खोटाङ, १९ वैशाख । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् खोटाङले एकजना पत्रकारलाई पुरस्कृत गरेको छ भने, छजनालाई सम्मान गरेको छ । जनजाति महासङ्घको चौथो जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमको अवसरमा बुधबार पत्रकार चिसाङ शेर्पालाई आयोजकले रु पाँच हजार राशीको नगद पुरस्कार प्रदान गरेको छ भने, अन्य छजनालाई सम्मान गरेको हो ।
पत्रकारिताको माध्यमबाट आदिवासी जनजातिको मुद्दामा पु¥याएको योगदानको उच्च सम्मानसहित पत्रकार शेर्पालाई ‘उत्कृष्ट पत्रकारिता पुरस्कार’ प्रदान गरिएको महासङ्घका जिल्ला अध्यक्ष फुर्वा शेर्पाले जानकारी दिनुभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला घर भएका पत्रकार शेर्पा हिमालय टाइम्स राष्ट्रिय दैनिक (नेपाली संस्करण) तथा एपीवान टेलिभिजनको खोटाङ सम्वाददाता हुनुहुन्छ ।
वि.सं. २०६५ सालबाट जिल्लामा रहेर पत्रकारिता पेशामा क्रियाशिल शेर्पा समायोजन खबर डटकमका सञ्चालकसमेत हुनुहुन्छ । महासङ्घले तेश्रो जिल्ला अधिवेशनमा पत्रकार दमन राईलाई ‘उत्कृष्ट पत्रकारिता पुरस्कार’ प्रदान गरेको थियो ।
दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको अधिवेशनमा महासङ्घले पहिचानको आन्दोलनमा प्रहरी गिरफ्तारमा पर्नुभएका पूर्वमन्त्री गोपाल किराँतीसहित पाँचजनालाई सम्मान गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत मङ्सिर–२६ गते सञ्चालन गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ कार्यक्रमलाई अवरोध गर्न खोज्दा पूर्वमन्त्री किराँतीसँगै खोटाङका गन्धमान राई, राजेश राई, विजय राई र उदिम चाम्लिङ पक्राउ पर्नुभएको थियो ।
आफ्नो पहिचानको मुद्दा लिएर आन्दोलनमा उत्रिएका पूर्वमन्त्रीसहित पाँच युवालाई प्रहरीले पक्राउ गरेर पाँच दिनसम्म हिरासतमा बस्न बाध्य बनाएकाले प्रशंसापत्रसहित खादा ओढाएर सम्मान गरिएको अध्यक्ष शेर्पाले जानकारी दिनुभएको छ । यस्तै, महासङ्घको कार्यालय भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउनुहुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडे निवासी पसल्ह्वामू शेर्पालाई सम्मान गरिएको छ ।
सम्मानित शेर्पाले वर्ष दिनअघि महासङ्घको कार्यालय भवन निर्माणका लागि थामखोरेडाँडामा मालपोतको दरभाउअनुसार रु दश लाख दश हजार बराबरको आठ आना जग्गा निःशुल्क उपलब्ध गराउनुभएको जनाइएको छ । पुरस्कृत पत्रकार शेर्पा तथा विभिन्न विद्यामा सम्मान छजनालाई नेपाल आदिवासी जनजाति महासङ्घ सङ्घीय परिषद्का उप–महासचिव रामकृष्ण ब्लोन तामाङ, गण्डकी प्रदेशसभा सदस्य पार्वती तामाङ, नेपाल तामाङ घेदुङ बागमती प्रदेश अध्यक्ष बिलाम मोक्तान, जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई लगायतले नगदसहित सम्मानपत्र प्रदान गर्नुभएको हो ।
जिल्ला अधिवेशनको उद्घाटनसत्रका वक्ताहरुले पहिचानको आन्दोलनमा जनजाति महासङ्घको महत्वपूर्ण योगदान रहेको बताएका छन् । विभिन्न जातजातिको साँकृति झाँकीसहित आयोजना गरिएको महासघङ्घको चौथो जिल्ला अधिवेशन अन्तरगत उद्घाटनसत्र सम्पन्न भएसँगै बन्दसत्र शुरु भएको छ ।
पाँचौँ कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेगरी आयोजना गरिएको चौथो जिल्ला अधिवेशन बिहीबार सम्पन्न हुने आयोजकले जनाएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् खोटाङको नयाँ नेतृत्व चयनका लागि सर्वसहमतिको प्रयास भइरहेको जनाइएको छ ।
महासङ्घको पाँचौँ कार्यकालका लागि जिल्ला अध्यक्षमा वर्तमान अध्यक्ष शेर्पा र उपाध्यक्ष एलबी मगरको दाबी रहेको समाचार स्रोतले जनाएको छ । जिल्ला अध्यक्षमा दुईजनाको दाबी रहेपनि सर्वसहमतिमा नयाँ नेतृत्व चयन हुने आयोजकले जनाएको छ ।