१३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसमा सडक दुर्घटना न्यूनीकरण अभियान

Halesi Khabar
175 Shares

काठमाडौँ, १९ वैशाख । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले सडक सचेतना अभिवृद्धि गराउँदै १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ । काभ्रेको धुलिखेल बसपार्कमा चालक, सहचालकमाझ उभिएर सङ्गठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले सडक दुर्घटना महामारी झै फैलिरहेको स्मरण गराउनुभयो ।

प्रत्येक दिन सातदेखि आठजनाले ज्यान गुमाएको तथा ४० जनाभन्दा बढी घाइते भइरहेको र प्रत्येक वर्ष दुई हजार ८८० जना नेपालीले सडक दुर्घटनामा ज्यान गुमाइरहेको तथ्य प्रस्तुत गर्नुहुँदै अध्यक्ष राईले यातायात मजदुरहरु सचेत हुनपर्ने बताउनुभयो । सडक दुर्घटनाका धेरै कारण छन् । सडकको अवस्था, सवारीसाधनको चाप, सडक प्रयोगकर्ता, सवारीचालक, यान्त्रिक तथा पर्यावरणीय जेसुकै भएपनि सार्वजनिक सवारीसाधनका चालकहरुलाई कारक मान्ने गलत परम्परा तोड्न र तथ्य स्थापित गर्न हामी श्रमिकहरुको तर्फबाट सडक सुरक्षा सचेतनाका बारेमा अभियान चलाउन आवश्यक रहेको अध्यक्ष राईले बताउनुभयो ।

दिवसको इतिहास श्रमिकहरुको मुक्तिको आन्दोलनसँग जोडिएकाले आजको दिन उत्सवका रुपमा मनाउनुपर्ने दिन भएपनि नयाँ कुराको ज्ञान हासिल गरेर आजको दिनलाई मनाउन सङ्गठनले सडक सचेतना कार्यक्रम आयोजना गरेको पनि अध्यक्ष राईले बताउनुभएको छ । सङ्गठनले मे दिवसका अवसरमा बसपार्कमा मजदुरहरुलाई भेटघाट गर्ने र शुभकामना आदानप्रदानसँगै सडक सचेतना कार्यक्रमहरु सम्पन्न गरेको हो ।

ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा सडक सचेतना कार्यक्रम सम्पन्न गरिएको सङ्गठनले जनाएको छ । सङ्गठनले काभ्रेपलाञ्चोकको धुलिखेल बसपार्क र बनेपामा आयोजना गरेको कार्यक्रम सम्पन्न भएको छ ।

बनेपाको कार्यक्रममा जिफन्टका उपाध्यक्ष तथा सङ्गठनका पूर्व महासचिव विदुर कार्की र धुलिखेलको कार्यक्रममा सङ्गठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई प्रमुख प्रशिक्षकका रुपमा सहभागी हुनुहन्थ्यो । त्यस्तै, ललितपुरको लगनखेलस्थित बसपार्कमा भएको कार्यक्रममा सङ्गठनका केन्द्रीय उपाध्यक्ष नवराज घिमिरे, न्यूरोड गेटमा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष विष्णु लामा, शंखमुलमा भएको कार्यक्रममा सदस्य कमल सापकोटा, एयरपोर्टमा भएको कार्यक्रममा अर्का सदस्य अजय श्रेष्ठ, साझा यातायात पुल्चोकको कार्यक्रममा सङ्गठनका बागमती प्रदेश अध्यक्ष शंकर थापा, बुढानिलकण्ठमा सम्पन्न कार्यक्रममा प्रदेश सचिव शिवकुमार श्रेष्ठ प्रशिक्षकका रुपमा परिचालन गरिएको सङ्गठनले जनाएको छ ।

कार्यथलोमै पुगेर मजदुरहरुलाई शुभकामना पनि दिने र सडक सचेतना पनि प्रदान गर्ने उद्देश्यले बसपार्क आधारित कार्यक्रम गरिएको सङ्गठन प्रदेश अध्यक्ष शंकर थालो बताउनुभएको छ । अभियानमा सङ्गठनका केन्द्रीय सदस्यहरु धनमाया सुनुवार, कृष्णमाया ब्लोन, मुना श्रेष्ठ, प्रदेश कमिटीका नेताहरु वेदप्रसाद घिमिरे, गणेशबहादुर श्रेष्ठ, डाकबहादुर राउत, शान्ति क्षेत्री, हर्मिता श्रेष्ठ, काइँला श्रेष्ठ, लेखबहादुर दाहाल, सीता चौलागाँई, तीर्थमाया लामा लगायतका नेताहरु परिचालन गरिएको थियो ।

त्यस्तै, कोशी प्रदेशको विर्तामोड, इटहरी, बिराटनगर, धरान, धनकुटा, गाइघाट, कटारी र दिक्तेलमा पनि सडक सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । त्यस्तै मधेश प्रदेशको जनकपुरर, लहान र रौतहटमा पनि कार्यक्रम गरिएको जनाइएको छ ।

गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, लमही, तुलसीपुर रघोरी, सुदुरपश्चिम प्रदेशको धनगढी र महेन्द्रनगरमापनि सडक सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ जिफन्टले आयोजना गरेको प्रदर्शनमा नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले एक हजार १०० यातायात श्रमिकहरु उतारेको दाबी गरेको छ ।

तपाईको प्रतिक्रिया