खोटाङ, ९ जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट युवा तथा विद्यार्थी सङ्गठनले युवामैत्री बजेट बनाउन स्थानीय तहलाई दबाब दिने निर्णय गरेका छन् । योङ कम्युनिष्ट लिग (वाईसियल) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) खोटाङले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो ।
वाईसियल र अखिल क्रान्तिकारीको बुधबार सम्पन्न प्रशिक्षण तथा बैठकको निर्णय पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै जिल्लाका दशवटै स्थानीय तहमा दबाबमूलक कार्यक्रम गर्ने जनाएको छ । दबाबमूलक कार्यक्रमका लागि दशवटै स्थानीय तहमा जिम्मेवारीसमेत बाँडफाँड गरिएको पत्रकार सम्मेलनमा जनाइएको छ ।
वाईसिएलले केपिलासगढी गाउँपालिकामा शुभलाल राई ‘आदेश’ र दीपेश राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा शरद राई र धनन्जय राई, साकेला गाउँपालिकामा प्रविणा राई र नारायण राई, बराहपोखरी गाउँपालिकामा चेतु विकल र किसान राई तथा जन्तेढुङ्गा गाउँपालिकामा प्रभात राईलाई जिम्मेवारी तोकेको छ । यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा किसान राई, ऐसेलुखर्क गाउँपालिकामा सुदीप राई, हलेसी तुवाचुङ नगरपालिकामा देशकुमार राई र सुजेन राई, खोटेहाङ गाउँपालिकामा दिनेश राई र शरद राई तथा रावाबेँसी गाउँपालिकामा शुभलाल राई ‘आदेश’ र सुजेन राईलाई जिम्मेवारी दिइएको जनाइएको छ ।
वाईसियलले सञ्चालन गर्न लागेको सङ्गठन सुदृढीकरण अभियानका क्रममा ‘एक पालिका, एक श्रमदान’ कार्यक्रमसमेत आयोजना गर्ने जनाएको छ । वाईसियलले हरेक स्थानीय तह तथा वडामा समाजवादी क्रान्तिको तयारीस्वरुप सशक्त युवा नेतृत्वसमेत निर्माण गर्ने विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
यसैगरी, अखिल क्रान्तिकारीले प्रत्येक स्थानीय तहका एमबिबिएस तथा इन्जिनियर अध्ययन गर्न चाहने विद्यार्थीलाई स्कलरसिप दिलाउन पहल गर्ने जानकारी दिएको छ । यस्तै, दिक्तेल बहुमुखी क्याम्पस दिक्तेललाई नमूना क्याम्पसको रुपमा विकास गर्नेसमेत जनाएको छ ।
अखिल क्रान्तिकारीले सञ्चालन गर्ने अभियानका क्रममा जिल्लाका दशवटै स्थानीय तहमा सञ्चालित शैक्षिक संस्थाको शैक्षिक गुणस्तर सुधार तथा सङ्गठन विस्तारका लागि जिम्मेवारी बाँडफाँड गरेको छ । ऐसेलुखर्क गाउँपालिकाका लागि रविन खम्बू र सार्जन वन, केपिलासगढी गाउँपालिकाका लागि डार्विन चाम्लिङ, रावाबेँसी गाउँपालिकामा चित्रबहादुर श्रेष्ठ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा लक्ष्मी राईलाई जिम्मेवारी दिइएको अखिल क्रान्तिकारीले जनाएको छ ।
यस्तै, हलेसी तुवाचुङ नगरपालिकामा सुजन राई, साकेला गाउँपालिकामा भुवन राई, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा रमिला बास्तोला, खोटेहाङ गाउँपालिकामा आदेश थापा, बराहपोखरीमा डार्विन चाम्लिङ र जन्तेढुङ्गा गाउँपालिकामा उमेश भट्टराई जिम्मेवारी दिइएको छ । दिक्तेलस्थित दिलकाजी–ठूलकुमार स्मृति प्रतिष्ठानको कार्यालय भवनमा आयोजित पत्रकार सम्मेलनमा वाईसियलका केन्द्रीय सदस्य एवम् जिल्ला ईन्चार्ज शुभलाल राई ‘आदेश’ र जिल्ला संयोजक किसान राई, अखिल क्रान्तिकारीका केन्द्रीय सचिव एवम् जिल्ला ईन्चार्ज रविन खम्बु, जिल्ला संयोजक डार्विन चाम्लिङ लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।