खोटाङ, ७ असार । जन्तेढुङ्गा गाउँपालिकाको प्रशासनिक पक्की भवन निर्माणको काम सम्पन्न गर्नुपर्ने सम्झौता मितिअगावै सम्पन्न भएको छ । नेपाल सरकार, भौतिक पूर्वाधार मन्त्रालय सिंहदरबारको भ्याटसहित रु दुई करोड ३९ लाख आठ हजार ५५२ लागतमा मोहन एण्ड बेँसीगाउँ निर्माण सेवा कम्पनीले निर्माणको जिम्मा लिएको प्रशासनिक भवन सम्पन्न गर्नुपर्ने सम्झौता मितिभन्दा महिना दिनअगावै सम्पन्न भएको हो ।
गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन गुणस्तरीय र सुविधा सम्पन्न बनेको गाउँपालिका प्रमुख अरुणदेवी राई ‘दिक्षा’ले बताउनुभएको छ । “ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता भएपछि भवन निर्माणका लागि नियमित निगरानी ग¥यौँ । ठेकेदारले सम्पन्न गर्नुपर्ने सम्झौता मितिभन्दा अगाडि नै गुणस्तरीय भवन निर्माण गरेको छ”, उहाँले भन्नुभयो, “गाउँपालिकाको प्रयाप्त भवन तथा कोठाहरु अभावमा अहिलेसम्म एउटा तलामा सबै शाखाको काम गर्नुपर्ने अवस्था छ । नवनिर्मित प्रशासनिक भवन सञ्चालनमा आएपछि सेवा प्रवाहमा समेत सहजता आउँछ ।”
वि.सं. २०७९ भदौ–११ गते गाउँपालिकासँग सम्झौता गरिएको प्रशासनिक भवन वि.सं. २०८१ असार–१६ गतेभित्र सम्पन्न गर्नुपर्ने थियो । तर, ठेकेदार कम्पनीले महिना दिनअगावै सम्पन्न गरेर हस्तान्तरण गर्ने तयारी गरेको पाइएको छ ।
नवनिर्मित भवनको भुइँतलमा एउटा सभाहलसहित छ कोठा, पहिलो तलामा एउटा सभाहलसहित चारवटा कोठा तथा अन्तिम अर्थात दोस्रो तलमा चारवटा कोठा हुने सम्झौतामा उल्लेख छ । भवनको प्रत्येक तलामा महिला र पुरुषका लागि छुट्टाछुट्टै सौचालयसमेत निर्माण गरिएको छ ।
तीनतले पक्की प्रशासनिक भवनको भौतिक पूर्वाधार निर्माणको काम तीन महिना दिनअघि अर्थात वैशाखमा सम्पन्न गरेर रङरोगन तथा झ्याढोका लगाउने काम शुरु गरिएको ठेकेदार कम्पनीका प्रोप्राइटर जोसेफ रिजालले बताउनुभयो । “सम्झौतामा उल्लेख भएबमोजिमको काम सम्पन्न भइसकेको छ । अहिले स्टिमेटभन्दा बाहिरको काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “निर्माणाधीन प्रशासनिक भवनमा अहिले फिनिसिङको काम भइरहेको छ । तोकिएको समयअगावै हस्तान्तरण गरेर भुक्तानी लिने योजनामा छौँ ।”
नवनिर्मित प्रशासनिक भवनको भुइँतलामा गाउँपालिका प्रमुख र उपप्रमुख, पहिलो तलामा प्रमुख प्रशासकीय अधिकृतसहित प्रशासन र दोस्रो तलामा विषयगत शाखाहरु सञ्चालन गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ । छवटा वडा रहेको उक्त गाउँपालिकाको प्रशासनिक काम अघिल्लो कार्यकाल अर्थात पहिलो स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले निर्माण गरेका एकतले भवनमा सञ्चालन भइरहेको छ ।
दश स्थानीय तह रहेको जिल्लामा सबैभन्दा पहिले खोटेहाङ गाउँपालिकाले आफ्नै लगानीमा प्रशासनिक भवन निर्माण गरेर सञ्चालनमा ल्याएको थियो । अहिले जिल्लाका सबैजसो स्थानीय तहमा प्रशासनिक भवनहरु धमाधम निर्माण भइरहेका छन् ।
जिल्लामा निर्माणाधीन प्रशासनिक भवनमध्ये खोटेहाङमा निर्माण गरिएको प्रशासनिक भवन सबैभन्दा कम लगानी (रु ९२ लाख)मा सम्पन्न गरिएको पाइएको छ । निर्माण उपभोक्ता समितिमार्फत निर्माण गरिएको आरसिसि ढलानसहितको दुईतले प्रशासनिक भवनमा गाउँपालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, प्रशासन, विषयगत शाखा लगायतका लागि आठवटा कोठा छन् ।
जिल्लामा निर्माणाधीन स्थानीय तहको प्रशासनिक भवनमध्ये सबैभन्दा ठूलो तथा सुविधासम्पन्न दिप्रुङ चुइचुम्मा गाउँपालिकाको हुने दाबी गरिएको छ । दिप्रुङ चुइचुम्माको लिफ्टिङ सुविधासहितको पाँचतले पक्की प्रशासनिक भवनको काम यसअघि नै सम्पन्न गरिए पनि प्राविधिक कारणले सञ्चालनमा ल्याइएको छैन ।
प्रशासनिक भवन निर्माणको काम भइरहेको ऐसेलुखर्क गाउँपालिकाको प्रशासनिक कामकाज अहिलेसम्म पनि भाडाकै घरमा सञ्चालन भइरहेका छन् । जिल्लाका अन्य स्थानीय तहले भने अस्थायी (ट्रस भवन) निर्माण गरेर कार्यालय सञ्चालन गरिरहेका छन् ।