खोटाङ, ४ जेठ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा रक्तचाप परीक्षण गर्दै ‘विश्व रक्तचाप दिवस–२०२४’ मनाइएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङसँगको सहकार्यमा नगरपालिकाको स्वास्थ्य शाखाले रक्तचाप जाँच कार्यक्रमको आयोजना गरेको हो ।
नगरपालिकाको कार्यालयमा आयोजना गरिएको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, पत्रकार लगायतको रक्तचाप परीक्षण गरिएको छ । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले रक्तचापको असर, बच्ने उपाय तथा नगरपालिकामा रक्तचापका बिरामीको अवस्थाका बारेमा तयार पारिएको कार्यपत्रसमेत प्रस्तुत गर्नुभएको थियो ।
मानिसमा उच्च रक्तचाप हुनुको प्रमुख कारण धुमपान सेवन भएको शाखा प्रमुख आचार्यले प्रस्तुत गर्नुभएको कार्यपत्रमा उल्लेख छ । अरु व्यक्तिले सेवन गरेको धुमपानका कारण ३६ प्रतिशत व्यक्तिमा रक्तचाप हुने प्रस्तुत तथ्याङ्कले देखाएको छ ।
पन्ध वडा रहेको यस नगरपालिकामा आर्थिक वर्ष २०७९÷०८० मा दश जनाको उच्च रक्तचापका कारण मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख आचार्यले बताउनुभएको छ । नगरपालिकामा दुई हजार ४० जना नियमित औषधि सेवन गरिरहेका उच्च रक्तचापका बिरामी रहेको जनाइएको छ ।
उच्च रक्तचापका बिरामीलाई नगरपालिकाले निःशुल्क औषधि उपलब्ध गराउँदै आएको छ । नगरपालिकाले सबै वडामा सञ्चालित स्वास्थ्य चौकीमार्फत बिरामीलाई तीन वर्षअघिदेखि निःशुल्क औषधि उपलब्ध गराउँदै आएको हो ।
मानिसमा हुने उच्च रक्तचाप नियन्त्रण गर्न नियमित व्यायाम तथा खानपिनमा ध्यान दिनुपर्ने जनाइएको छ । ‘सही तरिकाले रक्तचाप मापन गर्नुस्, नियन्त्रण गर्नुस् र लामो समय बाँच्नुस्’ भन्ने नाराका साथ मनाइएको दिवसमा नगर प्रमुख तीर्थराज भट्टराई र उपप्रमुख विशन राईको सहभागिता नरहेकोमा आलोचना भएको थियो ।
छलफल कार्यक्रममा नगर प्रमुख संयोजक भएर गरिने कार्यक्रमलाई बेवास्ता गरिएकोप्रति वडा नं. १ दिक्तेलका वडाध्यक्ष नवराज राईले खुलेर आलोचना गर्नुभयो । “नगर प्रमुख र उपप्रमुखले कुन कार्यक्रम कसरी गराउने भन्ने आफ्नो जिम्मेवारी भुलेको महसुस भएको छ । जिम्मेवार तहमा बसेका व्यक्तिले आफ्नो जिम्मेवारी पूरा गरेन भने त्यसको अर्थ हुँदैन”, उहाँले भन्नुभयो, “हाम्रो नगर प्रमुख र उपप्रमुखलाई राष्ट्रिय कार्यक्रम छाडेर अन्य कार्यक्रममा जानुपर्ने कस्तो बाध्यता आइलागेको हो ? उहाँहरुले गर्ने काम हामीले गरेर हुन्छ ? यसप्रति गम्भीर हुन जरुरी छ ।”
नगर प्रमुख भट्टराई कार्यक्रम शुरु भएलगत्तै अर्को काक्रम छ भन्दै बाहिरिनुभएको थियो भने, उपप्रमुख राई कार्यक्रममै सहभागी हुनुभएन । नगर प्रमुख भट्टराई वडाध्यक्ष राईले कार्यक्रम समापन गर्नुहुन्छ भन्दै बाहिरिनुभएपछि वडाध्यक्ष राईले उक्त कार्यक्रम नगर प्रमुख र उपप्रमुखको आलोचना गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।