खोटाङ, ४ असार । बराहपोखरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । नेपाल सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको १३ वटा रोगविरुद्धको खोप गाउँपालिकाभित्रका सबै बालबालिकाले पाएको सुनिश्चत भएपछि मङ्गलबार गाउँपालिकालाई औपचारिकरुपमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो ।
गाउँपालिकाभित्रका १६ महिनादेखि ५९ महिना उमेर समूहका ५५७ जना बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क प्राप्त हुने सबै प्रकारका खोप पाएसँगै पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले जानकारी दिनुभयो । जिल्ला खोप समन्वय समिति खोटाङले परीक्षण गर्दासमेत गाउँपालिकाका सबै बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चित भएसँगै गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा जिल्ला खोप समन्वय समिति खोटाङका संयोजक एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले उक्त गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गर्नुभएको हो ।
गाउँपालिका प्रमुख बञ्जराको अध्यक्षता तथा जिल्ला खोप समन्वय समिति खोटाङका संयोजक एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपप्रमुख भुवलराज राई, प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर राई र स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनप्रसाद चौलागाई लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो । यसअघि साकेला गाउँपालिका, हलेसी तुवाचुङ तथा दिक्तेल रुपाकोट मझुवागगढी नगरपालिका, केपिलासगढी, ऐसेलुखर्क, खोटेहाङ र रावाबेँसी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिसकिएको छ ।
नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तरगत खोटाङ जिल्लालाई आगामी असार–१० गतेभित्र पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्ने तयारी गरिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा नियमित खोप लगाउने १२ हजार बालबालिका रहेको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।
वि.सं. २०७४ पुस–१४ गते खोटाङलाई ३१ औँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो । त्यसयता हरेक वर्ष खोटाङमा पूर्ण खोप सुनिश्चितता तथा दीगोपना कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
नेपाल सरकारले जन्मेदेखि दुई वर्षभित्र हरेक बालबालिकाले बिसिजी, दादुरा–रुबेला, पोलियो, जापनिज इन्सेफइटिस लगायतका १३ रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । जन्मेदेखि दुई वर्षभित्रका ९५ प्रतिशत बालबालिका सबै प्रकारका खोप पाएको खण्डमा सरकारले पूर्ण खोप सुनिश्तिता भएको घोषणा गर्ने गरेको छ ।