दिक्तेलमा साकेला उँभौलीको मैझारो सिली प्रदर्शन

Halesi Khabar
168 Shares

खोटाङ, १ असार ।सारङ्गी ¥याइँ–¥याइँ रेटौँला !
अर्को साल फेरि भेटौँला !!
भेटौँला लै–लै भेटौँला…

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटीकारे खेलमैदान शनिबार दिनभर ढोल, झ्याम्टाको तालमा यस्तै गीतले गुञ्जयमान बनेको थियो । बालबालिकादेखि बूढापाकासम्म साकेला सिलीमा रमाइरहेका थिए । ढोल–झ्याम्टका तालसँगै नाच्न कस्सिएकाहरूको मुहारमा बेग्लै हर्ष देखिन्थ्यो ।

किरात राई यायोक्खा र किरात सेवा समाज खोटाङले शनिबार संयुक्तरुपमा आयोजना गरेको साकेला सिली प्रदर्शनीमा गैरकिरातले समेत लहर मिलाएर सिली नाचेका थिए । माझ किराँत भनेर चिनिने खोटाङमा शनिबारबाट यो वर्षका लागि साकेला उँभौली चाड औपचारिकरुपमा मैझारो (समापन) गरिएको छ ।

किराती समुदायले वैशाखे पूर्णिमामा उँभौली र मङ्सिरे पूर्णिमामा उँधौली गरी वर्षमा दुई पटक साकेला सिली चाड मनाउँदै आएका छन् । यो बेला जलचर तथा थलचर जीवजन्तु उँभो लाग्ने भएकाले उँभौली भन्ने गरिएको हो ।

उँभौलीमा खेतीपाती राम्रो होस्, प्राकृतिक प्रकोप आइनपरोस्, सुब्बेफाब्बे होस् लगायतका कामना गर्दै प्रकृतिको पूजा गर्ने चलन छ । तीन चुल्हा तथा भूमेथानहरुमा पूजाआजा गरेपछि सामुहिकरुपमा गोलो घेरामा छोरीचेली, बाउमाइती, युवायुवती लगायत सहभागी भएर साकेला गीत गाउँदै सिली नाच्ने गरिन्छ ।

उँधौलीमा अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । यो बेला जलचर तथा थलचर जीवजन्तु उँधौली लाग्ने भएकाले मङ्सिरे पूर्णिमाको दिनदेखि उँधौली मनाउने गरिएको हो ।

साकेला उँभौली–उँधौली चाडलाई आफन्तसँगको भेटघाट गर्ने महत्वपूर्ण अवसरका रुपमा पनि मान्ने गरिएको छ । उँभौलीको अवसरमा मझुवागढी, तुवाचुङ–जायजुम, छोङ्खा लगायत किरात ऐतिहासिक थलो तथा विभिन्न भूमेथानमा एक महिनासम्म प्रकृतिको पूजागरी साकेला सिली नाचिन्छ ।

साकेला सिली किरातीहरूले मात्र नभइ सबै जातजाति तथा धर्मका समुदायले समेत नाच्ने भएकाले जातीय सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने एउटा समृद्ध संस्कृति बनेको किरात राई यायोक्खाका खोटाङका अध्यक्ष युगशन किराँतले बताउनुभयो । “साकेला किराती संस्कृतिअनुसार महत्वपूर्ण चाड हो । यो चाडमा के किराती के गैरकिराती सबै जातजातिको सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने सबैको साझा समृद्ध संस्कृति बनिसकेको छ”, उहाँले भन्नुभयो, “साकेलामा पराइघर गएका छोरीचेली र बाउमाइती भेटेर दुःख÷सुखको कुराकानी गर्ने वातावरणसमेत सिर्जना गर्छ । त्यसैले साकेला उँभौली–उँधौली चाडलाई किरात समुदायमा निक्कै महत्वका साथ मनाउने गरिएको छ ।”

 

किरात ऐतिहासिकस्थल मझुवागढीबाट औपचारिकरुपमा शुरुवात गरिएको साकेला उँभौली महिना दिनपछि बनिबार दिक्तेलको माटीकोरे खेलमैदानमा सिली प्रद्र्धशनी तथा शुभकामना आदानप्रदान गर्दै समापन गरिएको छ । समापनको अवसरमा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्लास्थित जनप्रतिनिधि, कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुख, जातीय सङ्घ संस्थाका प्रतिनिधि लगायत सहभागी भएर समुहिकरुपमा साकेला सिली नाचेका थिए ।

छितको गुन्यु मखमलको चोली, पहेंलो पटुकी, दौरासुरुवाल, ढाका टोपी किराती मौलिक भेषभुषामा ठाँटिएर हर्षोल्लासका साथ मनाइने यो चाडमा किरात समुदायमात्र नभइ गैरकिरात समुदायका युवायुवतीसमेत औपचारिक तथा अनौपचारिक कार्यक्रमहरुमा सहभागी भएर साकेला सिली नाच्ने गर्छन् । चराचुरुङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोल÷झ्याम्टाको तालमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगतको रक्षा गरून् भन्ने कामनासहित साकेला उँभौली तथा उँधौली मनाइन्छ ।

हात÷खुट्टाको चालले पङ्तिबद्ध भएर साकेला सिली नाच्दा प्रस्तुत गर्ने शरीरको हाउभाउ र अभिनयमा खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको र बाली उठाएर थन्क्याएको जस्ता कृषि कार्यमा गरिने प्रक्रियाहरु प्रदर्शन गरिन्छ । साकेला उँभौली तथा उँधौलीको अवसरमा किरात समुदायको घनाबस्ती रहेको हरेक गाउँ तथा टोल ढोल, झ्याम्टा र साकेला गीतले गुञ्जयमान बन्ने गर्छ ।

साकेला उँभौली तथा उँधौली चाड पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, ईलाम, पाँचथर, झापा, मोरङलगायत किरात समुदायको बसोबास रहेको ठाउँ तथा जिल्लाहरुमा साकेला नाच नाच्दै धुमधामकासाथ मनाउने गरिएको छ । यो चाडलाई किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाड मान्ने गरेका छन् ।

यसैबीच, उँभौली चाड समापनको अवसरमा साकेला सिली प्रतियोगितासमेत आयोजना गरिएको थियो । विभिन्न जिल्लाका २३ समूहले प्रतिस्पर्धा गरेको प्रतियोगितामा किरात राई यायोख्खा प्रारम्भिक समिति भोजपुर देउराली पहिलो भएको छ ।

प्रतियोगितामा जनसाँस्कृतिक युवा समूह रतन्छा दोस्रो, पारुहाङ सेवा समाज रतन्छा तेस्रो तथा कर्णकुमारी राई स्मृति प्रतिष्ठान सान्त्वना भएका छन् । विजयी समूहलाई क्रमशः नगद रु २० हजार, रु १५ हजार, रु दश हजार र रु पाँच हजारको साथमा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया