किरात उद्गमस्थल तुवाचुङ–जायाजुममा तीन चुल्हाको पूजा गर्दै साकेला सिली प्रदर्शन

Halesi Khabar
84 Shares

खोटाङ, २९ जेठ । किरात समुदायको उद्गमस्थल खोटाङको तुवाचुङ–जायजुममा तीन चुल्हाको पूजा गर्दै बृहत साकेला सिली प्रदर्शन गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ मा पर्ने तुवाचुङ–जायजुममा साकेला उँभौलीको अवसरमा मङ्गलबार विभिन्न जिल्लाका किरात समुदाय भेला भएर सामुहिकरुपमा तीन चुल्हाको पूजा गर्दै बृहत् साकेला सिली प्रदर्शनमा सहभागी भएका हुन् ।

किरात ऐतिहासिकस्थलमा पितृको सम्झना एवम् संस्कार–संस्कृति संरक्षणको सन्देश दिन तुवाचुङ–जायजुम संरक्षण समितिको आयोजनामा खोटाङ, उदयपुर, ओखलढुङ्गा लगायतका किरात समुदाय भेला भएर तीन चुल्हाको पूजा गरेका छन् । किराती पुर्खा तायामा, खियामा र रैछाकुलेले कृषि युग र मानव सभ्यताको सुरुवात गरेको किंबदन्ती बोकेको ऐतिहासिकस्थलमा हरेक वर्षको उँधौली र उँभौलीमा चुल्हा पूजा गर्दै साकेला सिली प्रदर्शन गर्ने गरिएको संरक्षण समितिका महासचिव दिनेश राईले बताउनुभएको छ ।

साकेला उँभौलीको अवसरमा संरक्षण समितिको कार्यालयमा चुल्ला पूजा गरेपछि रैछाकुले, तायामा र खियामा तथा भूमे थानमा पूजासमेत गरिएको छ । त्रिधार्मिकस्थल हलेसीभन्दा केहीमाथि रहेको तुवाचुङ–जायजुममा नेपालसहित छिमेकी देश भारतको दार्जिलिङ र सिक्किमका किरात समुदायसमेत पूजाआजाका लागि आउने गरेका छन् ।

तुवाचुङ–जायजुम संरक्षण समितिले आयोजना गरेको कार्यक्रममा खोटाङ, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बू लगायतबाट आएका १३ समूहले ढोल, झ्याम्टाको तालमा साकेला गीत गाउँदै सिली प्रदर्शन गरेका छन् । तुवाचुङ–जायाजुममा आयोजना गरिएको बृहत साकेला सिली प्रदर्शन तथा तीन चुल्हा पूजाको औपचारिक उद्घाटन हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख विमला राईले गर्नुभएको थियो ।

किराती संस्कारअनुसार रैछाकुले, तायामा र खियामा तथा भूमे थानमा पूजा गरेर उद्घाटन गरेपछि सामुहिकरुपमा साकेला नाचिएको थियो । तुवाचुङ–जायजुममा आयोजना गरिएको बृहत् साकेला सिली प्रदर्शनीमा किरात तथा गैरकिरात समुदायका हजारौँको सङ्ख्यामा युवायुवतीको सहभागिता रहेको थियो ।

उँभौलीको अवसरमा तुवाचुङ–जायाजुङसँगै रुपाकोट, मेरुङ, जन्तेढुङ्गा, छोङ्खा लगायतका किरात ऐहिासिकस्थल तथा साकेला थानमा साकेला नाचिन्छ । किराती समुदायको घनाबस्ती रहेको माँझ किरात खोटाङका हरेक गाउँ तथा बस्तीहरुमा साकेला सिली प्रदर्शन गर्दै उँभौली चाड मनाउने गरिएको छ ।

