरकुमारीको परिवारमा शुरुदेखि नै एकपछि अर्को समस्या थपिदै गएको थियो । कान्छा छोरा विवेक जन्मदै मुटु रोगी भएर जन्मिएका थिए । वि.सं. २०७५ भदौ–१८ गते जन्मिएका विवेक अहिले पनि बिरामी छन् ।
गंगालाल हृदय रोग केन्द्र काठमाडौँमा उपचार गराइएका विवेक अहिले पनि डाक्टर कै निगरानीमा रहेका छन् । भर्खर छ वर्षमा लागेका विवेकको स्वास्थ्य अहिले सामान्य बन्दै गएको स्वास्थ्यकर्मीले बताएको पारिवारिक स्रोतले जनाएको छ ।
शुरुमा ग्रिनसिटी अस्पताल काठमाडौँ भर्ना गरिएका विवेकको उपचारका लागि सो अस्पतालले मात्रै रु सात लाख ५० हजार लिएको नरकुमारीले बताउनुभएको छ । “बाबुको उपचारमा रु १६ लाख सकियो । जन्मिएको दुई दिनमा रु २०० लिएर जिल्ला अस्पताल खोटाङ लगेकी थिएँ ! अस्पतालले यहाँ ठीक हुँदैन भनेपछि रु ५० हजारमा नन्द (बहिनी)को सुन धितो राखेर काठमाडौँ लग्यौँ”, उहाँले भन्नुभयो, “काठमाडौँको तीन÷चारवटा अस्पताल डुलाउदा रु १६ लाख सकियो । घरमा एक रुपैयाँ थिएन ! सबै ऋण काढेर उपचार ग¥यौँ । छोरा अलि ठीक भएपछि घर फर्कायौँ । छोराको उपचारमा खर्च गरिएको ऋण तिर्न नसकेपछि साहुले घरको गाईगोरुसमेत लग्यो । ऋण तिर्नका लागि विदेश जानुभएका श्रीमान उतै घाइते अवस्थामा हुनुहुन्छ । ऋण तिर्नका लागि विदेश जानुभएका घरमुली विदेशमै घाइते भएपछि यहाँ हामी बिल्ली भएका छौँ ।”
नरकुमारीको श्रीमान दानबहादुर खत्री पाँच वर्षदेखि साउदी अरबस्थित एउटा घरको कोठामा अशक्त अवस्थामा सुतिरहनुभएको छ । स्काफोल्डिङ (भौतिक पूर्वाधार निर्माण)को काममा वि.सं. २०७६ माघ–७ गते साउदी अरब पुग्नुभएका दानबहादुर सात महिना नबित्दै भदौ–२४ गते लडेर घाइते हुनुभएको हो ।
कम्पनीको काम गर्नेक्रममा लडेर ढाड भाँचिएपछि साउदी अरबमै उपचाररत रहनुभएका दानबहादुरको स्वास्थ्यमा सामान्य सुधार आएको बताइएको छ । तीन वर्षसम्म अस्पताल बसेर उपचार गराउनुभएका श्रीमान दानबहादुरले अहिले सामान्य हिँडडुल गर्न सक्ने अवस्थाको भएको फोनमार्फत बताउने गरेको नरकुमारीले बताउनुएको छ ।
चौतर्फी समस्यामा पर्नुभएकी नरकुमारीले कुराकानीको क्रममा निरास हुँदै आफ्नो छोराछोरीको भविष्यमाथि चिन्ता व्यक्त गर्नुभएको छ । “धन कमाउन भनेर विदेश जानुभएका श्रीमान बिरामी हुनुहुन्छ । कलकलाउदा उमेरका तीन छोराछोरी छन् । अहिले त सानो बाबुको पनि बिराम ठीक हुँदैछ”, उहाँले भन्नुभयो, “बनीबुतो गरेको पैसाले दैनिक हातमुख जोड्न नै धौ–धौ छ । उनीहरुको पठनपाठन कसरी गराउने भन्नेमा चिन्तत छु । सबै कुरा सम्झेर ल्याउँदा रातभर निन्द्रा लाग्दैन । यतिका धेरै समस्यामा पर्दा पनि राज्यको तर्फबाट कुनै सहयोग पाएकी छुइनँ !”
कमजोर आर्थिक अवस्थाका खत्री परिवारलाई वैदेशिक रोजगार सम्बन्धी कार्यक्रम गर्दै आएको सामी परियोजनाले भने, रु ५० हजार आर्थिक सहयोग गरेको बताइएको छ । सामी रियोजनाले उपलब्ध गराएको रकम विवेकको उपचारमै खर्च गरिएको नरकुमारीले बताउनुभएको छ ।