खोटाङ, २९ वैशाख । नेत्र ज्योति सङ्घ खोटाङले आयोजना गरेको तीनदिने निःशुल्क शल्यक्रियासहितको आँखा उपाचार शिविर दिक्तेलमा शुरु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँगको सहकार्य तथा सगरमाथा चौधरी आँखा अस्पताल लाहानको प्राविधिक सहयोगमा नेत्र ज्योति सङ्घ खोटाङले वैशाख–२९ गतेदेखि ३१ गतेसम्म निःशुल्क शल्यक्रियासहितको आँखा उपचार शिविर आयोजना गरेको हो ।
आयोजक नेत्र ज्योति सङ्घले आयोजना गरेको निःशुल्क आँखा शल्यक्रियासहितको उपचार शिविर दिक्तेलस्थित आँखा उपचार केन्द्रमा सञ्चालन भइरहेको छ । आयोजकले शिविर सफल पार्न रेडक्रस, उद्योग वाणिज्य सङ्घ, रम्बाखोला–माझखोला खानेपानी आयोजना, पत्रकार, समाजसेवी, सरोकारवाला निकाय, सङ्घसंस्था लगायतका प्रमुख तथा प्रतिनिधिलाई जिम्मेवारीसमेत बाँडफाँड गरेको छ ।
शिविरमा बिरामी दर्ता तथा आँखा जाँच एक हजार २१८ जना, औषधि वितरण ७६० जना, मोतिविन्दु शल्यक्रिया १२० जना, शल्यक्रिया भएकालाई चश्मा वितरण १२० वटा, ज्येष्ठ नागरिकलाई दृष्टि चश्मा वितरण ७५० वटा, बालबच्चा ५० जना र फरक क्षमता भएका २५ जनालाई सेवा दिने लक्ष्य राखिएको आयोजक नेत्र ज्योति सङ्घ खोटाङका अध्यक्ष इन्द्र कसजूले जानकारी दिनुभएको छ । तीनदिनसम्म सञ्चालन हुने शिविरमा सहभागी गम्भीर किसिमका आँखाका रोगीलाई थप उपचारका लागि बाहिर (सुविधा सम्पन्न अस्पताल) लगिनेसमेत आयोजकले जानकारी दिएको छ ।
आँखाको रोग सम्बन्धी समस्याबाट पीडितलाई निःशुल्क सेवा उपलब्ध गराउने उद्देश्यसहित वि.सं. २०६० वैशाख–१० गते स्थापना भएको नेत्र ज्योति सङ्घमा १०१ जना आजीवन सदस्य र २५ जना साधारण सदस्य रहेका छन् । नेत्र ज्योति सङ्घको मातहतमा रहनेगरी दिक्तेल र हलेसीमा आँखा उपचार केन्द्र सञ्चालन गरिएको छ ।
दश स्थानीय तह रहेको जिल्लामा २७ पटक निःशुल्क आँखा उपचार शिविर सञ्चालन गरेको सङ्घले दुई हजार ४१० जनाभन्दा बढीको मोतियाबिन्दुको सफल शल्यक्रिया, २५ हजार २०० जनाको नेत्र विशेषज्ञबाट आँखा जाँच गरेको जनाइएको छ । दुई हजार ३०० जना ज्येष्ठ नागरिकलाई पढ्नका लागि पावर चश्मा र आवश्यकता अनुसार निःशुल्क औषधि वितरण गरिएको सङ्घले जनाएको छ ।