खोटाङ, १५ जेठ । जन्तेढुङ्गा गाउँपालिकाका पूर्वप्रमुख शंखरबहादुर राईको शालिक अनावरण गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जन्तेढुङ्गा गाउँपालिका कार्यसमितिले चिसापानी बजारमा स्थापना गरेको पूर्वप्रमुख राईको अर्धकदको शालिक मङ्गलबार एमाले पोलिटब्यूरो सदस्य विशाल भट्टराईले अनावरण गर्नुभएको हो ।
एमाले जन्तेढुङ्गा गाउँपालिका कार्यसमितिको अगुवाइमा सङ्कलन गरिएको करिब रु छ लाख रकममा पूर्वप्रमुख राईको शालिक स्थापना गरिएको एमाले जिल्ला सदस्य जगत किरातीले जानकारी दिनुभएको छ । शालिक स्थापनाका लागि वडा–४ डम्बर्खुशिवालयले रु चार लाख रकम उपलब्ध गराएको जनाइएको छ ।
फाइवरबाट निर्माण गरिएको पूर्वप्रमुख राईको शालिक स्थानीय रामबहादुर राउतले निःशुल्क उपलब्ध गराउनुभएको चार आना जग्गामा स्थापना गरिएको एमाले जन्तेढुङ्गा गाउँपालिका कार्यसमिति अध्यक्ष यामकुमार राईले जानकारी दिनुभएको छ । रु तीन लाख ५३ हजारमा काठमाडौँमा निर्माण गरिएको पूर्वप्रमुख राईको शालिक स्थापना गरेर कम्पाउण्डसहित निर्माण गरिएको जनाइएको छ ।
सुनसरीको इटहरीबाट बिराटनगरतर्फ जानेक्रममा वि.सं. २०७९ भदौ–२ गते राति हलगडाचोकमा भएको सडक दुर्घटनामा गम्भीर घाइते हुनुभएका पूर्वप्रमुख राईको वि.सं. २०७९ कातिक–७ मा मृत्यु भएको थियो । एमाले खोटाङका सचिवालय सदस्यसमेत रहनुभएको पूर्वप्रमुख राईको दुई महिनासम्म अस्पताल भर्ना गरेर उपचार गर्दा सम्भव नभएपछि घर फर्काउनेक्रममा बाटैमा निधन भएको हो ।
मोटरसाइकलको पछाडि बसेर इटहरीबाट बिराटनगरतर्फ जानेक्रममा पछाडिबाट आएको बा २ क ५३२५ नम्बरको माइक्रो भ्यानले ठक्कर दिँदा गम्भीर घाइते हुनुभएका पूर्वप्रमुख राईलाई दुर्घटना लगत्तै अस्पताल लगेर टाउकाको शल्यक्रीया गरिएको थियो । जन्तेढुङ्गा गाउँपालिका–६ धिप्लुङ स्थायी घर भएका पूर्वप्रमुख राईको शव परीक्षणपछि जन्मघरमै ल्याएर किराँत परम्पराअनुसार अन्त्येष्टि गरिएको थियो ।
दुर्घटनास्थलमै बेहोस बन्नुभएका पूर्वप्रमुख राईलाई बिराटनगरस्थित न्यूरो अस्पतालमा भर्ना गरेर दुई महिनासम्म उपचार गरेपछि अस्पतालले कातिक–६ गते डिस्चार्ज गरेको थियो । तीव्रगतिमा पछाडिबाट आएको माइक्रोले ठक्कर दिँदा मोटरसाइकलसँगै पूर्पप्रमुख राई दुर्घटनास्थलबाट करिब ५० मिटर पर उछिट्टिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
पूर्वप्रमुख राई वि.सं. २०७४ सालमा भएको पहिलो स्थानीय तहको निर्वाचनमा एमालेबाट गाउँपालिका प्रमुखमा निर्वाचित हुनुभएको थियो । वि.सं. २०३० सालमा जन्मनुभएका राईको दुई श्रीमती तथा तीन छोरी र तीन छोरा छन् ।