खोटाङ, ७ असार । मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङको दिक्तेलस्थित दुईवटा खोलामा मोटरेबल पक्की पुल सम्झौता मिभिन्दा अगावै निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सम्मान गरिएको छ । दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको भालुखोला र छेपेखोलामा सम्झौता मितिभन्दा एक महिना अगाडि नै मोटरेबल पक्की पुल निर्माण गर्ने केएम इन्जिनियर्स विल्डर्सका प्रबन्ध निर्देशक मोहन कार्कीलाई सम्मान गरिएको हो ।
जिल्ला समन्वय समितिको सभाहलमा शुक्रबार आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराई लगायतले टोपी र फूलमाला लगाइदिएर सम्मानपत्र प्रदान गर्नुभएको छ । जिल्लामा महत्वका आयोजनाको निर्माणमा चरम ढिलासुस्ती भइरहेका बेला समयभन्दा अगाडि नै पुल निर्माण गरेकोमा जिल्ला समन्वय समिति, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले निर्माण व्यवसायीलाई बोलाएर सम्मान गरेको हो ।
भालुखोला र छेपेखोला पुलका लागि केएम इन्जिनियर्स विल्डर्सले वि.सं. २०८१ असार–२२ गतेसम्ममा सक्नेगरी वि.सं. २०७९ असार–२२ गते पुल निर्माण गर्ने सम्झौता गरेको थियो । यसअघि नै निर्माण सम्पन्न गरेर सञ्चालनमा आएको भालुखोला मोटरेबल पुल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा र छेपेखोला मोटरेबल पुल सोही नगरपालिकाको वडा नं. ६ नेर्पामा पर्छ ।
भ्याट बाहेक रु सात करोड ७४ लाख २५ हजारमा भर्खरै निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइको दुवै मोटरेबल पक्की पुल २०–२० मिटर लम्बाईको छ । बाँकी रहेका खोलाहरुमा निर्माणाधीन पक्की पुल छिटो सक्न गर्न ठेकेदार कम्पनीलाई पटक–पटक निर्देशन गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख राईले बताउनुभएको छ ।
छिमेकी जिल्ला भोजपुर जोडिने ४८ किलोमिटर लामो यो सडकखण्डमा पक्की पुल नहुँदा पटक–पटक यातायात अवरुद्ध हुँदै आएको थियो । तोकिएको समय अगावै मोटरेबल पक्की पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि आवतजावतमा समेत सहज भएको खोटाङ यातायात प्रा.लि. खोटाङका महासचिव राम हिङमाङले बताउनुभएको छ ।
नगरपालिकाले नगरभित्रका सडक निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाहीका लागि सिफारिस गर्नेदेखि मेसिनमा ताला हाल्नेसम्मका प्रतिक्रिया जनाउँदै आएको छ । आफ्नो क्षेत्रभित्रको पुल सम्झौताभन्दा अगाडि नै बनेको भन्दै नगरपालिकाले निर्माण व्यवसायीलाई प्रोत्साहन स्वरुप सम्मान गरेको हो ।
विकास÷निर्माणको कामलाई तोकिएको समयमा सम्पन्न गर्न निर्माण व्यवसायीलाई हौसलास्वरुप सम्मान गरिएको नगर प्रमुख भट्टराईले बताउनुभएको छ । ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई कारबाहीका लागि सिफारिस गरेको नगरपालिकाले समयमा काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई भने सम्मान गरेकोमा निर्माण व्यवसायीसमेत उत्साहित बनेका छन् ।
दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको नौँवटा खोलाहरुमा मोटरेबल पक्की पुल निर्माण हुने जनाइएको छ । निर्मलीडाँडाभन्दा यता (दिक्तेलतर्फ)का सडकखण्डमा पर्ने भुल्केखोला, लप्सेखोला, दाम्देखोला, साप्सुखोला लगायत विभिन्न पाँचवटा खोलामा भने यसअघि नै पक्की पुल सञ्चालनमा आइसकेको छ ।
सोही सडकखण्डको बुवासुङ–लामीडाँडा जोड्ने पङ्खुखोलाको मोटरेबल पुलको काम सिरुवा कन्ट्रक्सन काठमाडौँले नगरेपछि गत सालको जेठ–१२ गते ठेक्का तोडिएको छ । ठेक्का सम्झौता तोडिएको पङ्खुखोला पुलको लागि अर्को ठेक्का लगाउन हालसम्म सम्बन्धित निकायले चासो नदिएको भन्दै जिल्लावासीले असन्तुष्टी पोख्न थालेका छन् ।
वि.सं. २०७२ चैतबाट कालोपत्र थालिएको दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको सेखुवा–चखेवाभञ्ज्याङ (दश किलोमिटर) सडक कालोपत्र भएको छैन । भारत कन्स्ट्रक्सन÷मैनाचुली÷सिद्धिसाई जेभीले जिम्मा लिएको यो सडकखण्ड कालोपत्र नहुँदा स्थानीय बासिन्दा आक्रोशित छन् ।