खोटाङ, ३१ जेठ । केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका स्थानीय बासिन्दा आफ्नो गाउँको सकड आफै मर्मत गर्न जुटेका छन् । प्रत्येक टोलमा निर्माण गरिएका सडकमा बाह्रै महिना एम्बुलेन्स तथा यातायातका सवारी साधन सञ्चालन गर्न बाक्सिलाका स्थानीय बासिन्दाले हरेक हप्ताको शनिबार श्रमदान अभियान शुरु गरेका छन् ।
गत चैत महिनाको अन्तिम शनिबारबाट बाक्सिलामा शुरु गरिएको श्रमदान अभियानमा जनप्रतिनिधि, समाजसेवी तथा स्थानीय बासिन्दा स्वतः स्फूर्तरुपमा सहभागी हुने गरेका छन् । अभियान अन्तरगत सडक मर्मत, विद्यालय भवन परिसर सरसफाइ तथा मर्मत, वृक्षरोपण लगायतका गतिविधि सञ्चालन गरिरहेका छन् ।
श्रमदान अभियानको दशौँ हप्ता सम्पन्न हुँदा करिब ४०० जना स्थानीय बासिन्दा सहभागी भएको अभियानका संयोजक कोशीकुमार राईले जानकारी दिनुभयो । “गाउँ तथा टोलमा निर्माण गरिएका ग्रामीण सडक वर्षेनी भलबाढीले क्षति गर्छ । सडक अवरुद्ध हुँदा बिरामीलाई स्वास्थ्य संस्था लैजान÷ल्याउन तथा दैनिक उपभोग्यवस्तु ढुवानीमा समस्या हुने गरेको छ”, उहाँले भन्नुभयो, “आफ्नो गाउँमा निर्माण गरिएका ग्रामीण सडकलाई बाह्रै महिना सञ्चालनमा ल्याउन श्रमदान अभियान सञ्चालन गरेका हौँ । वडा कार्यालयको संयोजनमा शुरुवात गरिएको यो श्रमदान अभियान निरन्तर रहन्छ ।”
श्रमदान अभियानका लागि देश तथा विदेशमा रहेका स्थानीय बासिन्दाले आर्थिक सहयोगसमेत गरिरहेको जनाइएको छ । बाक्सिलामा जन्मिएर अध्ययन तथा रोजगारीको सिलसिलमा विभिन्न ठाउँमा रहेका स्थानीय बासिन्दाबाट हालसम्म रु एक लाख १२ हजार रकम जम्मा भएको संयोजक राईले जानकारी दिनुभयो ।
देश तथा विदेशमा रहेका बाक्सिलावासीबाट सङ्कलित रकम श्रमदान अभियानमा सहभागी हुनेका लागि खाजा खरिदमा खर्च गर्ने गरिएको जनाइएको छ । यससँगै अभियानमा सहभागीका लागि स्थानीय बासिन्दाले समेत स्थानीयस्तरमा उत्पादित खानेकुरा खाजाको रुपमा उपलब्ध गराउँदै आएका छन् ।
बाक्सिलास्थित हल्कुममा सञ्चालित शिक्षा जयन्ती आधारभूत विद्यालयको भूइँ ढलानबाट शुरु गरिएको श्रमदान अभियान अन्तरगत १३४ मिटर सडक सोलिङ गरिएको छ । दशकते–रातोपानी सडकमा ५७ मिटर, माक्पालीडाँमा ४५ मिटर, हयापूमा २२ मिटर र खर्कुखोलामा दश मिटर सोलिङ गरिएको संयोजक राईले जानकारी दिनुभएको छ ।
श्रमदान अभियानका लागि स्थानीय बासिन्दाले आवश्यक औजारसमेत उपलब्ध गराएका छन् । भौतिकरुपमा उपस्थित हुन नपाउनेले झम्पल, गैँती, छिनो, हम्मर, बेल्चा लगायतका आवश्यकीय औजार निःशुल्क उपलब्ध गराएका हुन् ।
‘आफ्नो गाउँ, आफै बनाऔँ’ भन्ने नाराका साथ शुरु गरिएको श्रमदान अभियान आफ्नो कार्यकालभरि जारी राख्ने योजनाका साथ वडा कार्यालयबाट निर्णय गरिएको बाक्सिलाका वडाध्यक्ष खड्गबहादुर तामाङले जानकारी दिनुभयो । “वडामा आएको बजेटले सबै काम सम्भव छैन । स्थानीयस्तरमा गर्न सकिने कामहरु आफै गरऔँ भन्ने उद्देश्यले अभियान शुरु गरेका हौँ”, उहाँले भन्नुभयो, “वडाको संयोजनमा शुरु गरिएको श्रमदान अभियानमा सबैले साथ दिएका छन् । यसले सानातिना कामहरु राज्यको लगानी नभए पनि गर्न सकिन्छ भन्ने सन्देश गएको छ ।”
श्रमदान अभियान अन्तरगत असार–१ गते बाक्सिला बजारमा गुराँसको बिरुवा रोप्ने तयारी गरिएको जनाइएको छ । बाक्सिला बजारदेखि हरेलोडाँडा हुँदै केपिलासगढीसम्म गुराँसको बिरुवा रोप्ने तयारी गरिएको संयोजक राईले जानकारी दिनुभएको छ ।
बाक्सिला बजारलाई गुराँत पार्क (उद्यम) बनाउने उद्देश्यसहित गराँसको बिरुवा रोप्ने अभियानको उद्घाटन गाउँपालिका प्रमुख समिर राईले गर्नुहुने जनाइएको छ । अभियानका क्रममा करिब एक हजार गुराँसका बिरुवा रोप्ने योजना रहेको संयोजक राईले जानकारी दिनुभएको छ ।