प्रभावकारी बन्दै बजार अनुगमन : मापदण्डविपरीतका दुई मासु पसल कारबाहीमा

Halesi Khabar
280 Shares

खोटाङ, ८ असार । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा अवैधानिकरूपमा सञ्चालन गरिएका दुई मासु पसल कारबाहीमा परेको छ । दिक्तेलस्थित भानुचोकमा मापदण्डविपरीत सञ्चालन गरिएका सोल्माली मासु पसललाई रु पाँच हजार र सविन मिट पसललाई रु तीन हजार जरिवानासहित कारबाही गरिएको हो ।

दिक्तेलमा सञ्चालित माछा, मासु तथा फलफूल पसलमा गुणस्तरहीन थोकवस्तु बिक्री वितरण भइरहेको उपभोक्ताबाट गुनासो आएपछि शनिबार अनुगमन गरिएको थियो । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, उद्योग वाणिज्य सङ्घ, कर कार्यालय र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको समन्वयमा दिक्तेल बजारको भानुचोकदेखि हाटडाँडासम्म अनुगमन गरिएको हो ।

अनुगनकै क्रममा सोही ठाउँको एक पसलबाट असन्तुलित तराजु (किलो काटा) जफत गरिएको जिल्ला प्रशासन कार्यालय खोटाङका प्रशासकीय अधिकृत एवम् अनुगमन समितिका संयोजक हिराधन राईले जानकारी दिनुभएको छ । “अनुगमनमा सबै पसलहरूलाई मापदण्ड अनुसार हप्ता दिनभित्र पसल सञ्चालन गर्न आग्रह गरिएको छ । हप्ता दिनभित्र सरकारले तोकेको मापदण्डअनुसार सञ्चालन नगरेको पाइएमा पसललाई सिल गरिन्छ”, उहाँले भन्नुभयो, “मापदण्डविपरीत पसल सञ्चालन गर्नुको कारणसहित सञ्चालकहरुलाई प्रशासनमा हाजिर हुन भनिएको छ । उहाँहरु प्रशासन आउनुभएपछि थप अनुसन्धान गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउछौँ ।”

जिल्ला अनुगमन समितिले यसअघिदेखि नै जिल्लाका दशवटै स्थानीय तहमा पुगेर त्यहाँ सञ्चालित पसल तथा बजार नियमित अनुगमन गर्दै आएको छ । कालोबजारी नियन्त्रण, नियमविपरीत सञ्चालित पसललाई नियमन गराउन तथा उपभोक्तालाई सहजरुपमा किनमेल गर्ने वातावरण मिलाउन अनुगमन गर्ने गरिएको हो ।

यसैबीच, जिल्ला अनुगमन टोलीले शुक्रबार दिक्तेल बजारमा सञ्चालित पसल अनुगमन गरेर अस्वस्थकर मासु, तरकारी र फलफूल जफत गरेको थियो । अनुगमन समितिले दिक्तेलस्थित बेसक्यामको सागर एण्ड खुश्बु तरकारी भण्डारबाट अस्वस्थकर गोलभेडा, अङ्गुर, खुर्सानी, मुला, आँप, सिमी, तितेकरेला, प्याज, खर्बुजा, गाँजर, बन्दाकोभी, कागती र क्याप्सीकम गलायत जफत गरेको हो ।

यस्तै, अनुगमन टोलीले रत्नपार्कस्थित दर्ताबिना चलाइएको एक मासु पसलबाट अस्वस्थकर १८ केजी राँगाको मासु जफत गरेको छ । जफत गरिएका अस्वस्थकर खानेकुरालाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित डम्पिङ साइट (फोहर व्यवस्थापन केन्द्र)मा लगेर नष्ट गरिएको छ ।

अनुगमन गर्दा तीनवटा माछा पसलहरु दर्ता बिना चलिरहेको, बिक्री गर्नका लागि राखिएका माछा फोहर स्थानमा राख्ने गरेको, माछा पसलमै कुखुराको मासुसमेत राख्ने गरेको र माछा पसल फोहरै फोहर भेटिएको थियो ।

दिक्तेल बजारमा सञ्चालित माछा पसलहरुमा राखिएका माछामा रासायनिक पदार्थ भने नभेटिएको अनुगमन टोलीमा सहभागी डाक्टर निशान दाहालले बताउनुभएको छ । बिना दर्ता चलाइएको माछा पसललाई भौतिक मापदण्ड पूरा गरेर हप्तादिनभित्र दर्ता गरेर चलाउन निर्देशन दिइएको अनुगमन टोलीले जनाएको छ ।

बिना दर्ता सञ्चालन गरिएका तीनवटा मासु पसललाई सबै कागजपत्रसहित प्रशासनमा हाजिर हुन निर्देशन दिइएको छ । अनुगमन टोलीले शनिबार माछा, मासु, फलफूल र तरकारीको १५ वटा पसल अनुगमन गरेको थियो ।

तपाईको प्रतिक्रिया