छितको गुन्यु मखमलको चोली, पहेंलो पटुकी, दौरासुरुवाल, ढाका टोपी किराती मौलिक भेषभुषामा ठाँटिएर हरेक किरातीका घरघरमा नाच्दै गाँउदै हर्षोल्लासका साथ मनाइने यो चाडमा किरात समुदाय मात्र नभइ गैरकिरात समुदायका युवायुवतीहरुसमेत औपचारिक तथा अनौपचारिक कार्यक्रमहरुमा सहभागी भएर साकेला सिली नाच्ने गर्छन् । चराचुरुङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोल÷झ्याम्टाको तालमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगतको रक्षा गरून् भन्ने कामनासहित साकेला उँभौली मनाइन्छ ।

खुला आकाशमुनि गोलो घेरा हालेर संयुक्त रूपमा नाचगान गरी हर्षोल्लास पूर्वक साकेला नाच्ने गरिन्छ । बालकदेखि वृद्धवृद्धासम्म एउटै लहरमा सामूहिक रूपमा नाचिने साकेला नृत्यले यो आदिवासी जनजातिको सामूहिक भावना प्रदर्शन गरिन्छ ।

हात÷खुट्टाको चालले पङ्तिबद्ध रूपमा साकेला सिली नाच्दा प्रस्तुत गर्ने शरीरको हाउभाउ र अभिनयमा खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको र बाली उठाएर थन्क्याएको जस्ता कृषि कार्यमा गरिने प्रक्रियाहरु प्रदर्शन गरिन्छ । साकेला उँभौलीको अवसरमा अहिले किरात समुदायको घनाबस्ती रहेको हरेक गाउँ तथा टोल ढोल, झ्याम्टा र साकेला गीतले गुञ्जयमान बनेका छन् ।

साकेला उँभौली चाडले जातीय, धार्मिक तथा साँस्कृतिक सद्भाव, आपसी मेलमिलाप कायम गर्दै द्धन्द्धलाई निरुत्साहित गर्न भूमिका खेल्ने किरात राई यायोख्खा खोटाङका अध्यक्ष युगशन किरातले बताउनुभएको छ । “साकेलामा विशेषगरी प्रकृति र पितृको पूजा गर्दै आपसमा शुभकामना आदान÷प्रदान गर्ने गरिन्छ । प्रकृति र पितृको पूजासँगै मनाइने यो साकेला चाडले किरात र गैरकिरातबीच आपसी सद्भाव र बन्धुत्व कायम गर्न सघाउ पु¥याउँछ”, उहाँले भन्नुभयो, “साकेला अन्नबाली छर्ने बेला अर्थात वैशाख पूर्णीमा र उठाउने बेला मङ्सिरे पूर्णीमाको अवसर पारेर वर्षमा दुई पटक मनाउने गरिन्छ । यसले पराइघर गएका छोरीचेली र बाउमाइती भेटेर दुःख÷सुखको कुराकानी गर्ने वातावरणसमेत सिर्जना गर्ने गरेकाले निक्कै महत्वका साथ मनाउने गरिन्छ ।”

किरात ऐतिहासिकस्थल मझुवागढीबाट औपचारिकरुपमा शुरुवात गरिने साकेला उँभौली महिना दिनपछि दिक्तेलको माटीकोरे खेलमैदानमा सिली प्रद्र्धशनी तथा शुभकामना आदानप्रदान गर्दै समापन गर्ने चलन छ । समापनको अवसरमा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्लास्थित जनप्रतिनिधि, कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुख, जातीय सङ्घ संस्थाका प्रतिनिधि लगायतलाई सहभागी गराएर साकेला सिली नाच्न लगाउने गरिन्छ ।

साकेला उँभौली चाड पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, ईलाम, पाँचथर, झापा, मोरङलगायत किरात समुदायको बसोबास रहेको ठाउँ तथा जिल्लाहरुमा साकेला नाच नाच्दै धुमधामकासाथ मनाउने गरिएको छ । साकेला उँभौली चाडलाई किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाड मान्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया