खोटाङ, १५ जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ सङ्गठन अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) खोटाङको जिल्ला संयोजकमा धनशोभा राई चयन हुनुभएको छ । दिक्तेलस्थित शहीद दीलकाजी–ठूलकुमार स्मृति भवनमा मङ्गलबार सम्पन्न प्रथम जिल्ला भेलाले धनशोभाको संयोजकत्वमा ५५ सदस्यीय जिल्ला समन्वय समिति निर्माण भएको हो ।
जिल्ला समन्वय समितिको सहसंयोजकमा सर्मिला कटेल तथा सचिवमा हरिमायाँ राई चयन हुनुभएको छ । अनेम सङ्घ (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष एवम् कोशी प्रदेश इन्चार्ज होमकुमारी खापुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रम उक्त सङ्गठनकै दिक्तेल रूपाकोट मझुवागढी नगर समिति समेत निर्माण गरिएको छ ।
सङ्गठनको दोश्रो नगर भेलाले स्मिता राईको अध्यक्षतामा ४१ सदस्य समिति गठन गरेको जनाइएको छ । नगर कार्यसमितिको उपाध्यक्षहरूमा मनिषा परियार, देवीकला राई र मिना पराजुली, सचिवमा पार्वती आचार्य, सहसचिवमा कल्पना राई र कोषाध्यक्ष गोमा विश्वकर्मा चयन हुनुभएको छ ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)को तर्फबाट स्थानीय तहको निर्वाचनमा निर्वाचित महिला जनप्रतिनिधिहरूलाई सम्मान समेत गरिएको छ । जिल्लाका दश स्थानीय तह तथा जिल्ला समन्वय समिति खोटाङको विभिन्न पदमा निर्वाचित ५५ जना महिला जनप्रतिनिधिलाई प्रशंसापत्रसहित सम्मान गरिएको अनेम सङ्घले जनाएको छ ।
कार्यक्रममा संविधानसभा सदस्य एवम् नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य दुर्गाजयन्ती राई, केन्द्रीय बैकल्पिक सदस्य एवम् खोटाङ इन्चार्ज ध्रुब बुढाथोकी ‘धिरेन’, प्रदेश उपाध्यक्ष देवान किराती ‘पृथ्वी’, अनेम सङ्घ केन्द्रीय सदस्य माओवादी केन्द्रका प्रदेश सदस्य अरुणादेवी राई ‘दिक्षा’, जिल्ला समन्वय समिति खोटाङका संयोजक दीपक पाण्डे ‘आकाश’, प्रदेश सदस्य बिर्सिका राई, होमकाजी आचार्य ‘विनोद’, अनेम सङ्घ केन्द्रीय सदस्य निशाना राई, दिक्तेल रूपाकोट मझुवागढी नगर पार्टी अध्यक्ष विशन राई, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष भवकृष्ण ढकाल, वाइसियल इन्चार्ज शुभलाल राई ‘आदेश’, अखिल क्रान्तिकारी केन्द्रीय सचिव रविन खम्बु, जिल्ला अध्यक्ष डार्विन चाम्लिङ लगायतका नेताहरूको उपस्थिति थियो । कार्यक्रमका वक्ताहरूले संविधानले दिएको अधिकार कार्यान्वयन गर्दै समग्र महिलाहरुको हक तथा अधिकार सुनिश्चितताका निम्ति सशक्त भएर अगाडि बढ्न आग्रह गर्दै नवनिर्वाचित दुवै कार्यसमितिलाई आफ्नो कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् ।