एमाले कोशी प्रदेश संसदीय दलको उप नेतामा तीलकुमार मेन्याङ्वो

Halesi Khabar
63 Shares

खोटाङ, १५ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश संसदीय दलको उप नेतामा तीलकुमार मेन्याङ्वो चयन हुनुभएको छ । नेपाल एमाले कोशी प्रदेश संसदीय दलका नेता तथा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको दलको बैठकले मेन्याङ्वोलाई उप नेता चयन गरेको हो ।

यस अघि राम राना एमाले कोशी प्रदेश संसदीय दलका उप नेता हुनुहुन्थ्यो । राना आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त भएपछि संसदीय दलको उप नेताको जिम्मेवारी मेन्याङ्वोलाई दिएको नेकपा एमाले संसदीय दलका सचेतक कमला दर्नालले बताउनुभयो । राना वि.सं. २०८० वैशाख२–० गते एमाले कोशी प्रदेश संसदीय दलको उप नेतामा चयन हुनुभएको थियो ।

दलको उप नेतामा चयन हुनुभएका मेन्याङ्वो नेकपा एमाले पोलिटब्यूरो सदस्य हुनुहुन्छ । उहाँ ताप्लेजुङबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

यस्तै, बैठकले कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेशसभामा ल्याउन लागेको नीति तथा कार्यक्रमका विषयमा सुझाव दिन पाँच सदस्यीय कार्यदल बनाएको छ । संसदीय दलको बैठकले उप नेता मेन्याङ्वोको संयोजकत्वमा कार्यदल बनाएको हो ।

कार्यदलमा सचेतक कमला दर्नाल, प्रदेश सभा सदस्य तिलचन पाठक,इन्द्रमणि पराजुली र जयप्रकाश चौधरी सदस्य हुनुहुन्छ । कार्यदलले आगामी आर्थिक वर्षका लागि सरकारले प्रदेशसभामा पेस गर्ने बजेट नीति तथा कार्यक्रम कस्तो बनाउने भनेर जेठ–१८ गते सम्ममा सुझाव दिइसक्ने सचेतक दर्नालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया