कोशी प्रदेश सरकारको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८१ पारित

Halesi Khabar
0 Shares

बिराटनगर, ६ असार । कोशी प्रदेश सरकारको मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना–२०८१ पास भएको छ । प्रदेश विपद व्यवस्थापन परिषद्को बिहीबार बसेको बैठकले योजना पास गरेको हो ।

बैठकलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मातहतका निकायहरुलाई विपदका बेला सबै मिलेर काम गर्नु पर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले आपूmले सकेको सहयोग गर्ने र सुरक्षा निकायहरुसँग समन्वय गरेर काम गर्ने बताउनुभयो ।

प्रदेश विपद व्यवस्थापन परिषद् मुख्यमन्त्रीको अध्यक्षतामा रहने कानूनी व्यवस्था छ । बैठकमा विपदका बेला आइपर्ने घटनाहरुलाई मध्यनजर गर्दै गर्नु पर्ने कार्ययोजनाहरुको बारेमा पनि छलफल भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव कमल थापाले बताउनुभयो ।

बैठकमा चालु आर्थिक वर्षको असार ५ गतेसम्म प्रदेशमा विपदमा परेकाहरुलाई गरिएको राहत सहयोगका बारेमा पनि जानकारी दिइएको थियो । प्रदेश सरकारले रु ७२ लाख ५५ हजार राहत वितरण गरिसकेको छ ।

विपदबाट प्रभावित भएका परिवारका निजी आवास पनः निर्माणका लागि रु एक करोड १४ लाख ४५ हजार खर्च भएको छ । प्रदेश सरकारले जाजरकोटका भुकम्प पीडितलाई समेत रु एक करोड सहयोग गरेको छ ।

मुख्यमन्त्री अत्यावस्यक सेवा केन्द्रका लागि तीन ठाउँमा रु छ करोड खर्च गरिसकेको छ । विपद व्यवस्थापनका लागि प्रदेश सरकारले सुरक्षा निकायहरुसँग पनि सहयोग र समन्वय गरेर काम गरिरहेको छ ।

तपाईको प्रतिक्रिया